banner
banner

खाँचो छ हिन्दु अधिराज्यको

डा.शास्त्रदत्त पन्त -
१. हिन्दु अधिराज्य भनेको यथार्थमा धर्मराज्य भनिएको हो, सम्प्रदायका नाममा रहेका राज्यको जस्तो होइन, यो प्राणीमात्रको साझा हुन्छ । सृष्टिको कालदेखि यो भूखण्ड, हिमबतखण्ड नेपाल राजा बिहीन अवस्थामा छैन । सबै कालमा भूक्षेत्र एकै नासे नरहे पनि राजा अटुट रुपमा कायम छन् । वैदिक संस्कारमा राजा, हुमे र डुमे नफेरिने मानिन्छन् । वैदिक राजाले सदा निस्पक्ष भएर संरक्षण सम्बर्धन गर्छन् । हिन्दुराष्ट्र विश्वभर चाहिन्छ भन्ने पनि होइन तर यो नेपालको लागि अनिवार्य आवस्यकता हो । विश्वभरका देशमा राजसंस्था चाहिन्छ भन्ने पनि होइन तर नेपालमा यसको नैसर्गिक आवस्यकता छ ।
नेपाललाई पूर्ण प्रजातान्त्रिक, पूर्ण समाजबादी, पूर्ण समानता, पूर्ण शिक्षित, चेतनशील, पूर्ण रोजगारयुक्त र सर्बाङ्गिण–समुन्नत बनाउनु अनिवार्य छ । अनेकतामा एकता नभइकन नेपालले द्रुत प्रगति गर्न संभव छैन । 
२. वैदिक कालदेखि जम्बुद्वीप, आर्याब्रत हिमबतखण्ड नेपाल कायम छ, संकल्प गरिदा भनिने मन्त्रले यस्लाई पुष्टि गर्दछ । त्यसबेलादेखि आजसम्म चार युग बितिसके । सबै युगमा  यहाँ राजनेतृत्वको अछुण्ड धर्मराज्य कायम छ । सत्ययुगमा नेपालको नाम सत्यवती  त्रेतायुगमा तपोभूमि, द्वापर युगमा मुक्ति–सोपान, त्यसपछि नेपाल प्रचलनमा रहेको हो । सबै कालमा यो हिमबत खण्ड हो । गोपाल, महिष, किरात, लिच्छबी, मल्ल, शाह जुन राजाले शासन गरेका भए पनि सबै सनातन वैदिक शासन पद्धतिबाट शाशित थिए । 
बि सं ३८७–४३२ मा भरतखण्डमा शासन गरेका समुद्रगुप्तले प्रयागमा राखेको शिलालेखअनुसार पूर्व कामरुप कामक्षादेखि पश्चिम गढवालको कुतुपुर, सतलजसम्म नेपाल देश थियो, त्यही नै हिमबत खण्ड हो । पुराणहरुभन्दा पहिले लेखिएको देबीभागबतमा हिमबतखण्डलाई नेपाल भनिएको छ । 
हिमबतखण्डमा १४०० बर्षसम्म शाहवंशले नै शासन गरेकये तथा सम्बत. १४५७ देखि आजसम्म नेपालमा शाह बंश छ । यी रामका बंशजका मानिन्छन् । यस वंशका १९२ जनाले यस भूभागमा शासन गरेको पाइन्छ ।
सृष्टिकालदेखि निरन्तर राजतन्त्र रहेको र सबै राजाहरू वैदिक सनातनी हिन्दु धर्माबलम्बी भएको वैदिक सनातनी संस्कारबाट शासन संचालन गरेको पाइन्छ । मानिसको सृष्टिकालदेखि जम्बुद्वीप, भारतवर्षभर अनवरत रुपमा राजाले शासन गरेका भएपनि भरतखण्ड बिदेशीको उपनिबेस भयो । हिमबतखण्ड, नेपाल कुनै बिदेशीले कहिल्ये उपनिबेस नगराएको पवित्र हिन्दुस्थान हो । वैदिक (हिन्दु) अधिराज्य पौरस्त्य वैदिक धर्मको अविभाज्य अपरिबर्ततनीय अङ्ग हो । विश्वमा सनातन वैदिक राजा नेपालको मात्र हो । अरु बिकासबादी सिद्धान्तमा बनेका चलेका हुन् । 
३. विश्वमा भएका सबै प्राणीको व्यवस्था गर्ने जिम्मा लिएका परमात्माले वेदका सूत्र अन्तरिक्षमा प्रवाह गरिदिए । महर्षीहरूले तपोबलबाट ती सूत्रहरूलाई ग्रहण गरे, स्मरण गरे र पछि लिपीबद्ध गरे । ती सूत्र भित्र राज्यव्यवस्था संचालन गर्ने प्रक्रिया छ । मन्त्री, मन्त्रालय वेदसूत्रहरु आजसम्म पनि निरन्तर छ ।  वैदिक राजा भएका मूलुकमा तिनै सूत्रअनुसार संबिधान, ऐन, कानून र नियम बनेका हुन् । राज्याभिषेकदेखि सपथग्रहण समारोहसम्म तथा दैनिक राज्य व्यवस्था संचालनसम्म वेदादिको आधार छ । राजधर्म वैदिक हो, स्वयं घोषित होइन । वैदिक राजा धर्मनियमले बाँधिने हुनाले सधै संवैधानिक हुन्छ । 
४. शक्तिपीठ देव पूजन, सबै खाले धार्मिक कृत्यले समाजलाई अध्यात्म आस्थावान बनाई राख्नुमा राजाहरूको हात छ । आस्थावान समाज मात्र अपराधमुक्त हुन्छ । राजाबाट नै समुन्नत, कला संस्कृति र संस्कारयुक्त, दिगो संरक्षण निर्माण हुन्छ । सृष्टिदेखि आजसम्म जे संरिक्षित छ, यिनैको उपादेयता हो । सबै बंशका सबै राजाले बैदिक धरोहरलाई निरन्तरता दिए, कसैले कसैको योगदानलाई बिनाश गरेनन् । समाजलाई कहिल्यै नास्तिक हुन दिएनन् । त्यसकारण समाज नीतिवान र आस्थावान भएर रहेको हो । हिमबत र भरतखण्डभरिका शक्तिपीठमा पूजा गर्ने अधिकारी नेपालकै हिन्दु राजामा छ । भद्रकालीमन्दिरमा राजाले मात्र खड्ग साट्न पाउँदछन् । गणतन्त्र भारत बनाइपछि त्यहाँका शक्तिपीठमा नेपालका हिन्दु राजालाई मात्र पूजाअर्चना गर्ने हक छ । बौद्ध सम्प्रदायले सम्यकपूजा पनि राजाको पाउमा नै गर्दछन् । 
५. हिन्दुधर्म धर्मको भाग भएकाले अरु सबै मतलाई सम्मान गर्दछ । अरुको आस्था र विश्वासलाई कुनै किसिमको दुराग्रह राख्दैन । सर्बे भवन्तु सुखिन धर्मको मर्म हो । शालीनता, शिष्टता, सहनशीलता, मर्यादितता, प्रेम, सद्भाव र मिलेर बस्ने कुरा, बाँडिचुडी खानेकुरा हिन्दुका बिशिष्ठता हुन् । वैदिक साम्यबादका सूत्र हुन् । ईशाईआदिले धर्मान्तरण नगर्ने, असम्मान र निन्दा नगर्ने भएको भए तिनीहरुप्रति असन्तोष रहने थिएन । 
६. धर्मराज्य ः परोपकार गर्नु ‘पुण्य’ र अपकार गर्नु ‘पाप’ हो भन्ने धर्मको सार मानिन्छ । पीडा भन्नाले  शारीरिक र मानसिक दुवै पर्दछन् । बोलीले पनि अर्काको मन दुख्न हुँदैन । पृथ्वी नै एउटा घर हो, यहाँ बस्ने सबै विचारका मानिस कुटुम्ब मानिन्छन् । ‘शान्ति वाचन’ कल्याण गर्ने मार्ग हुन् । दश नियम र नित्यकर्म आफूलाई संयममा राख्ने पथ हुन् ।ढ आफ्नो सुख प्राप्तिका लागि अर्काले पनि सुख पाउँदछ भने मात्र त्यो कार्य गर्न हुन्छ । अर्कालाई पीडा दिएर आफूलाई सुख हुने काम अधर्म हो । ज्ञान निःशुल्क उपलब्ध गराएर चरित्रवान नागरिक समाज बन्छ । आदर्श समाजमा सेना, प्रहरी र न्यायालयको ठुलो खाँचो पर्देन । करोडौँ वर्ष देखि धर्म समाज थियो, अनार्किजम त्यही ज्ञानको पुनरावृत्ति मात्र हो । व्यास, कौटिल्य आदिले धर्म–राज्यलाई समयसापेक्ष रूपमा व्यवस्थित मात्र गरेका हुन् । नियमको परिपालन गर्ने गराउने मुख्य शासक राजा हो । 
७. प्रजातन्त्र ः  प्रजातन्त्र वैदिक शासन पद्धतिको सूत्र हो । धर्मराज्यमा मात्र प्रजातन्त्रात्मक शासन हुन्छ । प्रजा भन्नाले मानिसलगायत  सृष्टिका सबै प्राणी र सबै तत्व पर्दछन् । प्रकृति र प्रकृतिमा जन्मेका सबैलाई निस्पक्ष भएर संरक्षण, संबर्धन, सेवा प्रदान गर्ने शासन प्रजातन्त्र हो । लोकतन्त्रले मानिसजाति बुझाउँछ । डेमोक्रेसीको नेपालीमा लोकतन्त्र ठिक अनुबाद हो तर प्रजातन्त्रको अंग्रेजीमा शब्द छैन । 
प्रजातन्त्रमा मृत्युदण्ड हुँदैन । पुनः बनाउन सकिदैन त्यसको बिनाश गर्न पाइँदैन । ज्ञानद्वारा मानसिक परिवर्तन गर्नु नै राज्यको  दायित्व हुन्छ । गुरुकुलीय निशुल्क शिक्षा, पीडीशिक्षाले समाज सुखमय बन्दछ । ज्ञान बिहिन भौतिक शिक्षाले आतंक बढाउँछ ।
८. अतिबाद अमान्य ः विश्व परिबर्तनशील छ । यो निरन्तर परिबर्तन भइरहन्छ । परिबर्तन प्रकृति बिरुद्ध भयो भने त्यसले कार्बन उत्सर्ग, तापक्रमबृद्धि, भूकम्प, जलप्रकोप जस्ता बिबिध प्रकोप जन्माउँछ विश्व असामान्य हुन्छ । राजनीतिक सामाजिक परिबर्तनमा पनि त्यही कुरा दोहरिन्छ । संघात्मकता, धर्मनिरपेक्षता, गणतन्त्र,  पनि  अतिबाद हुन् । प्राबिधिक विषयलाइ राजनीतिक निर्णयबाट परिबर्तन गर्न खोजिए जटिल समस्या हुन्छ । प्रजातन्त्र लोकतन्त्र होइन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper