banner
banner

राजनीतिले देशप्रतिको निष्ठा जन्माउन सकेन

राजन कार्की -
सन १८४८ ताका जर्मनमा राष्ट्रवादको राँको सल्काइयो, नेतृत्वमा थिए बिस्मार्क । उनले जर्मन राष्ट्रवादलाई मनीप्लान्ट जसरी जर्मनकीको मनमनमा यसरी रोपिदिए कि आज जर्मन राष्ट्रवाद विश्वको अनकरणीय उदाहरण बनेका छ ।
२०६३ सालको जनआन्दोलन शायद नेपालको इतिहासमा पहिलो वास्तविक जनआन्दोलन थियो । यही जनआन्दोलन हो, घरघरबाट रुखका हाँगा बोकेर सर्वसाधारणसमेत सडकमा निस्केका थिए । यति ठूलो जनआन्दोलन दमन गर्न सकिने अवस्था थिएन, जनताको चाहना परिवर्तन हो भने हुनुपर्छ भनेर राजाले राजकाज बिसाइदिए । एउटा सहमति भयो र संसद पुनर्स्थापना गरिदिए । त्यो जनआन्दोलनले नेपाली राष्ट्रवाद जर्मनको बिस्मार्कले झैं बलियो बनाउने विश्वास गरिएको थियो । १३ वर्षको अवधिमै त्यो जनआन्दोलनको राूको खरानी भइसक्यो, खरानी पनि जनआन्दोलनका नेतृत्व बर्गले बेचेर आफू सम्पन्न बनिसके । जर्मनको आन्दोलन र नेपालको जनआन्दोलन, त्यो माटोबाट उठ्यो, यो दिल्लीले उठायो । नेपाली राष्ट्रवाद दिल्लीले लडाइदियो ।
नाकावन्दीका बेलामा सतिसाल बनेर खडा भएका केपी ओली, त्यही अडानले चुनाव हुूदै सिंहदरवारको मखमली सत्रामा पुगे, अहिले उनी विदेशीकै सती गए, साल पनि रहेनन् । के को सतीसाल ?
नाङ्गै भएपछि के को निष्ठा, केको नैतिकता ? नयाू नेपाल बनाउूछु भन्ने अनि व्यवस्थापन गर्न असक्षम भएर भताभुङ्गलथालिङ्ग हुनपुगेको छ मुलुक । नेकपाको देशभक्ति, स्वाधीनता र सार्वभौमिकता, नेकपाले उठाएको सुशासन र समृद्धिको नारा जनतालाई भ्रमित पारेर सिंहदरवार कव्जा गर्ने रणनीतिमात्र रहेछ । नेकपाको सरकारमा वर्षदिनमै सत्ता र सूर्यमुखी फौबन्जार प्रवृत्ति जुन देखिएको छ, यही रफ्तारमा यो सरकार चल्ने हो भने राष्ट्रिय अस्तित्व विदेशी हस्तक्षेप र चौतर्फी अतिक्रमणको जाँतोमा गहुँ पिसिएझैं पिसिने पक्का छ ।
शासन निरंकूश थियो तर जंगबहादुर त देशभक्त थिए, यो शासन त निरंकूशमात्र होइन, देशघातक पनि हुने छनकमनक देखाउन थाल्यो । जंगबहादुरको चिहानबाट सर्वसत्तावादको भूत जन्मे के होला ?
साइनो नै नभएको भेनेजुयलाको प्रसङ्गमा बोल्ने सरकार र सरकारवादी पार्टी आफ्नो सिमाना, आफ्नो सरकार र जनतामाथिको अन्यायमा कहिले बोल्दैन ? यस्तो सरकार लोक सरकार ? यस्तो पार्टी नेपालको देशभक्त पार्टी ? विदेशीकरण भएकैले शनैशनैः राष्ट्रले आत्मनिर्णयको अधिकार गुमाउँदै गएको छ । विदेशीहरुले नेपाली भूमिलाई चलखेलको मैदान बनाउन थालेका छन् । नेताले विदेशी गोटी बन्न स्वीकार गरेपछि राष्ट्रको स्वाधीनता कसरी खुम्चिदै जाने रहेछ ।
जनयुद्ध हाँक्ने प्रचण्ड दुईपल्ट सिंहदरवारबाट नेपाल हाँक्ने अवसर पाए । दुबैपल्ट उनले अव हिटलर जन्मिन्छ कि बुद्ध ? भनेर कर्कस स्वरमा अभिव्यक्ति दिएका थिए । न अर्को बुद्ध जन्म्यो, न कुनै हिटलर नै । जे जन्मियो, चर्को भाषण र षडयन्त्रपूर्ण राजनीतिमात्र जन्मियो । त्यसपछि जनयुद्धकारी अर्का कमाण्डर बाबुरा, एमालेका माधव नेपाल, झलनाथ खनाल, केपी ओली प्रधानमन्त्री भए । यी कम्युनिष्टको कार्यकालमा जे जन्मियो, भ्रष्टाचार र दूराचारमात्र जन्मियो । कांग्रेसका सुशील कोइरालादेखि शेरबहादुर देउवाको कार्यकाल पनि यस्तै यस्तै अराजक देखिएका हुन् । जन्मिन त संविधानसभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जन्मियो । यी सब महाभारत बिनष्ट गर्ने मुसल जन्मिएजस्तो भएको छ । महाभारतमा त कुरुबंशमात्र समाप्त भएका थिए, नेपाली राजनीतिको महाभारतले नेपाली बंशमात्र होइन, नेपालीत्व नै बिनष्ट गर्ने अपसकुनकारी घटनाक्रम दिनदिनै विकसित हुँदै गएका छन् ।
नेपाली राजनीति चुनावपछि पनि स्थिर हुन सकेन । तरल राजनीति तरल नै छ । राजनीतिले देशप्रतिको निष्ठा जन्माउन सकेन । नयाू सरकार जन्म्यो, दुई तिहाइको नयाँपन पनि जन्म्यो । तर व्यवस्थापन गर्ने ल्याकत जन्मिन सकेन । देशलाई सुदृढ पार्ने आँट र अक्किल जन्मिन सकेन । जे जन्मियो, सेटिङ र सिण्डिकेट जन्मियो, जे जन्मियो, न्याय क्षेत्र, संवैधानिक अंग, प्रशासनदेखि सुरक्षा निकायसम्म राजनीतिकरण गरेर राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरणमात्र जन्म्यो ।
अपराधिकरणको अन्धो घोडा चढेका नेपाली राजनीतिका परिवर्तनका बाहकहरु सपनाको बायुपङ्खी घोडामा नै सयर गरिरहेका छन् । बहुलवाद र लोकवादीकरण भएर यिनले लोकतान्त्रिक अनुहार देखाउने छन् भन्ने विश्वास कमजोर बन्दै गएको छ । यिनको सपना बाूड्ने राजनीति पतनोन्मुख ओह्रालो झर्दैछ । जनआन्दोलनमा जनता सलह जसरी उर्लेका थिए । त्यसपछि सुस्ताएका जनता जुर्मुराउन सकेका छैनन् । लामो समय रक्तपातले तर्सिए, त्यसपछि शान्ति आउला, आतंक रोकिएला, शान्तिले बाँच्न पाइएला, लुटलाटबन्द होला भन्ने आशा लिएर नागरिक प्रतिक्षा गरिरहे, गरिरहे । न ज्यादति रोकियो, न बिधिको शासन सुरु भयो । बिधिमाथि राजनीति घुसाएर चोचोमोचो मिलाएर नेताहरुले देशमाथि, जनतामाथि घोचिरहे, लुटिरहे । आज पनि स्थिति यस्तै आतंकपूर्ण छ ।
एउटा माओवादी नेकपा बन्यो, अर्को नेकपा माओवादी बम, गोली बर्साउन अघि सर्‍यो । नेपाली आकाशमा फेरि धुलो, धुवाँ र बारुदको गन्ध फैलिन थालेको छ । हिजो जनयुद्धको आतंक, अहिले राज्यको मनलागी आतंक, उता विप्लव माओवादीको नयाू बिद्रोही आतंक । जनताको आतंकपूर्ण भाग्य र भविष्य शान्ति र सुस्थिर पार्ने कुनै नेतृत्व राजनीतिमा देखिन्न ।
अहातंक र अत्याचार विरुद्ध कुनै दिन योङ् इटली र रेडसर्टजस्ता अनेकन संस्थामा पसेर र बसेर ग्यारीवाल्डीले इटलीदेखि विश्वभरि स्वतन्त्रता, राष्ट्रियता र स्वाभिमानको हुरी चलाएको इतिहास छ । नेपालमा त्यस्तो युवा नेतृत्व छैन । युवा कि त विदेश पलायन भएका छन्, जो छन्, उनीहरु पार्टी पार्टीको कित्तामा बाँडिएर सत्ता र सूर्यमुखीका कोपिला बनेका छन् । सूर्यमुखीहरू सत्ता देख्छन्, जनताको अधिकार, स्वाभिमान लुटिएको देख्दैनन् ।
नेपाल देशघातक मिर्जाफरहरुको खोरिया बन्दै गएको छ । यसैले त सत्ताधारी नेकपा सीके राउत भन्ने देश भूडुवा, बिखण्डनकारीसँग सम्झौता गर्छ र मधेशमा जनमत संग्रह गर्न सकिन्छ भन्ने राष्ट्रघाती योजना अघि सार्छ । यो भनेको नेकपाले अखण्ड नेपाललाई चूकजस्तो अन्धकार सुरूङ्तिर धकेलिदियो ।
के यो १९३१ तिर स्पेनमा देखिएको दृश्य हो ? स्पेनमा त्यतिखेर गणतन्त्रवादीहरूको कहर जनता र राजाले समेत सहन सकेनन् । गणतन्त्रवादीहरूले २८ वर्ष शासन गरेर स्पेनलाई सिस्नाको घारीजसरी पोल्ने शासनामा परिणत गरिदिए । त्यसपछि राजतन्त्र ल्याएर स्पेन शान्ति र सम्पन्नतातिर अघि बढ्यो र बर्तमानमा सुखी स्पेन बन्न सफल भयो ।
कतै नेपाल त्यही मार्गतिर लागेको त होइन ? किनभने पूर्वराजा जता जान्छन्, उतै राजा आउ देश बचाउ नारा लाग्न थालेको छ । यसपल्टको तराई भ्रमणमा पूर्वराजाको स्वागत गर्न प्रशासन अघि सर्‍यो, सत्ताधारी र प्रतिपक्षका नेताहरु पनि अघि सरे । आमनागरिकको भीड अटेसमटेस नै देखियो । सिंहदरवार र संसद असफल हुँदै गएपछि, ७ सय ६१ सरकार भ्रष्टाचार र अनियमिततामा लिप्त भएपछि जनताको सबरको बाँध फुटेजस्तो देखिन्छ । भन्न त नेताहरु भन्छन्– धार्मिक भ्रमणले परिवर्तन ल्याउँदैन । राजतन्त्र फर्कदैन । तर, थाइलण्डेको इतिहास हेरौं, ३ दशक पछि राजतन्त्र फर्केको थियो । कम्बोडियामा पनि राजतन्त्र फर्क्यो । नेपालमा राजतन्त्र फर्कदैन भन्न सकिन्न ।
देश र जनतामाथि घात बढ्दै गएपछि परिवर्तनका आवाज त उठ्छन्, उठ्छन् । त्यसमाथि हिन्दुवादको आक्रोश बढ्दैछ । आगोको झिल्का देखियो, सल्क्यो भने लोकतन्त्र त रहला, आजका शासकहरु त्यो लोक डढेलोको राप र ताप सहन सक्लान् ? भनिन्छ, राजनीतिमा असम्भव केही पनि हुन्न । राजनीतिमा धर्म हुन्छ, त्यो धर्म नष्ट हुनथालेकाले र नेताहरुको सामन्तीपनले असम्भवलाई सम्भवको संकेत गर्न थालेको छ ।
स्मरणरहोस्, नासिर निरंकुश शासक थिए । तर देशभक्त थिए । उनको मृत्युमा करोडौंले आँसु झारे । सम्झना गरे, उनको शवमा फूल चढाए, श्रद्धाञ्जली दिए । जनयुद्ध, जनआन्दोलन सफल भयो । १३ वर्ष यिनले शासन गरिसके । यिनको मृत्युमा १३ जनाले पनि आूसु बगाउने छैनन्, कसैले यिनको शवमा फूल चढाउने छैनन् । यसरी मलामी घटाउने काम किन गरिरहेका छन् नेपालका नेताहरुले ?
यिनले हेक्का राखुन्, जनतामा राष्ट्रबादको अपार उर्जा छ । सुतुरमुर्ग भन्ने प्राणी टाउको मात्र बालुवामुनी घुसारेर सुरक्षित छु भन्ठान्छ । त्यस्तै छन् हाम्रा राजनीतिक नेताहरू समानता छ । विदेशीको धोतीभित्र मुण्टो लुकाएर अधिकांश नेताहरु शासन, संसद र सत्ताका धुरन्धर खेलाडी बनेका छन् । ध्यान रहोस्, अन्तिम सत्य जनता हुन् । १९७५ को अप्रिल २५ मा भारतीय सेनाले सिक्किम घेरेर खाइदियो । नेपाललाई भारतीयलाई नागरिकता दिलाएर फिजी बनाउने घेराबन्दी गरिरहेको छ । जनसंख्या अतिक्रमण गरेर नेपाल खाने कुरा नेपालीले थाहा पाइसके । यो रोकिन्छ, रोकिनैपर्छ । विदेशी सेवा गरेर सत्तासुख लिइरहन्छु भन्नेहरुले सुध्रिनै पर्छ । अन्यथा नेपालका चाउचेस्कु मार्काका नेताहरुले सत्ता सुरक्षित छु नभन्ठाने पनि हुन्छ । सिंहदरवारको मखमली सत्ताभोगीहरुले जखमले जनतालाई नबिर्सियुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper