banner
banner

कुन शहीद ः सही शहीद

पदम हमाल -
१४ हजारभन्दा बढी शहीद घोषणा भएका छन् । प्रचण्ड, देउवा, माधव नेपाल र केपी ओली सबैले पार्टीका मान्छेहरु जाँड खँएर मरेका हुन् कि भीरबाट चिप्लेर, सबैलाई शहीद घोषणा गरिदिएका छन् । कुन शहीद सही शहीद । बडो द्वीविधाको स्थिति छ । सरकारले भनेको शहीद मान्न जनता तैयार छैनन्, तर के गर्ने पार्टी शासनमा उनीहरुले जे भन्छन्, जसो जसो बाहुन उसै उसै स्वाह ।
देशका लागि मर्ने पो शहीद हुनुपर्ने हो । जो पनि शहीद । सत्तामा पुग्नासाथ आफ्ना पार्टीका मरेका जति सबैलाई शहीद घोषणा गरिहाल्नुपर्ने । शहीद घोषणा गर्नुको पछाडि शहीदले पाउने राज्यकोषको दान दातव्यले काम गरेको छ ।
दशरथचन्द, धर्मभक्त, गंगालाल, शुक्रराज शहीद थिए । ती राणा शासनविरुद्ध क्रान्ति छेड्ने सपुत थिए । तिनले ज्यानको बाजी लगाएर स्वतन्त्रताको बिगुल बजाए, देशका लागि मर्न तैयार भए । हो, देशका लागि, जनताका लागि मर्ने व्यक्ति शहीद हुन्छ । पार्टी जिन्दावाद भनेर हिडेको व्यक्ति पनि शहीद । जसले माफी मागेका भए, गल्ती स्वीकार गरेका भए जीवनदान पाउन सक्थे, तिनले ज्यान अर्पेर क्रान्तिको आगो फुके त्यसकारण तिनीहरु राष्ट्रका शहीद । अहिले पार्टी सरकारले पटक पटक हजारौं शहीद घोषणा गरिरहेका छन्, तिनीहरु कसरी शहीद, जसले देशका लागि ज्यान दिएकै होइनन् । के भइरहेछ यो देशमा ?
अमर शहीद हुन अमर हुने काम गर्नुपर्छ । ३ करोड जनसंख्या छ देशमा ३० हजार शहीद पुग्न बेर छैन । जबकि कुनै पराईले आक्रमण गरेकै छैन । हो, कैलालीका गोविन्द गौतम शहीद हुन् । उनले बिस्तारवादविरुद्ध माटोको रक्षाका लागि जीवन दिए । देशका लागि मर्ने व्यक्ति छाडेर पार्टी जिन्दावाद भन्नेलाई शहीद बनाउँदै शहीले पाउने सुविधामा लेवी लगाएर पार्टी मोटो बनाउने ?
यसकारण धेरै स्वाभिमानीहरु भन्न थालेका छन्– पार्टी सरकारले घोषणा गरेका शहीदलाई शहीद मानिन्न । उता २ नम्ब प्रदेशको मधेश सरकार मधेशी शहीदको सपना साकार पारेर छाड्छौं भन्दै शहीद पार्क बनाउने निर्णयमा पुगेको छ । पार्क बनाएर शहीदको सपना कसरी साकार हुन्छ कुन्नी ? पार्क बनाउनका लागि कुनै व्यक्ति शहीद बनेको हो र ? हक र अधिकार, समानताको आन्तरिक द्वन्द्वका लागि मरेका व्यक्तिलाई शहीद घोषणा गर्ने र पार्क बनाएर शहीदको सपना साकार पार्नेरे । उफ, नेपालमा किन शहीद सस्ता भएका हुन् कुन्नी ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper