banner
banner

ल्हासा जाने कुतीको बाटो

धर्मरत्न श्रेष्ठ -
नेपाल प्रहरीको मुख्य काम सत्य सेवा सुरक्षा हो । नेपाल प्रहरीले यी तिनै गुण गुमाएको स्थिति छ । खासगरी निर्मला पन्तको बलात्कार र हत्याको छानबिन गर्न नसक्नुले नेपाल प्रहरीको साख गिरेको छ । जनताले प्रहरीलाई राजनीतिक नेताहरुको मतियार मान्न र अविश्वसनीय भन्न थालेका छन् । प्रहरीलाई यो थाहा छ ।
तर आइजीपी सर्वेन्द्र खनाल ल्हासा जाने कुतीको बाटो भनेझैं खुइलिएको सत्य सेवा सुरक्षाको सान कसरी कायम राख्ने, जनतामैत्री कसरी हुने भन्ने उद्देश्यबाट भड्किएर राजधानीलाई प्रदूषणमुक्त बनाउने दावी गर्न थालेका छन् ।
आइजीपीले पहिले नेपाल प्रहरीलाई सत्य सेवा सुरक्षाको पहरेदार हो भनेर प्रमाणित गर्नुप¥यो । जति पनि असामाजिक कामहरु भइरहेका छन्, प्रहरीको रिपोर्टमा सबै छ, राजनीतिक दबाब झेल्न नसकेर चाउरिएर बसेको छ । राजनीतिलाई पर धकेलेर प्रहरीलाई जनमैत्री नबनाएसम्म, अपराधमुक्त वातावरण सिर्जना नगरेसम्म नेपाल प्रहरीले प्रदूषण मुक्तिको भाषण गरेर केही हुनेछैन ।
नेपाल प्रहरी, महानगरीय ट्राफिक प्रहरी महाशाखाले ल्याएको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गर्ने क्रममा आइजीपीले यस्तो दावी गरेका हुन् । उनले धुलो र धुँवाको मुस्लो फाल्ने पुराना गाडीलाई नियन्त्रणमा लिन कसैले सोच्नु पर्दैन, अब काठमाडौं उपत्यका सफा हुनुपर्छ ।’ भन्ने निर्देशन दिदा समाजका अपराधीलाई पक्राउ गर्न र कानुनको कठघरामा उभ्याउन कसैलाई सोध्नु पर्दैन भन्ने आदेश दिन सकेनन् । कारण राजनीतिक दबाबको पहाडबाट स्वयम् आइजीपी थिचिएका छन्, प्रहरी संगठन थिचिने नै भयो ।
भन्नलाई आइजीपीले गृहमन्त्रालयको गृह प्रशासन सुधार योजना अनुसार पनि यो अभियान थालेका हौं भनेका छन् । तर देशव्यापी तथ्यांक हेर्दा अपराध बढेर गएको छ, अपराध बढ्नु भनेको नेपाल प्रहरीको प्रभावकारिता रहेन भन्ने नै हो ।
होला, पेंटिंग उप्किएका, फोहोर सिट भएका, सिट भाँच्चिएर वा किला ठाडो परेर घोच्ने भएका, झ्यालमा भोमिटको फोहरधब्बा देखिने, साइड लाइट नभएका, धुलो उडाउदै दौडने, फलामका रड घिसार्दै हिड्ने, देखिने गरि आलो मासु तथा गनाउने कुखुरा बोक्ने गाडी नियन्त्रण होलान्, समाजमा बलात्कार, ठगी, ज्यानमारा, तस्करी, गुण्डागर्दीलगायतका अपराध नियन्त्रण हुन्छन् कि हुन्नन् ? मूल प्रश्नमा आइजीपीले प्रष्ट निर्देशन दिन नसक्नुले नेपाल प्रहरी सुध्रियो भन्न सकिन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper