banner
banner

प्रधानमन्त्रीेले बोलेको पुगोस्

अधिवक्ता गंगा दाहाल -
केही दिनदेखि प्रधानमन्त्री यसरी बोलिरहेका छन्– हाम्रो विकास र प्रतिवद्धता देखेर संसार आश्चर्यचकित छ । १० वर्षभित्र नेपालको राजनीति सफा हुन्छ, मुलुक नयाँ अभियानमा जान्छ । केही वर्षमै देशको परिचय फेरिन्छ । समृद्ध सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन । म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न । यी सबै कुरा प्रधानमन्त्री यसकारण बोलिरहेका छन् कि उनमा काम गर्ने अठोट छ, काम गर्छु गरेर देखाउँछु भन्ने इच्छाशक्ति पनि छ । समस्या यत्ति छ कि सिंगो पार्टी पंक्तिले अध्यक्ष तथा प्रधानमन्त्रीलाई साथ दिइरहेको छैन । कर्मचारीतन्त्र अहिले पनि भ्रष्टाचार र कमिशनमा लागिरहेको छ । सेवाग्राहीलाई सेवा दिनुभन्दा पनि तस्कर, माफिया, भ्रष्टतत्वको उक्साहटमा कर्मचारीहरु लागिरहेका छन् । केही स्वार्थ लम्पट पार्टी पंक्ति पनि प्रधानमन्त्रीलाई असफल पार्न र स्वार्थ पूरा गर्न लागिरहेको छ ।
प्रधानमन्त्री एक्लैले देश बन्दैन । पार्टीलाई जनताले दुई तिहाइ मत दिएर काम गर्ने अवसर दिएका छन् । काम गर्ने अठोट सरकार प्रमुखमा छ । यो सरकारलाई सफल पार्ने कि नपार्ने, नेकपाले पाएको जनविश्वास, जनादेशलाई सार्थक स्वरुप दिने कि नदिने, यो सवालको जवाफ नेकपाका पार्टी पंक्तिको जिम्मेवारी हो । भ्रष्टाचार र कमिशनकै चक्करमा लाग्ने हो भने जसरी अहिले सरकारविरुद्ध एनसेल, वाइडबडी जहाजदेखि सुनकाण्ड, ज्यानमारा काण्डसम्मका नैतिक प्रश्नहरु उठिरहेका छन्, त्यो प्रश्नले सरकारमा मात्र होइन, प्रधानमन्त्रीमा मात्र पनि होइन, पार्टीमै खिया लाग्नेछ ।
सुशासन र समृद्धि, समृद्ध नेपाल र सुखी नेपाली, यही हो नेकपाको एजेण्डा । यो एजेण्डा बोक्ने कि भ्रष्टाचारी र अपराधी बोकेर व्यक्तिलाभमा फस्ने ? सरकार असफल भयो भने प्रधानमन्त्रीमात्र असफल हुँदैनन्, सिंगो नेकपा असफल हुनेछ । यत्ति कुरा पनि नेकपा पंक्तिले नबुझेर आफ्नै घुँडामा खुँडा हानिरहेछन्, किन हो कुन्नी ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper