banner
banner

जनता वास्तविक सार्वभौम हुनुपर्छ

स्वयम्भुनाथ कार्की -
देश बचाउने जिम्मेवारी केवल जनताको हो । यो कुरामा आफुले पनि जनताले चाहेको भुमिका निर्वाह गर्ने कुरा राजाले दमकबाट बोलेका छन । उनि भन्छन, ‘ हामी कसैको छलछाम र भ्रमजालमा पर्न‘ हुँदैन । कोही कसैको तुच्छ स्वार्थपूर्तिका निमित्त हामीले हाम्रो अस्तित्वलाई मास्नु हुँदैन’ । यो केवल राजाले मात्र भन्न सक्छन । प्रचण्डदेखि कमल थापासम्मका नेताहरु त केवल आफुलाई देवत्वकरण गराउने अभियानमा व्यस्त छन ।
राजालाई युवा विदेशिएको मा चिन्ता र चासो छ । नेताहरु नयाँनयाँ मुलुकमा मजदुरी गर्न पठाउन सगर्व श्रम सम्झौता गर्न तल्लिन छन । राजा युवालाई राष्ट्रको मुलशक्ति देख्छन, नेता भने विदेशी मुद्रा कमाइ दिएर आङ्खनो वर्गलाई सुखसुविधाको साधन जुटाईदिने यन्त्र देख्छन । राजाले निम्नकुरा हावाको तालमा भनेका हैनन , विगतका वर्षहरुमा मुलुकभर घुमेर जनतालाई प्रत्यक्ष भेटेर संगालेको अनुभवले भनेका हुन ।
‘युवाशक्ति नै राष्ट्रको त्यो मूल शक्ति हो जसबाट राष्ट्रको समृद्धिका लागि विशिष्ट योगदान हुनसक्छ । तर हाम्रो त्यो होनहार युवा जनशक्ति आज बिदेसिन बाध्य छ । रोजगारी, इलम र कामधन्दाका लागि विश्वका विभिन्न देशमा पलायन भएको छ । राष्ट्र निर्माणका खम्बा युवा समुदायलाई विदेश जान रोक्ने र गएकाहरूलाई फर्काउने अनि उनीहरूलाई स्वदेशमै रोजगारीका व्यापक अवसरहरू सिर्जना गर्नेतर्फ राज्यको गहन ध्यान जानु आवश्यक छ ’ । पक्कै पनि यो काम पुरा गर्नसक्ने सोच र कार्यक्रम छ । किनभने यो कुनै असंभव काम हैन । नेपाल आज काम गर्ने हातहरुको अभावमा रार्य रहेको छ ।
जनतामा व्याप्त निराशा र कुन्ठाले बरु सैनिक शासन भए हुन्थ्यो भनेर गरेको क्रन्दन राजा र नेता सबैले सुनेका छन । ‘राष्ट्रको विद्यमान असफल अवस्था अन्त्य गर्न अन्ततः नेपाली जनता नै जागरुक हुनुपर्छ– यो मेरो अन्तस्करणको धारणा हो । परिवर्तनशील समय–प्रवाह निरन्तर प्रतिफलमुखी हुनुपर्छ, समयको छालमा बग्ने तर ठीक ढंगले वारपार गर्न नसक्दा दुर्घटना निम्तिन्छ ’ भनेर प्रजातन्त्र व लेोकतन्त्र भन्दा अर्को विकल्प खोजिनु हुन्न भन्ने मान्यता स्पष्ट गर्छन । तर प्रचण्ड परोपकारी तनाशाहको आवश्यकता देख्छन । अनि त्यो तानाशाह दल भित्रैबाट जन्मिनुपर्ने दावी गर्दन ।
जनता सार्वभौम पहिले पनि थियो आज पनि छ र भोलि पनि रहने छ । यसकुरामा कुनै शंका छैन । हिजोको कुरा दलहरु कै व्याख्यामा छोडिदिने हो भनेपनि आज के अवस्था छ ? जनताले बनाएको भनिएको संविधानका मालिक बनेर नेताहरु विभिन्न नेपाली समुदायलाई तिमीहरुलाई यति दियौ अब के चाहियो भनेर हकार्छन । राज्य सञ्चालनको त कुरै छैन जनताको दैनिक जीवनमा पनि स्वअधिकार छैन । केही नेताहरुको मुख मिल्नु राष्ट्रिय सहमति हुने लाजमर्दो व्याख्या आउँछ ।
यसले जनाउछ जनताले छायाँ सार्वभौमिकता मात्र उपभोग गर्न पाएका छन । जनताले अख्तियारी दिन चाहे पनि वा नचाहेपनि केही समुहलाई जवरजस्ती अख्तियारी सुम्पनै पर्ने विवशता छ । सार्वभौम कहिले विवश हुँदैन । यसको विपरित राजा हरेक काममा जनताको प्रत्यक्ष सहभागिताको आव्हान गरिरहेका छन । राजाले,‘ कुनै दल, व्यक्ति वा चरित्रको सूक्ष्म आकार होइन, मसँग समग्र राष्ट्रको सिंगो विचार छ । म सबै नेपालीलाई समभावका साथ माथि उठाउन मियो अवश्य बन्न सक्छु तर कोही कुनै दल वा व्यक्तिविशेषलाई माथि उठाउने कडी म बन्न सक्दिन’ भनेका छन ।
यसै गरेर जनताले पनि कसैको व्यक्तिगत वा दलगत वर्चश्वको निमित्त हतियार बन्नु हुँदैन । जनताले पनि समग्र राष्ट्र नै सोच्नु पर्दछ । कहिल्यै भुल्न नहुने कुरा के हो भने जनता छाँया सार्वभौम होईनन वास्तविक सार्वभौम हुन । जनताको यो सार्वैभौमिकता भन्दा माथि कुनै कुराको अस्तित्व संभव छैन । नेपालको इतिहास साँछी छ , नेपालीले जहिले पनि राजा र जनता संयुक्त भएर काम गरेका छन सफल भएका छन । जव जव एक्लाएक्लै काम गर्न थाले हमेशा दुख पाएका छन । यस पटक त राष्ट्रको अस्तित्व नै धरापमा परेको छ । यो धरापबाट निकाल्ने काम नेपाली जनताको हो , कुनै नेता दलले, विदेशी शक्ति केन्द्रहरुको हैन । जनता जव जागरुक हुन्छ उन्नति प्रगति त्यहाँबाट शुरु हुन्छ । उज्यालो भविष्य दौडदै आउछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper