banner
banner

विजयमा लाग्ने कि पराजीत हुने ?

अधिवक्ता गंगा दाहाल -
समृद्ध नेपाल, सुखी नेपाली ः प्रधानमन्त्रीको यही लक्ष्य छ । प्रधानमन्त्रीको अर्थात ओली सरकारको उद्देश्य हो यो । यो उद्देश्य परिपूर्ति गर्न नेकपाका तमाम पदाधिकारी, कार्यकर्ताको एकमात्र कर्तव्य हो । यो कर्तव्य निर्वाह गर्न हामी नेकपामा गर्व गर्नेहरु कति सक्षम छौं, कति इमानदार छौं । एकपटक आफूले आफैलाई मूल्याङ्कन गर्नुपर्ने बेला भयोजस्तो लाग्छ । गत पुसमा फाराम भर्दा घर छैन भनेर सांसदले फाराम भरेका रहेछन् । त्यसपछि कतिले घर किने, घर बनाए, कति मन्त्री बनेका छन् र मन्त्री क्वार्टरमा बस्छन् । घर भएर पनि घरछैन भन्दै घरभाडा लिनेहरुको सूची सार्वजनिक भयो, त्यो पढेर मजस्ता सामान्य नागरिक दुःखित हुनु स्वभाविक हो ।
प्रधानमन्त्रीले सिण्डिकेट समाप्त पार्ने निर्णय गरेका थिए । त्यो सरकारी निर्णयलाई कार्यान्वयन गर्न र नेकपाको सरकारलाई अझ उजिल्याउन नेकपाबादीहरुले इमान्दार प्रयास, सहयोग गरे कि गरेनन् ? ठेकदारले ठेक्का लिने, काम नगर्ने । सरकारी पैसा पेश्की लिने र त्यो पैसाको दुरुपयोग गरेर ठेक्का पूरा नगर्ने, ठेकेदारले मिलोमतो गरेर गुणस्तरहीन काम गर्ने गरेका अनेक प्रमाणहरु देखिए । एकजना सांसद त ठेकेदार नै रहेछन् उनले बनाएका बाँध नै ध्वस्त भयो । कालिका र पप्पु कन्स्ट्रक्शन यति धेरै बदनाम भएका छन् कि यसले सरकारमाथि नै कलंक लागेको छ । यसमा नेकपावालाहरुले सरकारलाई कति बल पु¥याए, नेकपालाई सशक्त पार्टी, देश निर्माण गर्ने, नयाँ नेपाल बनाउन कति समर्थन गरेका छन् ?
निर्मला पन्तको बलात्कार र हत्याले नेकपामा लागेका आमासमूह आज पनि मर्माहत छन् । जोसुकै होस्, बलात्कारी र हत्यारा कानुनको कठघरमा आउनैपर्छ, ल्याउनै पर्छ । यो प्रकरणको पर्दा नउघ्रिदा सरकारमाथि जनविश्वासमा ठेस लागेको छ । जनविश्वास कुनै हालतमा घट्नु हुन्न । जोसुकै अपराधमा संलग्न होस्, दुई तिहाइको ऐतिहासिक सरकारले त्यसलाई पक्रनैपर्छ । पक्राउ गर्न कमजोर अनुसन्धान गर्ने प्रहरीमाथि सरकारले कडाइ गर्नैपर्छ । सरकार कमजोर छैन, सरकार जनवादी नै हो भन्ने सन्देश जानैपर्छ जनतामा ।
सुन तस्कर, तस्करले गरेको सनम शाक्य सहितका व्यक्तिको हत्या, सुन पक्राउ परेर त्यसलाई तामा बनाउने सुरक्षाकर्मी, प्रशासक को को हुन् ? वाइडबडी जहाज खरिदमा देखिएको भ्रष्टाचारमा को को संलग्न छन् ? संसदको सर्वाधिकार, सर्वोच्चता कायम गर्नैपर्छ र त्यो जनताकै लागि हो भन्ने प्रमाणित गर्न पनि सरकार पछि पर्नु हुन्न । सबैभन्दा ठूलो कुरा नैतिकता र आचरण हो, नेकपाका कुनै पनि नेता कार्यकर्ता, सहयोगी मन्त्रीहरुको नैतिक आचरण शुद्ध देखिनैपर्छ । तवमात्र उदायको सूर्य चम्किन्छ । भेनेज्वेला र ह्यूगो चाभेजको विश्वभरि चर्चा थियो । आज जनवादी हुन नसक्दा उसको बेहाल हुँदैछ । नेपालमा उदाएको नेकपाको सूर्यमा केही ग्रहण लागेका छन् । यो ग्रहण छिटै सफा हुनुपर्छ र ग्रहणको अन्त्यसँगै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न नेकपा एकमत एक ढिक्को भएर लाग्नुपर्छ । यसेमा नेकपा र नेपालको जय छ, विजय छ र नेकपाविरोधीहरुको पराजय छ । विजयमा लाग्ने कि पराजीत हुने ? यो यक्ष सवालको जवाफ प्रत्येक नेकपावादीले सोधखोज गर्ने बेला यही हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper