banner
banner

अराजकता बोकेको स्थिर सरकार

राजन कार्की -
महात्मा गान्धी कुष्ठरोगीको सेवा गर्थे, परचुरे शास्त्रीलाई कुष्ठरोग लागेको थियो, गान्धी आफै उनको कुष्ठरोगको घाउ धोइदिन्थे । एकदिन धुरन्धर पण्डित सुन्दरलालले गान्धीलाई भने– बापु, मलाई कुष्ठरोगको ओखती थाहा छ । कालो सर्पलाई हाँडीमा हालेर खुब तताउने । जब सर्पको खरानीमात्र बाँकी रहन्छ, त्यो खरानी महमा फिटेर मलम बनाएर लगाए कुष्ठरोग निको हुन्छ 
गान्धी मुसुक्क हाँसेर भने– त्यसो भए मलाई नै हाँडीमा हालेर खरानी बनाउ । म सर्पलाई त्यसरी मार्न सक्दिन ।
अर्को प्रसङ्ग छ चीनको । चीनका सम्राट, महान दार्शनिक कन्फ्युसियस । एकदिन सम्राटले कन्फ्युसियसलाई महान मान्छे देखाउ भन्ने हुकुम दिए । कन्फ्युसियस महान मान्छे को हो भनेर खोज्न हिँडे । उनले मान्छेमा महान को हो ? पत्ता लगाउन सकेनन् र दरवार फर्कदै थिए । बाटोमा एउटा बुढो मान्छे कुवा खन्दै थियो । कन्फ्युसियसले सम्राटलाई त्यही बुढो मान्छेलाई देखाइदिए र भने– सम्राट त्यो बुढो मान्छे, दुब्लो र पालतो पनि छ । परोपकारका लागि कुवा खनिरहेको छ, ऊ त्यसैमा आनन्दित छ । त्योभन्दा महान मान्छे अरु को हुनसक्छ ?
नेपालका सन्दर्भमा देश रोगी छ, कुष्ठरोगीभन्दा पनि असाध्य रोगी । युवा छैनन्, गाउँ, बस्ती युवाविहीन हुनथालेका छन् । बुढा र बालबालिकाको देश बन्दैछ नेपाल । शासन सत्ताको बागडोर नेकपाको हातमा छ, तर असाध्यै रोगले ग्रस्त मुलुकको घाउ धोइपखाली गर्ने, सन्चो पार्ने कुनै प्रयास सरकारले गरिरहेको छैन । जसरी फोहर पानीमा भैंसी आहाल बस्छ, सरकार त्यसैगरी अमानवीयता, भ्रष्ट, अनैतिकता, निष्ठाहीनता र आफन्तवादमा रमाइरहेको छ, उग्राइरहेको छ ।
सरकारमा कुनै गान्धी छैन । राजनीतिमा कुनै त्यागी छैनन् ।
नेपालमा राजा फालेर सम्राटको उदय भएको छ । कुनै कन्फ्युसियस छैन, जसले सम्राटलाई महान व्यक्ति को हो भनेर देखाइदेओस् । सम्झाइदेओस् । ताकपरे संविधान, नत्र सडक गान गर्ने र लाभका लागि सबै सत्तापक्ष हुनसक्ने ल्याकत भएका छन्, महान बन्ने ताकत कसैमा देखिन्न । सबैलाई महान भनाउने भ्रमले छोपेको छ । जो अँध्यारोै बस्न रुचाउँछ, ऊ उज्यालोको दुश्मन हो । यिनले के बुझेका छैनन् भने भाले नबासे पनि उज्यालो चाहिं हुन्छ । समयले कहिल्यै सँर्य अस्त नहुने बेलायतलाई त परिवर्तन गरिदियो, यस्ता अन्ध शासकहरुलाई कसरी पर्खन्छ र ? समय अघि बढ्यो र राणा शासन गयो, समयले राजतन्त्रको अन्त्य गरिदियो, समयले यिनलाई पनि कुल्चेर अघि बढ्छ ।
कसलाई थाहा छ– समयले कसलाई उचाल्छ, कसलाई पछार्छ । समय कुनै पार्टीको बन्दी छैन । समयको बन्दी सबै छन् । जे ल्याउँछ समयले ल्याउँछ ।
फास्ट ट्य्राकबाट २०७२ साल असोज ३ गते संविधान जारी गरियो । संविधानअनुसार चुनाव भयो, संघीयता आयो । तर, संविधानको यहाँसम्मको कार्यान्वयनले सुशासन आएन । संघीयता जनताले तिरेको करबाट पार्टी कार्यकर्ता पालित पोषित हुने पञ्चदेवलको हण्डी अथवा सित्तैमा खान पाइने संस्कृत पाठशालाको खान्की पो बन्नपुग्यो ।
गर्नुपर्ने जनसेवा हो । राजनीति र प्रशासनको पहिलो कर्तव्य जनसेवा गर्नु हो । जनसेवाका नाममा निजीसेवा शासन प्रशासनमा लागेको महारोग हो । जसरी बोटविरुवा, रुखमा ऐंजेरु लाग्यो भने बोटविरुवा नै सखाप पारिदिन्छ, त्यसैगरी अनैतिकताको ऐंजेरुले राजनीतिमात्र होइन, प्रशासनमा समेत धोत्रो पस्दै गएको छ । कुकुरलाई घीउ नपचेको भनेको यही हो । राजनीतिलाई व्यवसाय र प्रशासनलाई शोषणको माध्यम बनाइएको छ । तेल पनि दे, घसी पनि दे भन्ने उखान झैं तलव पनि खाने, कमिशन र घूस पनि खाने । देश टाट पल्टाउने भ्रष्टाचारको भाइरस सफा गर्न सकिएन भने यही रोगले देश निल्छ ।
भ्रष्टाचारकै कारण यतिबेला जन्मको आधारमा बंशजको नागरिकता वितरण भइरहेको छ । तराईका जिल्लाहरुमा नागरिकता लिन भारतबाट आएको ओइरो देखेर राजनीति र प्रशासन खुशी छन् । किन ? संसारमै नभएको नागरिकता वितरणको यो लँटको धन फुपुको श्राद्ध शैलीले आखिर जनसंख्या अतिक्रमणबाट नेपालीलाई अल्पमतमा पार्ने, तराईलाई बिखण्डन गर्ने जग बसाल्ने काम भइरहेको छ । यो राष्ट्रघातमा समेत अदालतको समर्थन ? सर्वोच्च अदालत के भन्नु, सर्वदलीय अदालत । राजनीतिले बाटो बिराउँदा, सरकारले गलत गर्दा, त्यसलाई रोक्ने र नेपालीको चाहनाको संरक्षण गर्ने दायित्व बोकेको अदालतमा समेत राजनीतिक भागबण्डे नियुक्तीले न्याय समेत आस्थाका आधारमा हुने खतरा बढेर गएको छ । भर्खरै आचारसंहिता जारी गरेको सर्वोच्चभित्रै कति यसको पालना हुन्छ, त्यो प्रतिक्षाकै विषय छ । मन्दिरजस्तो स्वच्छ र स्वतन्त्र होस्, आमचाहना यही छ ।
चुनावबाट ५ वर्षका लागि आएको स्थिर सरकार । यो सरकारले जति पनि नकामहरु गरेका छन्, जति पनि खान नहुने बर्जित फल खाएका छन्, यो हुने विरुवाको चिल्लोपात कदापि होइन । सुडान काण्ड, सुन काण्ड, लडाकु भत्ता काण्ड, नक्कली भ्याट काण्ड, एनसेल काण्ड, ललिता निवास जग्गा काण्ड, वाइडबडी विमान खरिद काण्ड, प्रधानन्यायाधीश काण्ड, कर फस्र्यौट काण्ड, आयल निगमको जग्गा खरिद काण्ड, मानव वेचबिखनमा राजदँतको संलग्नता काण्ड, संवैधानिक निकायमा भागबण्डा काण्ड, विप्लव र सीके राउत काण्ड, राष्ट्रघाती सन्धि र सीमा अतिक्रमण काण्ड, स्रोत र साधन विदेशीको हातमा दिने काण्ड, काण्डै काण्डको कालो बादलमा रुमलिएदै सपना छरेर चलेको देखिन्छ नेकपा सरकार ।
अस्थिरता र अराजकताको प्रतीक बनेको छ नेकपाको सरकार । राष्ट्रिय राजनीतिक मुद्दाहरु धेरै छन्, सहमति र सहकार्य छैन, सर्जरी गर्नुपर्ने मुद्धाहरु क्रोनिक बनेर राष्ट्र ढाल्ने जोखिम बढेर गएको छ । 
मै शक्तिशाली हुँ भन्ने, पैसा कमाउने, आफ्ना गुटलाई बलियो पार्ने, आफूले भनेजस्तो हुनुपछै भन्ने अहंकारको प्रदर्शन राजनीतिक महारोग हो । यो रोग नितान्त स्वार्थको रोग हो । विदेशीले नेपाली नेताहरुलाई यतिबिघ्न स्वार्थी र सम्भ्रान्त जीवनशैलीको साँचोमा ढालिदिएका छन् कि यिनीहरु हुकुमी शैलीमा अथवा झिंझाको सरदारको शैलीमा सरकार चलाउन खोज्दैछन् । आधुनिक नेपाल बिधिबाट होइन, बलबाट चल्न चलाउन थालिएको छ, यो देख्दा लाग्छ बाघ भनेर चुनाव जिताएकाहरु त बनबिरालो पो साबित हुनथाले । वनविराधलोको नियति नै चोर्नु र खानु, डाकार्नु र सुत्नु हो ।
नेकपाको सरकार र बनबिरालोमा कति भिन्नता छ ? यसको एउटै उदाहरण पर्याप्त छ– ३ वर्षमा आउनुपर्ने मेलम्ची १७ वर्षमा पनि आउन सकेन, ७ अर्वमा बन्नुपर्ने यो राष्ट्रिय प्राथमिकताको आयोजना पूरा हुन खर्बौले नपुग्ने भयो ।
संक्रमणकालीन न्याय के हुने ? कुनै टुङ्गो छैन । जनयुद्धकारी शक्ति दोषमुक्त नभइकन सत्तामा छ । ऊसँग दुई तिहाइको समर्थन पनि छ । उसले आफूअनुकूल कानुन बनाएर बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगका माध्यमबाट त्यहाँ परेका ६३ हजार उजुरीको व्यवस्थापन गर्ने योजनामा काम गरिरहेको छ । विपक्षी सत्तापक्षजस्तो देखिएकाले पनि आन्तरिक रुपमा अधिकारकर्मीहरु र अन्तर्राष्ट्रिय रुपमा न्यायका पक्षधरहरु नेपालमा के हुन लाग्यो, दण्डहीनता बढाउन खोजियो भनेर आपत्ति प्रकट गरिरहेका छन् । नेपालमा रहेका २९ प्रकारका कूटनीतिक तप्का पनि यसबारेमा सतर्क देखिन्छन् । यति हुँदा पनि नेकपा आममाफीको तैयारीमा जुटिरहेको छ । नेकपाको यो नीति अर्को घातक जिवाणु सलबलाएको रुपमा पनि हेर्न सकिन्छ ।
समष्टिमा जनयुद्ध र जनआन्दोलनको उपलव्धि के हो ? यो सवालको जवाफ भनेको १२ बुँदे सम्झौता हो । नेपालको राजनीति र सत्ता यही सम्झौताको परिक्रमा गरिरहेको छ । स्वाधीनता गलाउने, सार्वभौमिकता कमजोर पार्ने जडी कडी पनि यही हो । जम्माजम्मी उपलव्धि भनेको राजतन्त्रको अन्त्य गर्ने राजनीतिक घोषणा र हिन्दुराज्य फालेर क्रिश्चियन संसार गुलजार गरेर भ्रष्टाचार बढाउने तन्त्रमन्त्र पनि यही हो । यो बाहेक नयाँ कुन उपलव्धि देखियो ? जनताले सन्तोष गर्ने विषय के छ ? द्वन्द्व जारी छ । शान्ति र सन्तोष, समृद्धि र सुख कहाँ आयो ? सत्ताधारीको आँगन सफा छ, आम नागरिक खप्परमा हात राखेर टोलाउन किन बाध्य छ ?
संविधान, निर्वाचन र निर्वाचित सरकार कोरामिन मात्र भयो, जसले नेपालीत्व बचाउनै सकेन । नेपालको हितमा बोल्ने नेता देखिन छाड्यो । खानु खुट्नु केही नपाउने आमजनता सत्ताधारीको लूट दर्शक बनेर हेर्न र व्यथित हुन बाध्य भइरहेका छन् । 
मानौं टुडिखेलको दक्षिणी कुनामा वर्ष वर्ष दिनमा मनग्गे खान दिन्छौं, जनतालाई दुःख नदेउ भनेर थान्को लगाएर राखिएको गुरुमापा जस्तो सरकार हो । जो दुई तिहाइको प्रचण्ड मतले उन्मादी भएर जुरुक्कै उठेको छ । देशै कोलाहलमय बनेको छ ।
डाक्टरले राजनीति गर्ने वकिलले कानुनको नौसिङ देखाउने देश हो यो । तलव खाने कर्मचारी टे«ड युनियन खोल्छन्, शिक्षक, व्यापारी करोडमा सभासद किनेर जनप्रतिनिधि बन्छन् । दोहोरो नागरिकता भएका, तस्कर भनेर चिनिएका व्यक्ति सरकार र संसदमा पुग्ने देश, श्रीमती, साली, गर्लफ्रेण्डलाई सभासद बनाउने पार्टीहरुले शासन चलाएको देश पनि यही हो । रेड पासपोर्ट बेच्ने छूदैथिए, दर्जनौं सभासद मानव तस्करी गर्नेमा प्रमाणित नै भइसकेका छन् । हत्या, अपहरण, अपचलन, हिंसा, अमानवीय दाग लागेकाहरु जेल होइन, संसद, सरकारमामा देखिन्छन् भने तिनले बनाएको बिधिले बिधिको शासन स्थापित गर्ला कि झिंझाका मंगलसेनले तर्साउला ? अनि देशमा हरेक दिन गाईजात्रा नभए के हुन्छ ? अरु राष्ट्रमा कानुन, इमान, त्याग, नीति, नैतिकता, लोकलज्जाको डरले विकास दौडिन्छ, नेपालमा सिण्डिकेट र सेटिङमा जे पनि हुने गरेकाले मंगलसेनको घोडामात्र कुद्छ । हाम्रा नेता र प्रशासनको विकास भनेको परीक्षण गर्दा गर्लम्मै ढलेको सांसद ठेकेदारले बनाएको सिक्टा सिंचाइ आयोजनाको बाँध हेरेपछि थप केही हेर्नै पर्दैन ।
भनिन्छ, अरु नशाभन्दा लागूऔषधको नशा कडा । लागूऔषधभन्दा पनि राजनीतिमा सत्ताको नशा झन कडा । १९३२ को जर्मनको नाजीवाद र नेपालको सत्ता राजनीतिमा कुनै अन्तर देखिन छाड्यो । पार्टीहरु दुर्योधनको अवतार बनेर लोकतन्त्रका मर्म र मर्यादामाथि निरन्तर प्रहार गरिरहेछन् । पार्टीभित्रको मानसिकता सिंहदरवारको सत्ताभन्दा पर देख्दैन । त्यसैले जनताबाट यिनीहरु टाढिदै गएका छन् ।
सत्ताको तिर्खा जति बढायो बढ्छ । सत्ता राष्ट्र र जनताका लागि होस् भन्ने वोध नगर्दा राष्ट्र संकटको भूमरीमा फस्यो । निकाशशून्य अनेकन राजनीतिक मुद्दाहरु भड्खालो बनिसक्यो । यो भड्खालोको धारमा रेटिएर रगत बगाउनु पर्ने जोखिममा छौं हामी ।
सारा राजनीतिको मर्मको विश्लेषण गरेर सौरभले लेखेका छन्– ‘आफै माध्यम भएर जनताको छोरालाई शहीद बनाउँछन् र शहीदका नाममा स्मृति प्रतिष्ठान दर्ता गराएर आफ्ना भाइ, भतिजा र रखौटीका नाममा राजधानीमा पाँचतारे शैलीका महल खडा गर्छन् ।’
नेताहरुले ऐनामा आफ्नो अनुहार एकपटक हेर्ने कि ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper