banner
banner

सकुनी नेता र महाभारतका शल्य

शाश्वत शर्मा -
गते भीष्मे हते द्रोणे    कर्णे च विनिपातिते ।
आशा बलवती राजन्   शल्यो जेष्यति पाण्डवान् ।
महाभारतको युद्धमा भीष्म बितेपछि, द्रोण मारिएपछि र कर्ण पनि ढालिएपछि शल्यले पाण्डवहरूलाई जित्नेछन् भन्ने आशा पलायो ।
नेपालको राजनीति महाभारत कथाका शल्यको सपनाजस्तै हो ।
२०६३ सालमा राजनीतिक परिदृश्य जसरी परिवर्तन भएको थियो र २०६४ सालमा जसरी लोकतान्त्रिक गणतन्त्र अपनाइएको थियो, त्यो गणतन्त्रले आत्महत्या गरिसकेको छ । गणतन्त्र नेतातन्त्र बनेको छ, गणले अपनत्व स्वीकार गरेन ।
यसैले त यतिखेर पूर्वराजा जता जान्छन्, उतै राजा आउ देश बचाउ भन्ने नारा लाग्न थालेको छ । नेताहरु सेना र प्रहरीको घेराको सुरुक्षामा बस्न थालेका छन्, राजा आरामले जनतामाझ घुमिरहेका छन् । यसैबाट थाहा हुन्छ, लोकतान्त्रिक गणतन्त्रको चटक जनतालाई अस्वीकार्य भइसकेको छ ।
यी युवा देशका भविष्य, यिनलाई निकासी गरेर नेताहरु लुटिरहेका छन् । यस्ता होनहार युवाहरु जो वर्षको ५ लाख तैयार हुन्छन् र साँढे चार लाख विदेशमा निकासी हुने गरेका छन्, लोकतान्त्रिक नेताहरुलाई अलिकति पनि शरम छ भने यो स्थिति बदल्न, यिनलाई देशमै रोजगारी दिने प्रयत्न त हुनुपर्थ्यो ।
झण्डै ४१ उद्योग बेचेर खाए यी नेताले । ४१ उद्योगमा सय उद्योग थपि दिएको भए देशले १२ खर्बको व्यापार घाटा भोग्नुपर्ने थिएन । युवा निकासी गरेर रेमिटान्सले देश चलाउने र ७६१ सरकारमा कार्यकर्ता भर्ति गरेर भ्रष्टाचार चम्काउने सरकार लोकतान्त्रिक सरकार कि निरंकूश सरकार हो ?
आउँदो पाँचवर्षपछि नेपालमा युवा कति बाँकी रहलान् ? यसबारे राजनीतिक दलहरु र समाजशास्त्रीहरु किन चिन्ता र विश्लेषण गरिरहेका छैनन् ? योजना आयोग र सरकार त तमासे भइहाल्यो, के कुरा गर्नु ? यो लर्को कोरियादेखि खाडी देशमा रोजगारी गरेर जहानबच्चा लालनपालन गर्न जानेको भीड हो ।
कहालीलाग्दो छैन यो भीड ? यो भीड देखेर नेताहरुलाई लज्जाबोध हुन्न ?
नेपालमा बेरोजगारीको मार्मिक तस्वीर देखाएको छ, यो भीडले । प्लस टु पढ्यो कि विदेशमा पढ्न जाने भन्दै हिड्नेहरुको लर्को पनि हो यो । खाडीदेखि अमेरिकासम्म, अष्ट्रेलियादेखि न्यूजिलेण्डसम्म सानो सानो नेपाल बनिसक्यो । नेपालका नेताहरु स्वर्ग बनाइदिने सपना बाँडेर पाण्डव जित्ने सपना देखिरहेछन् । यथार्थमा यी पाण्डव जित्ने कौरवको सपनाभन्दा बढी केही होइन । सत्यमाथि पर्दा हालेर अर्थात हत्केलाले सूर्य छोपेर अकर्मण्यता कहिलेसम्म देखाउने ?
सम्पाउही नेता, निरन्तर देशघात
०४६ सालमा जुन परिवर्तन भएको थियो, अगुवा नेता तिनै थिए । ०६३ सालको जनआन्दोलन जसको अगुवाईमा सम्पन्न भयो, ती पनि तिनै नेता थिए । ०४६ सालपछिका २७ सरकार अथवा २०६३ सालको परिवर्तनपछिका ११ सरकारमा जो थिए, आज पनि सत्तामा तिनै छन् । राजनीतिक ठूला पार्टी तिनैले चलाएका छन् । आलोपालो, पालैपालो सरकार चलाइरहेका छन् र आआफ्ना पालामा देशघातक निर्णयहरु गरिरहेकै छन् ।
सबैले चुनावका बेलामा देशको चिन्ता गरिरहेकै छन् । मानौं यी देशका ठेकेदार हुन् र यिनले मजाले देश चलाइरहेका छन् । देश चलाउन काविल यिनीहरुमात्र हुन् । यथार्थ के हो भने यी हरेक नेताको पालामा राष्ट्रघात भएको छ । राष्ट्रघात गर्न यी नेताहरु किन्चित पनि धक मान्दैनन् । सर्वसाधारणले केही गर्न सक्दैनन्, नागरिकको काम मतदान गर्नुमात्र हो भन्ने साह्रै सानो सोच छ यिनको । यही गलत सोचका कारण यिनीहरु राष्ट्रघात गरिरहेछन् । यी कस्ता नेता हुन्, जो सिमाना अतिक्रमणमा पटक्कै बोल्दैनन् । सीममा विदेशी सेनाले नागरिक मारिदा पनि बोल्दैनन् । सरकार त नागरिकको संरक्षक बन्नुपर्ने हो, नागरिक सीमामा होस् कि सीमापारी, सात समुद्र पारी रोजगारीका लागि गएका नागरिकाका लागिसमेत यो सरकार बोल्दैन । मानौं सरकार भनेको मुनाफाखोर हो, उसलाई मुनाफाबाहेक केही मतलव छैन ।
जनतामा भ्रम छर्नु नै राजनीतिको मुख्य काम भएको छ । सपना देखाउने, भ्रममा पार्ने र सत्तामा बसेर निरंकूशता चलाइरहने । भ्रष्टाचार बढ्नु, सुशासन नहुनुको मुख्य कारण पनि यही नै हो । जनता पनि अव त राम्रो गर्ला, अव त सुध्रेला भनेर पालैपालो सत्तामा पुर्‍याउने काम गरिरहेका छन्, यी पार्टी र नेताहरु यस्ता छन् कि समृद्धि र स्वच्छताका लागि कामै गर्दैनन् । पार्टी चलाउन गुण्डा पाल्ने, सत्तामा पुगेपछि अपराधी, तस्कर, माफियाको संरक्षण गर्ने । अनि, कमिशन डकारिरहने । यस्ता शासकहरुबाट देश अग्रगमनकारी छलाङ लगाउन सक्दैन । हो, नेताहरुले आफ्नो सम्पन्नताको छलाङ भने दिनदिनै लगाइरहेका छन् । जो भोकानाङ्गा थिए, सिद्धान्त बगार्थे र सर्वहाराको लागि समाजवाद वा कम्युनिजम ल्याउँछु भन्थे, तिनले आफ्नो सम्भ्रान्त, सामन्तको सुख भने आर्जन गरेका छन् । राजनीतिलाई बेश्या बनाएर नेताहरुले देश लुटिरहेका छन्, मानौं राजनीति भनेको दलाली हो । दलाली गर्ने सबैभन्दा शक्तिशाली बाटो र आर्जन हुने काम बनेको छ ।
देशवासीको जीवन कस्तो छ, राजनीतिले कहिले पनि हेरेन । सत्ताले त हेर्दै हेरेन । जनजिविकालाई सुधार गर्ने भाषण खुब चलेर गयो तर रोजगरी दिने उद्यम, धन्दा बन्द गराएर कमिशन खाने तिनै नेता बने । रोजगारीका मार्गहरु बन्द भएपछि स्वभावतः वैदेशिक रोजागारीमा जानुपर्ने हुन्छ । हरेक वर्ष ५ लाख श्रम बजारका लागि तैयार हुन्छन्, ५० हजार जो नेताका वरिपरिका छन् तिनले रोजगारी पाउँछन्, बाँकी विदेशीने नै हो । युवा बेचेर चलेको मुलुक कतिदिन चल्छ । युवाविहीन बनेपछि देशमा विदेशी चलखेल बढ्छ, राजनीतिक नेताहरु डलरमा भुल्छन्, सक्ता र शत्तिमा रमाउने गर्छन् अनि त देश कमजोर, असफल बन्दै जान्छ । यतिबेला नेपालको हालत यही दुर्गतिमार्गमा तीब्र गतिले सुइकुच्चा ठोकिरहेको देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper