banner
banner

कम्युनिष्ट कुर्लाइको के काम ?

शाश्वत शर्मा -
हामी नयाँ नेपाल बनाउँछौं, सर्वहाराको सरकार हो भनेर जे जति कुर्लियो सरकार, नेकपा, यो कुर्लाइको के काम ? जब कि नेकपाको नेत्र सर्वहारातिर छँदैछैन ।
संविधान जारी गरेपछि के के न हुन्छ भन्नेहरु यिनै हुन् । चुनाव भएपछि स्थिर सरकार बन्छ भन्ने पनि यिनै हुन् । स्थिर सरकार बन्यो, अव नेपाल स्वर्ग बन्छ भन्नेहरु पनि यिनै हुन् । स्वर्ग त बन्यो, अपराधीका लागि स्वर्ग, माफिया तस्करका लागि स्वर्ग । भ्रष्टाचारी र अनियमितता गर्नेका लागि नेपाल स्वर्गजस्तै बन्यो ।
भारतले नमानेको संविधानलाई असफल पार्न कम्युनिष्टहरु ज्यान फालेर लागेका छन् र भारतले विदेश सचिवलाई बिदेशमन्त्री बनाएर नेपाललाई कूटनीतिक जोल्ट दिइसकेको छ । हुनसक्छ, चीन र अमेरिकालगायतका पश्चिमा विज्ञ एस जयशंकरको उपयोगिता भारतका प्रधानमन्त्री मोदीले देखेका हुनसक्छन् । चुरो कुरो यतिमात्र होइन, एस जयशंकर नेपालमा बढ्दो चिनियाँ र अमेरिकी प्रभाव न्यूनिकरण गरेर नेपालको सम्पूर्ण राज्यशक्ति नियन्त्रण गर्नसमेत ल्याइएका हुन् । चेतना रहोस् ।
नेपाल रणनीतिक भूमि हो । आजको विश्वको शक्ति सन्तुलनको केन्द्रमा नेपाल छ । त्यसै इण्डो प्यासिफिकको केन्द्रमा अमेरिकाले नेपाललाई राखेको छैन । त्यसै विदेशमन्त्री नियुक्त भएपछि एस जयशंकरले सार्कमा समस्या छ भनेका होइनन् ।
संविधान असफल हुँदैछ । नेपाल स्थिरता होइन अझ अराजक बनाइदैछ र संवैधानिक जटिलता सरकारले सिर्जना गर्ने र आमनागरिकलाई आन्दोलनतिर उन्मुख बनाउने निर्णयहरु पनि भइरहेका छन् । यसैका लागि स्वतन्त्र प्रेसलाई समेत नियन्त्रण गर्न सरकार उद्दत बनेको छ । अधिनायक भूतले नेकपालाई उत्ताउलो बनाएको छ ।
हाम्रा ठूला दलहरु बाठा छन् । काले काले मिलेर खाउँ भाले गर्न खप्पीस । साह्रै अप्ठेरो नै प¥यो भने यिनले जस्तोसुकै सेटिङ गर्न सक्छन् । ताक परे संविधान, नत्र सडक गान गर्न हाम्रा पार्टीहरुलाई कत्ति संकोच लाग्दैन । आफूले आफैलाई पदक दिलाउने र वाह वाही गर्ने नेताहरुमा नैतिकता नै कति बाँकी छ र ?
तराईका पार्टीलाई संविधान संशोधन र बंशजको नागरिकता चाहिएको छ, राप्रपालाई हिन्दुराष्ट्र । नेकपालाई ५० वर्षको शासन र नेकपाभित्र प्रचण्डलाई जसरी पनि सत्तामा जानु परेको छ । नेपाली कांग्रेस सत्ताधारी हो कि विपक्षी, छायाँ सरकार नेकपाको मायाँ सरकारजस्तो देखिन्छ । आम बुद्धिजीवी, नागरिक समाज देशका पक्षमा होइन, पार्टी पार्टीका पक्ष विपक्षमा बिभक्त बनेका छन् । आमनागरिक निरीह छन् ।
रह्यो संविधान नमान्ने शक्ति । कोही जनयुद्धको तैयारी गर्दैछन् र बम पड्काउन थालेका छन् । यतिमात्र होइन, अवको जनयुद्ध नेता ठेगान लगाउने हुनेछ भन्न थालेका छन् । राजतन्त्रवादी पनि छन् र तिनीहरु एकत्रित छैनन् । अर्थात राष्ट्र निर्माण गर्ने सुरुआत भएकै छैन । युवा निकासी गरेर चल्ने देशमा केको विकास ? नेपाली राजनीतिमा हुनु नपर्ने सप्पै सम्भव छ । सबैभन्दा ठूलो कुरा नैतिकता र लोकलज्जा हो । नेताहरुले त्यो गुण गुमाएपछि नङ्गा नाचे हजार दाउ चलिरहेको छ ।।
स्पष्ट छ, संघीयता, धर्मनिरपेक्ष्ँता र गणतन्त्र यसका पक्षमा उभिनेहरुकै वीचमा मुद्दा बन्नपुगेको छ । यी मुद्दाहरु हेर्दा लाग्छ, संविधानअनुसार चल्नु र संविधान कार्यान्वयनको वातावरण बनाउने विषय सत्तारुढ वा मधेसी मोर्चाका हातमा छैन । साँचो अन्यत्र कतै छ । यी त पुतला हुन्, जो अरुले दम दिदा चलमल गर्छ, दम सकियो, फ्यास्स भएर टोलाउने गर्छ । पुतला खेलौना हो, खेलौनाजस्तो सरकार छ ।
मुलुक द्वन्द्वमा फस्यो । मुलुक आन्दोलित भयो । यो आन्दालनले मुलुकलाई कुन गति र परिणतिमा पु¥याउने हो, यसै भन्न नसकिने भयो । कम्युनिष्ट भारतबाट पत्ता साफ भएपछि नेपालमा जाज्वल्यमानबाट अँध्यारोतिर लम्किन थालेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper