banner
banner

टावर पड्काउनु बहादुरी होइन

अधिवक्ता गंगा दाहाल -
एनसेलले राज्यलाई तिर्नुपर्ने ६३ अर्व (कोही कोही ८३ अर्व) भन्छन्, जरिवाना जोड्दा अझ बढी होला, छलेछ । कर तिर्नु पर्दैन भन्ने आन्तरिक राजस्व कार्यालय र अर्थ मन्त्रालयभित्रैका हाकिमहरु हुन् र राजनीतिक तथा कर्मचारीसँगको मिलोमतोमा एनसेलले कर नतिरेको खुलासा भइसकेको छ । एनसेलले आफूले दलहरुलाई दिएको चन्दा फिर्ता गरे तिर्न तैयार रहेको जनाउ पनि दिएको थियो । यसको अर्थ दुई तिहाइको सरकारलाई असफल पार्ने पुरापुर बन्दोबस्त पूर्ववर्ती सरकारहरुले गरेको देखिन्छ । यो सरकारकै केही कमजोरी भए पनि त्यसलाई सच्याउनुपर्छ र सरकार सच्चिएर सुशासन र समृद्धिमार्गलाई प्रशस्त गर्नुपर्छ । सुशासनको बिकल्प देखिदैन ।
यसैवीच एनसेलको नखुस्थित टावर पड्काइएको छ । एकजनाको हत्या भएको छ भने केही व्यक्ति घाइते भएका छन् । सरकारले तत्काल मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारमा सघाउने भनिसकेको छ । छानबिनका क्रममा ६ जनालँई पक्राउ गरेर अनुसन्धान थालेको छ । स्मरणीय के पनि छ भने बम बिस्फोट गराउनेलाई लागेको होला, एनसेललाई सबक सिकाइयो । एनसेललाई कानुनी मार्गमा हिडाउने यो तरिका गलत छ । आतंक आतंक नै हो र आतंकले बिधिको शासन चल्न सक्दैन । यतिमात्र होइन, ओली सरकारले बैदेशिक लगानी भित्र्याउन भरमग्दुर प्रयास गरिरहेको छ, अर्थमन्त्री बेलायतसम्म पुगेका छन् भने सरकारले दाता राष्ट्रहरुको सम्मेलन गर्ने तैयारीसमेत गरेको छ । कसरी देशमा वैदेशिक लगानी भित्र्याउने भनेर सरकार लाग्नु र आन्तरिक शक्तिहरुले यसरी बम बिस्फोट गराउँदा विदेशी लगानीकर्ता तर्सेर भाग्ने निश्चित छ । यसबाट हानी देशकै छ, नोक्सानी हामी सबैको छ ।
एनसेलको टावर पड्कियो, एनसेलको कुनै नोक्सानी छैन । बिमा र क्षतिपूर्ति रकमको दायित्व जनताले तिरेको करमाथि नै पर्ने हो । अनाहकमा एकजनाले ज्यान गुमाए, देशमा आतंकको सनसनी फैलियो । यसरी सनसनी फैलाएर कुनै लाभ छैन । लाभ त सरकारको सहयोग गर्नुमा छ, सरकारलाई सही मार्गमा हिड्न प्रेरित गर्नुमा छ, जनताप्रतिको जिम्मेवारी निर्वाहमा छ ।
हो, एनसेल वा जोसुकै व्यवसायी, उद्यमीले कर तिर्नैपर्छ । असल नागरिक हुनका लागि, असल व्यवसायीको साख कमाउनका लागि समेत कर तिर्नुपर्छ । कर लिने सरार र कर तिर्ने दायित्व भएकालाई प्रोत्साहित गर्नु विधिको शासनमा बल पु¥याउनु हो । अव हिंसा बर्जित छ, नागरिक हिंसा भनेपछि घृणा गर्छन्, नागरिकले चाहेको शान्ति र समुन्नति हो । यसैका लागि जनताले नेकपालाई दुई तिहाइ बहुमत दिएका हुन् । नेकपा आफ्नो जिम्मेवारीमा नैतिक रुपमा उभिनुपर्छ र जनताप्रति जवाफदेही हुनैपर्छ भने आमनागरिक, अन्य राजनीतिक दल वा शक्तिहरुले सरकारलाई सघाउनै पर्छ । यो सरकारले ५ वर्षका लागि जनसमर्थन पाएकाले यो ५ वर्षमा यो सरकारलाई सही मार्गमा हिडाउन प्रयत्न गर्नु सबै नागरिक वा शक्तिहरुको कर्तव्य हो । बम पड्काएर भययुक्त वातावरण बनाउनु उचित छैन । मुलुकभित्र सञ्चालनमा रहेका कुनै पनि सम्पत्ति वा संरचना बिगार्नु भत्काउनु, ध्वम्स गर्नु आततायी काम हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper