banner
banner

समाज कुन दिशामा जाँदैछ ?

देवी काफ्ले
जसले जन्म दिन्छ, आफूलाई समाप्त पार्न परे पनि पालनपोषण गर्छ, हुर्काउँछ, पढाउँछ, बढाउँछ, उसैलाई जब सहाराको आवश्यक पर्छ, तिनै घरमा अटाउँदैनन्, अपमानित हुन्छन्, निकालिन्छन्, लघारिन्छन् । किन ?
जब बाबुआमा बुढा हुन्छन्, छोराछोरीका लागि भार हुनथाल्छन् । जुन बाबुआमाले बर्षौटे जन्मेका दर्जनौं सन्तानर्ला पाल्छन्, स्याहार गर्छन्, तिनै बाबुआमा ती सन्तानले पाल्न सक्दैनन्, पाल्नुपर्छ भन्ने कर्तव्य सम्झदैनन्, किन ?
बृद्ध बाबुआमाले जुन त्याग र तपस्या गरेर सन्तानलाई सक्षम बनाउँछन्, अन्तमा उनीहरु बृद्धाश्रममा फालिन्छन्, किन ?
किन बाबुआमा छोराछोरीका परिवारमा बोझ हुनछन् ?
किन बाबुआमाबाट छुट्कारा चाहन्छन् हुर्केका छोराछोरी ?
समयचक्रसँगै मान्छे जन्मन्छ, तातेताते गर्दै बालक, युवा र बृद्ध हुन्छ । यो प्राणीको प्रकृया हो । तर नयाँ जन्मेका खुशीसँगै सन्तानहरु इतिहास मेट्न उद्दत हुन्छन् ।
मान्छे व्यस्त छ, खासगरी पैसा कमाउन व्यस्त छ । उसले खुशी हुन जानेको छ । खुशी हुन र धन सम्पत्ति कमाउन छोराछोरी बाबुआमालाई बाधक ठान्छन् । किन ?
आजकल बुढाबुढी बाबुआमा प्रायः घरमा परिवारका साथमा भेटिदैनन्, बृद्धाश्रम, मन्दिरका छेउछाउमा दयनीय जीवन बिताइरहेका भेटिन्छन् । जो घरपरिवारमा भेटिन्छन्, उनीहरु खुशी देखिदैनन् किन ?
प्राय तीर्थस्थलका नजिक बनेका आश्रम या झुपडीमा बाबुआमा भेटिन्छन् । उनीहरु घरबाट निकालिएका हुन्छन् । घरमा छोराबुहारी, नातिनातिना सबै अटाउँछन् तर बुढाबुढी अटाउँदैनन् । छोरो कमाउने हुन्छ, बुहारीका लागि बुढाबुढी घाँडो हुन्छन् अनि तिरसकार र दुत्कारका साथ तिनलाई घरबाट निकालिन्छ । बुढाबुढीलाई मगन्ते, बेसहारा बनाइन्छ ।
केही दिन अघि रिडीमा यस्तै एक बुद्ध आमासँग मेरो भेट भयो । छोरा लाहुर गएको छ, बुहारी नातिनातिना घरमा छन् । भेट्न कोही अउँदैनन् । बुढा पहिले नै स्वर्गे भए । नातिनातिना हेर्न मन लाग्छ, घरमा अटाउँदिन भनेर भक्कानिएर रुन थालिन् ।
राम्दीको आश्रममा बस्ने अर्की आमा भन्दै थिइन्– छोरा बुारी जागिरे छन् । भेट्न आउन भ्याउँदैनन् । छोरी पालो गरेर आउँछन् । त्यही आश्रममा बस्ने अर्की आमा भन्दैथिइन्– सय मुरी कोदो फल्छ बारीमा । छोरोको तराईमा पनि मौजा छ । स्याहार्न नभ्याएर होला भेट्न पनि आउँदैनन् । छोरीहरु कहिले कहिले आउँछन् । म बत्ती काटेर बेच्छु, खर्च पु¥याएकी छु ।
पशुपति बृद्धाश्रममा बस्ने बुढाबुढीको कथा पनि यस्तै छ । कति बाबुआमा त छोराछोरीले नै बृद्धाश्रम ल्याएर छाडेको बताउँछन् ।
बुढाबुढीको यस्तो दयनीय जीवन किन बढ्दै गएको छ ? यो सब हामीमा नैतिकता घट्दै गएको, जिम्मेवारीबाट पन्छिने लत बसेकोले हो । हामी पनि एकदिन बुढाबुढी हुन्छौं भन्ने युवा पुस्ताले बिर्सदै गएका छन् ।
दक्षिण भारतको तमिलनाडुमा एउटा यस्तो प्रथा रहेछ, जहाँ बृद्ध र अशक्त बुढाबुढी हुन्छन्, तलाई कत्तल गरिन्छन् र परिवारले बुढाबुढीबाट छुट्कारा पाउने रहेछ । अर्थात अशक्त र बृद्ध भएपछि उनीहरुलाइृ स्याहार सुसार गर्न समय नपुग्ने भनेर नुहाईदिने रहेछन् । नुहाइसकेपछि बुढाबुढी मर्नेरहेछन् ।
अहिले तमिलनाडु सरकारले हरेक बृद्धहरु मरेपछि उनीहरुको पोष्टमार्टम गर्ने व्यवस्था सुरु गरेको छ । कुनै पनि छोराछोरीले बुढा आमाबाबुबाट छुटकारा पाउन यस्ता घृणित कर्म गरे, तिनलाई दण्ड दिन थालेको छ ।
कतै त्यस्तो नुहाइदिएर बुढाबुढी मार्ने प्रथा नेपालमा भित्रिने त होइन ?
एक त बुढाबुढीको मृत्युसँगै इतिहासको एक हिस्सा सकिन्छ । जुन परम्परा नयाँ युगलाई हस्तान्तरण हुनुपर्ने हो, त्यो हुनसक्दैन ।
बुढाबुढीलाई धन सम्पत्ति चाहिन्न, उनीहरु मायाँको भोका हुन्छन् । मुसुक्क हाँसेर बोलिदिए उनीहरु प्रसन्न हुन्छन् । तर मायाँ दिनुभन्दा पनि सम्पत्ति हत्याएपछि बुढाबुढीलाई दुःख दिने, निकालिदिने जस्ता कुकर्म समाजमा दिनदिनै बढेर गएको छ ।
समाजशास्त्रीहरुले सोच्नुपर्छ, बुढाबुढीलाई नहेर्ने प्रवृत्ति किन बढेर गएको छ । नैतिक शिक्षा दिन सरकारले के गर्नुपर्ने हो, समाजमा कुन प्रकारको मान्यता बसाल्नु पर्ने हो, सोच्न अवेर गर्नुहुन्न ।
अवला बुढाबुढी व्यवस्थित हुन्, घरबाट निकालवास हुन नपरोस् । कोही पनि बाबुआमाले जिउँदो हुन्जेल सम्पत्ति नयाँ पुस्तालाई हस्तान्तरण नगरुन्, यसमा सरकारले कडा कानुन बनाउन जरुरी देखिन्छ ।  सम्पत्तिकै लागि भए पनि छोराछोरीले बुढाबुढीको हेरचाह गर्नेछन् । विरामी हुँदा अस्पताल लैजानेछन् र खान पनि दिनेछन् ।
बृद्धबृद्धाहरुलाई सजग बनाउन पनि जरुरी छ । सम्पत्ति देखेसम्म सबैले म्याउ म्याउ गर्ने र सम्पत्ति हात पार्नासाथ लखेट्ने गरेका अनेक उदाहरण देखाएर बुढाबुढीलाई चेतना दिने कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । सम्पत्ति नभएका बुढाबुढीलाई राज्यले हेर्ने र समाजमा छोराछोरीले मायाँ र सम्मानका साथ राख्नुपर्छ भन्ने नैतिक शिक्षा र सामाजिक बन्धनको व्यवस्था मिलाउन पनि आवश्यक छ ।
जब आफ्ना छोराछोरी, नातिनाति देखेर बुढाबुढी भुतुक्क हुन्छन् र सम्पत्ति तिनैका लागि त हो नि भनेर भौतिक र शारीरिक मायाँको सम्पत्ति दिन्छन्, त्यसपछि बुढाबुढीको दुःख र पीडाका दिन सुरु हुनेगरेको छ । हुने बुढाबुढीले आर्थिक रुपमा पनि सशक्त हुनुपर्छ ।
आर्थिक रुपम कमजोर बेसहारा बुढाबुढीका लागि विशेष व्यवस्था नगरि भएको छैन । देखावटी, डलर कमाउने धन्दा बुढाबुढीका नाममा भएका छन् । त्यस्ता आश्रमको निगरानी हुनुपर्छ । दुईछाक खान दिनेमात्र होइन, तिनको मानसिक स्वच्छता पनि जरुरी छ ।
विशेष गरेर बुढेसकालमा आफ्ना कुरा, गन्थन, मन्थन सुनिदिने, मायाँ ममता दिने साथी खोज्छन् । त्यसैले बुढाबुढीलाई सल्लाह सुझावको आवश्यकता पनि पर्छ । तिनका नातिनातिना अरु बालबालिकासँग भेटघाटको व्यवस्था मिलाइदिनुपर्छ । किनकि बच्चा र बुढाबुढीको स्याहर, बानीबेहारा उस्तै उस्तै हुन्छ ।
हामी सबैले आजैदेखि बुढाबुढीहरुको मान, सम्मान गरौं । तिनीहरुप्रतिको जिम्मेवारी मनन गरौं । यो संस्कार समाजमा विकास भयो भने आज बुढाबुढीको जुन दुर्गति देखिन थालेको छ, त्यसको अन्त्य हुनेछ । बाबुआमाको आशीर्वाद माँग्नै पर्दैन, हमेसा शीरमाथि रहिरहनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper