banner
banner

गाउँटोलमा डे केयर र बृद्धाश्रम

अधिवक्ता गंगा दाहाल -
सबैभन्दा बढी सहारा चाहिने बेला बालक र बृद्धावस्थामा हो । यो अवस्था साह्रै संवेदनशील अवस्था पनि मानव जीवनमा । यही बेलामा स्याहार, सुसार र साथ चाहिने हो, एउटा जविन हुर्काउन, अर्को जीवन बिसाउन ।
तर, गाउँ टोल–टोलमा डे केयर सेन्टर खुलेका छन् । दूध खाँदै गरेका बालबालिका डे केयरमा छाडेर एकथरि काममा जान्छन् कमाउन, अर्काथरि घुम्न जान्छन् रमाइलो गर्न । मानौं बालक भनेको जसरी हुर्काए पनि हुन्छ ।
र, विदेश गएका सन्तान बृद्धाश्रम बनाउन पैसा पठाइरहेका छन् । सरकारले मात्र होइन, निजी लगानीमा समेत व्यापक बृद्धाश्रम खोलिएका छन् । घरबाट बुढाबुढीलाई निकालेर सडकमा छाडिदिने, हेलाँ गरेर घरबाट निस्कन बाध्य पार्ने गरेको पनि देखिएको छ । मानौं बुढाबुढी भनेका भार हुन् । अनावश्यक टण्टा हुन्, यिनलाई बृद्धाश्रमतिर छाडिदिनु नै उपयुक्त हो । एकदिन आफू पनि बुढो उमेरमा पुगिन्छ भन्ने आजका युवायुवतीहरुले सोचेकै छैनन् ।
डे केयरमा हुर्केका बालबालिकाले कस्तो संस्कार सिकेका होलान् । पछि उनीहरु जवानीमा प्रवेश गरेपछि विवाह गर्लान् आफ्ना सन्तानलाई पनि डे केयरमै लगेर राख्ने हुन् । पछि बोर्डर पनि गर्लान् । र, तिनले घरका बुढाबुढी आमाबाबुलाई बृद्धाश्रम अथवा सडकमै फाल्ने हुन् । पश्चिमा संस्कृतिले बेस्सरी गाँज्दै लगेको छ हामीलाई । सानालाई आदर र ठूलाको सम्मान गर्नेमात्र होइन, सानालाई मायाँ र बुढाबुढीलाई सहारा दिने संस्कृतिको बिनास भइरहेको छ ।
वैदेशिक रोजगारी, हातहातमा मोवाइल र छाडा संस्कृति, आफैमात्र खुसी र सुखी हुनसकिन्छ, हुनुपर्छ भन्ने गलत सोच र बसाइ सराइदेखि बढ्दो पश्चिमाकरणले हाम्रो मौलिक संस्कार र संस्कृतिमा दिनदिनै पहिरो गइरहेको छ ।
नेपाली संस्कृति रसंस्कार बचाउने कि मर्न दिने ? संस्कृति बचाउने हो भने साना बालबालिकालाई पारिवारिक वातावरणमा हुर्काउने काम गर्नुपर्छ । बुढाबुढीलाई हेरविचार गर्नुपर्छ भन्ने संस्कार सानैदेखि सिकाउनु पर्छ । अन्यथा डे केयर र बृद्धाश्रमले नेपाली पहिचान, गरिमा र महिमा छिटै समाप्त हुनेछ ।
संस्कृति नै रहेन भने नेपाली पहिचान कसरी बाँच्छ र ? हामी पहिचान बिनाका अरुको नक्कलधारी बन्ने कि नेपालीपन कायम राखेर अघि बढ्ने ? आजको दिनमा यो यक्ष प्रश्न हामी सबैका सामु उभिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper