banner
banner

ड्य्राकुल्ला राजनीति र रगतको सर्वत

राजन कार्की- 
प्रचण्डले ओलीजीले छाड्नुहुन्छ, म प्रधानमन्त्री बन्छु भनेपछि बढेको राजनीतिक तापक्रम उम्लिन थालेको छ । पार्टी एकीकरण कायम राख्न प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ भनेर वामदेव गौतमले नै भन्नु र हरिबोल गजुरेलजस्ता प्रचण्ड निकट सांसदले आलोपालो रुपमा सरकार चलाउने कुरा पुरानै सहमति हो, अव प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ भन्न थालेका छन् ।
प्रधानमन्त्री ओलीले समेत प्रतिकारमा बोल्न थालेपछि नेकपाभित्रको एकीकरण आलोपालो खानकै लागि रहेछ भन्ने प्रष्टै देखिन थालेको छ । बुद्धिजीवीहरु प्रधानमन्त्री फेरौं नफेरौं भन्ने नेकपाभित्रको आवाज सुनेर स्थिरता र सहनशीलता कहिले आउने होला यी पदखोरहरुलाई, सत्ता, शक्ति र सम्पत्ति बिना कम्युनिष्टहरुको त श्वासै अड्किने रहेछ समेत भन्न थालेका छन् ।
भारतमा मोदीले पुनः निर्वाचन जितेर सरकार गठन गर्नु, सरकारका विदेश मन्त्रीका रुपमा २०७२ साल असोज १ गते केही दिनलाई संविधान जारी नगर्न मोदी सरकारको दूतका रुपमा आएका र उनको सुझाव नमानेर फास्ट ट्य्राकबाट संविधान जारी गरेर ओली प्रधानमन्त्री बनेपछि भारतले नेपालमा नाकावन्दी लगाउने माष्टर माइण्ड मानिएका डा. सुब्रमण्यम जयशंकरलाई विदेश मन्त्री बनाएपछि नेपालमा सत्ता परिवर्तनमात्र होइन, एकीकृत नेकपा नै चर्किएको र चिरिन सक्ने परिदृश्यहरु विकसित हुनथालेका छन् ।
लोकराज बरालजस्ता भारत निकट र भेषबहादुर थापाजस्ता भारतकै राजदूत भइसकेका व्यक्तिहरु एस जयशंकर मोदीका विश्वासपात्र हुन्, उनले मोदी नीतिलाई कार्यान्वयन गर्ने हो भनेका छन् । मोदी नीति के हो ? भारत हितबाहेक मोदी नीति नेपाल हित होइन भन्ने नेपालले राम्ररी बुझ्नुपर्छ । यही नीतिको धमाका हो प्रचण्डले अर्का अध्यक्ष दिल्लीमा भएका बेलामा आफू प्रधानमन्त्री हुने झ्याली पिटेको अन्तरध्वनी र फर्केपछि ओलीले दिएको प्रतिध्वनी ।
निश्चय नै भारतको विदेश नीति कार्यान्वयनका लागि एस जयशंकरलाई गैरसांसदको रुपमा विदेशमन्त्री बनाइनु भनेको अमेरिका र चीनको द्वन्द्वबाट भारतलाई लाभ दिलाउन, पाकिस्तानलाई दबाबमा राख्न, रुस, जापान, कोरियासँगको सम्बन्ध सञ्चालन र प्रवद्र्धनमा केन्द्रित हुनेछ तर नेपालमा बढ्दो पश्चिमा र चीनको पदचापलाई भारत सहन्छ भन्नु मुर्खता हुनेछ । एस जयशंकर नेपाली नेतालाई राम्ररी बुझेका र प्रधानमन्त्री मोदीले नेपालबारे लिने निर्णयमा उनको हात देखिने टिप्पणी धेरै कुटनीतिज्ञहरुको रहेको छ । यसको अर्थ नेपाल भारत सम्बन्ध समस्यामा नजाला, नेकपाका लागि कठिन दिनको सुरुआत चाहिं हुनथालेको अर्थमा बुझ्नुपर्ने हुन्छ ।
अराजकता र अप्रजातान्त्रिक शैलीमा निरंकूशता काखी च्यापेर अघि बढेको ओली सरकार र नेकपाभित्र एकाएक राजनीतिक चट्य्राङ् सुरु भएको छ । मूलधारको माओवादी टुक्रा टुक्रा भएर मूलधारको माओवादी सत्तामा गए पनि चोइटा माओवादी बम र रक्तपात, विद्रोह र कम्युनिष्ट एकता गर्न अघि सरेका छन् । रगतको सर्वत पिएर सत्तामा जाने र सामन्त बन्ने कम्युनिष्ट चरित्र नगरबधुजस्तो रुपमा देखिन र बुझिन थालेका छन् । नेपालमा जे परिवर्तन भयो र जसजसले सत्ता चलाए, त्यसको जग १२ बुँदे दिल्ली सम्झौता नै हो र यो सम्झौता भारतले गराइदिएकाले पनि नेपाली राजनीति दिल्लीलाई अटेर गरेर चल्न नसक्ने निश्चित छ । यसकारण पनि नेपालको लोकतन्त्र दिल्लीको गोठालोगिरीमा रुपान्तरण हुनका लागि अर्को सत्ता परिवर्तनको आहट आउन थालिसक्यो ।
स्वाधीनताको हैसियत बढेको थियो भने संविधान जारी गर्दा सत्तामा जाने हतारोका साथ देखिएको अटेरीपन सार्वभौमशक्ति निर्माण भएको मान्न सकिन्थ्यो । अहिले आएर जी हजुरीमा परिणत भएको कम्युनिष्ट शासनले अन्ततः भारतका सामु निउरीमुन्टी न कै परिणाममा पु¥याउने वातावरण बिकसित हुनथालेको छ । यसले हाम्रा जनप्रतिनिधिहरु कति स्वाधीन भन्ने प्रश्नसमेत जन्माएको छ ।
र, राजदरवारको शक्ति खासेर दिल्ली दरवारमा बुझाउने परिवर्तन गरिएछ भन्ने थक्क थक्क सत्तासीन र प्रतिपक्षी पार्टीभित्र प्रशस्त्रै भेटिन्छ । माओवादी र एमालेको एकीकरणबारे एमालेका बुद्धिजीवीको यो भनाइले परिस्थिति बुझ्न काफी छ– ‘आखिर राजनीति भनेको बाँडीचुँडी खाने सम्झौता न रहेछ ।’ ०६३ सालको परिवर्तनपछिको यथार्थ यही हो र स्थिरता आयो भनेर जुन खुशीयाली थियो, सत्ताधारीकै जनप्रतिनिधिको यो अनुभूतिले राजनीति के हो, मुखुण्डो उतारिदिएको छ ।
स्मरणरहोस्, जनबिरोधी, राष्ट्रिय ठग फिलिपिन्सका मार्कोसलाई सत्याच्यूत गर्ने जनादेशमा चल्ने, जनादेशलाई राजमार्ग मानेर अघि बढ्ने मारिया कोराजिन अक्विनो फिलिपिन्सको ११औं राष्ट्रपति बनिन्, फिलिपिन्सवासी उनलाई लोकतन्त्रकी आमा भनेर आदर गर्छन् । १९८६ की वर्ष महिला अक्विनोको मृत्यु हुँदा, सिङ्गो फिलिपिन्स स्तव्ध भयो, आँसु बगायो । जनयुद्ध, जनआन्दोलनपछि आएको बसन्त परिवर्तन, जनता र देशको भागमा उही छटपटी, उही हुटहुटी । एकजना पनि जनसम्मानित राजनेता जन्मिन सकेनन्, जो सत्तामा पुगे, ती सबै राष्ट्रिय ठग मार्कोस् भन्दा भिन्न जन्मिएनन् ।
इतिहास हेर्ने हो भने चीनका देङ्, थाइलैण्डका राजा भूमिबल सम्म विश्व लोकतन्त्रका १५ विश्वहस्तीमा गनिन्छन् । जननि जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्ने मान्यता राखेर गोर्खालाई नेपाल बनाउने बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक मास्ने राजनीतिक पातकीहरु आफूलाई बज्रधारी, चक्रधारी भगवान मान्छन् तर लोकतन्त्रको पवित्र मान्यतामा तिनको नाम कतै देखिएन, लेखिएन । यी यस्ता राजनीतिक अपराधी बनेका छन्, जसले आफ्नो सार्वभौमिक अधिकार पराइलाई बुझाएर सत्तालाई उखु बनाएर चुस्नमा महारथ हासिल गरिरहेका छन् । कालो इतिहास यिनलाई किन यति प्यारो भएको होला ? नेतामा एकदिन मर्नुपर्छ भन्ने हेक्का नहुनु र वीरको मृत्यु मर्न इच्छाशक्ति नजाग्नु नेपालकै दुर्भाग्य बन्न पुगेको छ ।
अव त स्थिरता आउला भनेको त माओवादी, एमाले र कांग्रेस भनेका आज पनि रक्तपातका जोखिम कै रुपमा छन् । यिनले जे गरिरहेका छन्, त्यो भनेको यिनले कुनै पनि बेला रक्तपातपूर्ण सुनामीलाई जन्माउन सक्छन् । यिनले आफूमा रहेको शान्ति र समृद्धि जन्माउने ताकत र उर्बर बिज भारतको आशीर्वादमा मात्र छ भन्ने भ्रम पालिरहेका छन् । यही कारण स्वदेशलाई त्रासदीको भूमरीमा झोकेर पवित्र भूमिमा विदेशीलाई हैकम र हाकिम बनाइरहेका छन् । योभन्दा डरलाग्दो राजनीतिक कालो छायाँ के हुनसक्छ ?
भनिन्छ, सत्ताको तिर्खा र सूर्यमुखी उस्तै हो । कुनै दिन सर्वसत्ताबादीहरुले बोस्निया, हर्जगोभिना र भियतनाममा रगतको सर्वत पिएका थिए । नेपाललाई मत्र्यलोकमा जनताको स्वर्ग बनाउँछु भन्नेहरुले १७ हजार मान्छे मारे, सत्तामा उक्लनासाथ झण्डै १५ हजार कार्यकर्तालाई सहिद घोषणा गरे तर द्वन्द्व र मुद्धाको छिनोफानो गर्न सकेनन् । देशलाई बैकुण्ठ बनाउँछौं भन्नेहरुले उन्मत्त भैरवी बिनासलीला गरेर देशलाई चिहान बनाउने भए ।
राष्ट्रको सिन्दूर भूमिपुत्रहरुको शिरमा परेमात्र जन र जगको सुरक्षा हुन्छ ।  जहिले पनि बदमासकै हातमा सत्ता ? जहिले पनि जनाकांक्षाकै दुरुपयोग ? नेपाल विदेशीको घातबाट बच्यो भने घृणाको सागरमा लोकले नुहाइरहनु पर्ने र घृणापात्रहरुलाई फूलको माला पहि¥याइरहनु पर्ने बाध्यताबाट लोकले अझै १०४ वर्ष मुक्ति पाउलाजस्तो छैन । 
अलिकति उत्तर र पश्चिमाको र अलिबढी दिल्लीको अखण्ड कीर्तन र आरती गर्नु नै नेपालको गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र हो त ?
स्वतन्त्र बिश्लेषकहरु भन्छन्– वर्णशंकरहरु सिखण्डी बन्न बेर लगाउँदैनन् । यिनलाई स्वत्वको चीरहरण के हो ? स्वत्वको गौरव कस्तो हुन्छ ? केही थाहा हुन्न । आत्मसम्मान बस्ने स्थानमा ग्रहण लागेपछि यस्तै हुन्छ । हाम्रा नेताहरु यतिखेर सिखण्डीको भूमिकामा गौरव गरिरहेका छन् । कसैले उफार्दा उफ्रिन्छ, कसैले थचार्दा थचारिन्छ र ऐयासम्म भन्दैन । अँगार खानेले मनै कालो, हाम्रा नेताहरुको पनै कालो । यही कालोलाई यिनीहरु संघीय लोकतान्त्रिक गणतन्त्र भनेर झ्याली पिटिरहेका छन् । धर्मछाडा राजनीति भनेको यही हो ।
राजाले २०६३ साल वैशाख ११ गते मरेको संसद पुनस्थापना गरिदिए । २०६५ साल जेठ १५ गते गणतन्त्र कार्यान्वयन भयो । २०७२ साल असोज ३ गते संविधान जारी भयो र निर्वाचित तीन तहको सरकार गठन भइसकेको छ । यो गणतन्त्रमा गण कहाँ छ ? गणतन्त्र समुदायतन्त्र हो भने समुदाय किन देखिन्न ?
राजनीतिक परिवर्तन लामखुट्टेतन्त्र हो भने लामखुट्टेले रगत चुस्नमात्र जान्दछ । लामखुट्टेले रगतसँग दोस्ती गर्दैन, त्याग गर्दैन । हाम्रा नेताहरु लामखुट्टेभन्दा कति फरक छन् र ?
एकपटक डा. तारानाथ शर्माले भन्नुभएको थियो– मलाई ताइवान विश्वविद्यालयले नेपालको चीन सम्बन्धका बिषयमा बोल्न र सोधपत्र प्रस्तुत गर्न निम्त्याएको थियो । ताइवान एयरपोर्टमा उत्रिएपछि होटलमा लगियो । बाटाघाटा राम्रा, अमेरिकाभन्दा सफा, मान्छेको बोलीचाली सभ्य, ताइवान सांस्कृतिक र आधुनिक दुबै हिसावले सम्पन्न लाग्यो । भोलीपल्ट मलाई राखिएको होटलको पल्लो किनारमा रहेको विश्वविद्यालय हिडेर जाने निर्णय गरें । सडक पार गरेर विश्वविद्यलायको ढोकामा पुगें । मैले ढोकाअगाडि दाहिने  खुट्टा के टेकेको थिएँ, ट्वाङ्ग घण्टी बज्यो । त्यो घण्टीसँगै मीठो धून पनि बज्यो, नेपालीले ओम भनेजस्तो । म झसङ्ग भएर यताउता हेर्न थालें । जो हिडेर यताउता गरिरहेका थिए, ठिङ्ग उभिए । जो साइकलमा थिए, उनीहरु पनि उत्रिएर रोकिए । चलिरहेका मोटर टक्क रोकिए । मलाई लाग्यो ताइवान टक्क रोकियो । लौ कुनै बिपत्ति पो आयो कि जस्तो लाग्यो । मिनेटभरपछि सबै चलायमान भए । आ–आफ्ना बाटो लागे सबै । एकजना विश्वविद्यालयको ढोका पार गर्दै गरेको व्यक्तिलाई मैले सोधें– घण्टी बज्नासाथ सबैजना किन रोकिए, के हो यो ? उनले जवाफ दिए– बिहानको ८ बजे यहाँ राष्ट्रिय धून बज्छ, राष्ट्रिय धूनको सम्मान गर्न सबैले शीर झुकाएर आदर गर्छन् । तिम्रो देशमा राष्ट्रियगान छैन ? राष्ट्रियगान बज्दैन ? म चकित परें । मेरो देश नेपाल । अदूरदर्शी र अज्ञानी नेताहरुले नेपालको राष्ट्रिय धर्म परिवर्तन गरे, राष्ट्रियगान परिवर्तन गरे, झण्डै नेपालको झण्डा पनि परिवर्तन गरेका । राष्ट्रियगानले राजतन्त्रको झल्को दियो रे । भारतको राष्ट्रियगानमा चक्र छ कि छैन ? त्यो चक्र कसको हो ? अङ्ग्रेज भारतमा आउँदा उसलाई खुशी पार्न रविन्द्रनाथ टेगोरले लेखेको कवितालाई बंगालका १६ जना सुन्दरीहरुले गाएको कविता हो, १९४७ मा स्वतन्त्र भएपछिको वर्तमान भारतको राष्ट्रियगान । विदेशीलाई खुशी पार्न गाएको कविता भारतको राष्ट्रियगान हुनसक्छ, हामीले त आफ्नै राजाको प्रशस्ती गायौंरे । के बिग्य्रो ?
आजका अग्रगामीहरुले देखाउन्– अहिलेको राष्ट्रिय गानमा राष्ट्र कहाँ छ, कति सम्मानित छ ?
जनताको रगतको सर्बत पिउने बानी परेकालाई हिमालको पानीले कहाँ तीर्खा मेट्छ र ?
नेपालबाट बि.सं १९८१ मा दासप्रथा उन्मूलन भए पनि आफू दास बन्न र जनमत लिएर सत्तामा पुगेर जनतालाई नै दास बनाउने लत बसेको छ । लोकतन्त्र यही लोभतन्त्र हो । इटलीमा मुसोलिनीले प्रजातान्त्रिक खोर निर्माण गरेर अधिनायकवादको जग हालेका थिए, हिटलरले नाजीबाद बचाउन लाखौंको हत्या गरे, तिनको इतिहास अँध्यारो इतिहास हो, हाम्रा नेताहरु देश मारेर शासक बनेका छन् । यिनको इतिहास पनि कालो छ । कालो इतिहास बोकेर मरेपछि कालाम्मे हुन्छु भन्ने बोध नहुनु अचम्म छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper