banner
banner

बा हाम्रा यी फाटेका लुगा कसले फेर्दिन्छ ?

देवी काफले–
महलको बुईंगलमा बसेर बले बाहिरको चिच्याहट सुनिरहेको थियो । बाहिर जिन्दावाद र मुर्दावादका नारा घन्किरहेको थियो।उ बाहिर निस्क्यो । निस्वार्थ आंखाले अवाक् हेरिरहेको थियो । राता सेता झण्डाले गाउँनै रंगिएको थियो । उ एक तमास हेरिरहेको थियो अनि झल्याँस्स भयो आफ्नो फाटेर झुत्रो परेको कमिज हेर्यो, ठाउँ ठाउँमा भ्वाङ् परेको जाँगे हे¥यो । फेरि डोरीमा असरल्ल झुन्डिएको आमाको गुन्यु हेर्यो । बाउको घुँडामा फाटेको सुरुवाल र जिङ्ग्रिङ्ग कपाल निस्कने झुत्रे टोपी हेर्यो । आमाको गुन्यु र बाउको सत्र ठाउँ टालेको भोटो च्याप्प काखमा समायो । अनि घोरिएर तिनै झण्डा हे¥यो । उसको बाल मानस पटलमा अनेक कुराले तँछाड मछाड गर्न थाल्यो । अब यी झण्डा के गर्लान् ? दुईचारवटा झण्डा पाए त मलाई भोटो सिलाईदिन्थिन् मेरी आमाले । बाको भोटोको टालो फाल्दिन्थे । मेरो जाँगे फुलबुट्टे हुन्थ्यो । सपना कोरेर बसिरहेको बले उताको नाराले झसँग भयो ।
काखमा च्यापेका लुगा फ्यात्त भुईंमा फालेर झण्डा बोक्ने भीडतिर दुगु¥यो । उसलाई जसरी पनि एउटा भए पनि झण्डा चाहिएको थियो नारा घन्काउन होईन, जागे फेर्न ।
हिम्मत गरेर झण्डा माग्यो तर जवाफमा पायो ल चिच्याएर जिन्दावाद भन् । बाललिला देखाउन थाल्यो सकेको घाँटी च्यातिन्जेल खिरिलो स्वर निकाल्यो । कार्यक्रम सकिन लाग्यो उसका आँखा त्यही झण्डामाथि थियो । अकस्मात् एउटा कर्कस स्वरले झसंग भयो ए केटा त्यो झन्डा यता ले । उसले पनि हिम्मत गरेरै भन्यो मलाई दिनु न । जवाफ आयो तँलाई किन चाहियो ? एकछिनमा सबै यत्रतत्र लागे झण्डा भुईंमा फालिएका थिए । कुल्चेर धुलोपिठो परेका झण्डा हेर्दै मनमनै भन्यो आखिर मलाई दिएको भए त गाँसेर एउटा भोटो त लाउँथें नि । यसरी फालेर के पाए ? मैले लगाउनु भन्दा कुल्चेर फाल्नु ?म को रहेछु?
दगुरेर घर गयो बा बा भन्दै । उसको बासँग अघिकै झण्डा खोस्ने कर्कसे मान्छे भोट दिनुस्, हामी तपाईंको जिन्दगी बदलीदिन्छौ भनेर अनुनय गरिरहेको थियो ।
उसको बाल मष्तिस्कमा बेसरी हलचल भयो । हामी भनेका मान्छे हैन भोट दिने मेसिन पो रहेछौं ?
सबैलाई हे¥यो फेरि आमाको गुन्यु बाउको भोटो र आफ्नो जाँगे च्याप्प काखी च्याप्यो र भन्यो– बा हाम्रा यी फाटेका लुगा कसले फेर्दिन्छ ??? बलेका आँखाबाट आँसु झरिरहेका थिए ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper