banner
banner

नेपाली सेनालाई बिझ्नुपर्ने हो

शाश्वत शर्मा - 
गणतन्त्रको आवरणमा छाडातन्त्र चलिरहेछ । वर्षदिनको कम्युनिष्ट सरकारको चालामाला त श्री ३ राणाालाई बिर्साउने खालको छ । सरकारमा बस्नेहरुले मुखैले नीति, नियम, कानुनको उल्लंघन गरिरहेका छन् । पदाशीनहरुलाई जे मन लाग्यो त्यही पद्धति बनाइएको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको हेलिकोप्टर दुर्घटनामा निधन भयो । दुर्घटना टर्नुपथ्र्यो, कसैको हताहत हुनुहुन्थेन तर भयो र नेकपा शोकमा छ, शोकमा आमनागरिक पनि छन् ।
नेपालमा विमान खरिदमा ऐतिहासिक घोटाला भयो । घोटालामा मन्त्रीको जिम्मेवारी थियो, मन्त्री बितेपछि प्रधानमन्त्रीले भनिदिए– वाइडबडी प्रकरणमा रवीन्द्र अधिकारीको संलग्नता छैन । छैन भने संलग्नता कसको छ त ? प्रधानमन्त्री बोल्दैनन्, भ्रष्टाचार समाप्त पार्छु भन्ने प्रधानमन्त्री नबोलेको किन ?
महालेखा, संसदीय समितिले भनेअनुसार ४ अर्व ३५ करोड खायो कसकसले, को को खन्चुवा हुन् ? जनतामारा, देशमारालाई पाता कस्न किन सकेन यो दुई तिहाइको सरकारले ? मृत्युपछि रवीन्द्रलाई देवत्वकरण गर्ने प्रक्रिया सुरु भएको छ, जुन गलत हो । मान्छे देवता हुनसक्दैन, चरित्रले महामानव बन्ने हो ।
मन्त्रीलाई क्लिन चिट दिने प्रधानमन्त्री को हुन् ? उनी आफैले गठन गरेको सरकारी छानबिन समितिले पत्र पाएन, पदस्थापना नै भएन, ४५ दिने म्याद कहिले गुज्रियो, गुज्रियो । रवीन्द्र अधिकारी बितेर गए, उनको आत्माले शान्ति पाओस्, प्रश्न फेरि पनि उठ्छ, बाँच्ने नेपाली ठग्ने को को हुन् ?
हो, जुन जमदार अर्जुन घिमिरेको पनि मृत्यु भयो, उनको घरैमा पुगेर उनका परिवारजनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले समवेदना र शान्त्वना दिएका छन् । यो जिम्मेवारीका लागि प्रधानसेनापतिलाई धन्यवाद छ । उनका परिवारजनलाई नेपाली सेनाले हेरविचार गर्नेनै छ । तर प्रश्न के छ भने विरामी जमदार अर्जुन घिमिरेलाई मन्त्रीले जवरजस्ती त्यति चिसो ठाउँमा किन लिएर गए ? स्वयम् मन्त्री निजी पर्यटन व्यवसायीको हेलिकोप्टरमा जानुको रहस्य के के हुन् ? मौसम खराव हुँदा पनि पाइलटलाई छिटो जाउँ भनेर किन दबाबमा उडान भर्न लगाइयो ? यी प्रश्न अनुत्तरित छन् र मन्त्री रवीन्द्र अधिकारीलाई राष्ट्रिय सम्मानका साथ सद्गत गराइयो र देशभर विदासमेत दिइयो । यो कुन संस्कार हो ? आफ्नो पार्टी सरकारमा छ भने जस्तोसुकै नजीर पनि बसाल्न मिल्छ कि मिल्दैन ?
कीर्तिनिधि विष्ट, मरीचमान सिंहजस्ता पूर्वप्रधानमन्त्री मरे, सरकारले कुनै सम्मान दियो ? शाश्वत कोही पनि छैन, आजका शासक कुनै दिन मर्छन्, अर्को शासकले यसैगरी उपेक्षा गर्नु उचित हो कि अनुचित ? र, राष्ट्रिय सम्मान कसले पाउने, कसले नपाउने, नीति निर्धारण गरेको छ यो सरकारले ?
कति सस्तो भयो यो मुलुकमा सम्मान र क्षतिपूर्ति ? भीरबाट लडेर मरेको, गाँजा रक्सी खँएर भीडमा गएर मरेका समेत शहिद भए, १० लाख पाए । जो देशभक्त छन्, तिनले कुनै सम्मान नपाउने, जो पार्टीका मान्छे छन् र पार्टी सत्तामा छ भने राष्ट्रिय सम्मान नै पाउने ? अचम्मको क्रम सुरु भएको छ । पार्टीका मान्छे परे भने सात खुन पनि माफी हुने । राष्ट्रपतिले टाँचा ठोकिहाल्ने ? देशमा भ्रष्टाचारको बाढी चलिरहेको छ, बाढीले देशलाई बगाउने तरखर गरिसकेको छ, तैपनि सरकार, राष्ट्रप्रमुख रोम जलिरहदा संगीतमा झुमेजसरी भ्रष्टाचार र लाभमा झुलिरहेका छन् । स्वार्थ कतिसम्म निर्दयी हुनेरहेछ, देखियो ।
यति हुँदा पनि नेपाली सेनालाई, सेनाको देशभक्ति किन जाग्दैन कुन्नी ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper