banner
banner

राजनीति आशीर्वाद बन्न सकेन

डा.दुर्गा दाहाल -
नेपालको सन्दर्भमा राजनीति आशीर्वाद नभएर अभिशाप बन्न पुगेको छ । यसरी भन्नु पर्दा आफैँलाई पनि दुःख लाग्छ भने राजनीतिकर्मी हरूलाई त मन नपर्ने नै भयो । तर आजको यथार्थता यही नै हो । इमान्दारीपूर्वक भन्नु पर्दा, बहुदल आए पश्चात् नेपालको राजनीति बदनाम भएकै छ ।
म स्वयं पनि बहुदलको पक्षपाती हुँ र कट्टर प्रजातन्त्रवादी हुँ । पहिलो जनआन्दोलनमा सक्रिय सहभागिता दर्साएर सफल भए पश्चात् खुसीयालीपूर्वक जुलुसमा भाग लिने हरूमध्ये म पनि एक हुँ तर आज आएर नेपालको राजनीति र नेताहरूको गतिविधि हरूलाई नियालेर हेर्दा अचम्मित हुन्छु । आखिर यस्तो किन र कसरी भयो ?
उक्त सवालको जवाफ हामीले खोज्नै पर्छ । नेपालको बृहत्तर स्वार्थका खातिर यो राजनैतिक सवालको जवाफ अराजनैतिक भएर खोज्नु पर्छ किनभने नेपालको राजनीति अत्यन्त दुषित र पूर्वाग्रही भइसकेको स्थिति छ । एउटा राजनैतिक दल र त्यसका कार्यकर्ताले भिन्न राजनैतिक दल र त्यसका कार्यकर्ताले गरेका हरेक न्यायोचित कार्यहरूलाई पनि दोष लगाउने र यश नदिने गलत परिपाटी अद्यपरिमित विद्यमान छ ।
उदाहरणार्थ, डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनलाई राजनीतिसँग जोडेर हेरिन्छ, निर्मला हत्याकाण्डलाई राजनीतिसँग बलपूर्वक मिसाइन्छ, राजनैतिक व्यक्तित्वद्वय गिरिजाबाबु र सुशील दा को स्मृतिमा निर्मित तनहुँ र बाँकेका अस्पतालहरूलाई खारेज गर्ने प्रस्ताव ल्याइन्छ आदि इत्यादि ।
गोविन्द केसीले अहिलेसम्म कुनै राजनैतिक पार्टीको सदस्यता लिनु भएको छैन र उहाँका मागहरू समग्र नेपाली जनताका हितका लागि छन् । निर्मला केवल पन्तकी मात्रै छोरी नभएर नेपालकी छोरी हुन । मनमोहन बढाबा, मदनकाका, गिरिजाबाबु र सुशीलदाका नाममा निर्मित अस्पतालहरू सबै पार्टीका कार्यकर्ता र मतदाताहरूका लागि बनाइएका हुन ।
उक्त कुरा आजको सरकार र राजनैतिक नेताहरूलाई भलीभाँति थाहा छ तर राजनैतिक पूर्वाग्रह राखेर निर्णय लिनु, जायज मागहरू पुरा नगर्नु, जघन्य अपराधहरूलाई पनि राजनैतिक आवरण दिएर लुकाउन अथवा बंग्याउन खोज्नु सर्वथा निन्दनीय र खेदपूर्ण छ ।
त्यसैगरि, अहिलेका विविध काण्डहरू जस्तै सुन काण्ड, चिनी काण्ड, वाईडवडी जहाज काण्ड लगायत हरेक काण्डहरूलाई राजनैतिक शरण दिएर जनभावनालाई उपहास गर्नु आफैमा एउटा अपराध हो ।
मैले यहाँ राजतन्त्रको वकालत गर्न चाहेको कदाचित हैन तर तुलनात्मक अध्ययन र अनुसन्धान गर्दैछु । वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता अथवा राजनैतिक स्वतन्त्रता बाहेक राष्ट्रियताका सवालमा, शान्ति सुरक्षा र आर्थिक विकासका सवालमा त राजतन्त्रले पनि मुलुकलाई अन्तर्र्रािष्ट्रय स्तरमा त गतिलोसँग चिनाएर राखेको रैछनि । तुलनात्मक रूपमा बरु अहिले आएर हाम्रो अन्तर्र्रािष्ट्रय इज्जत र अस्मिता गिर्र्दै आएको छ । राष्ट्रिय स्वाभिमान र गरिमा स्खलित छ । यो ठूलो चिन्ताको विषय बनेको छ । मलाई यहाँ कुनै राजनैतिक दलको पक्षमा पैरवी गर्नु छैन । म अपवादमा रहेका न्यायप्रेमी र राष्ट्रभक्त नेताहरूलाई अहिले पनि अन्तस्करणबाट आदर गर्छु तर अहिले राजनैतिक मञ्चमा आसीन अधिकांश बदनाम नेताहरूलाई हामीले आजकै रमिता हेर्न जना देश दिएको हो त अथवा उहिले जेल नेलकै हिसाब लगाएर अहिले राष्ट्रिय ढिकुटी रित्ताउन पाउने हो त ?
अहिलेका नेताहरूले विगतमा गरेका त्याग, तपस्या र बलिदानको कुरा सुन्दा सुन्दा कान पाकीसके तर वर्तमानको कार्यक्रम र भावी कार्य योजना सुन्न नपाउँदा र सपनाका लड्डुहरू मात्रै पस्किएको देख्दा उदेक लाग्छ ।
अहिलेका राजनैतिक दलका नेताहरूले गरेको भ्रष्टाचार र व्यभिचार देख्दा यिनीहरूले अतीतमा गरेको योगदान पनि कै केजातिमा गए जस्तो लाग्छ । कलङ्कित वर्तमान अभिशप्त छ ।
– सबैदलका राजनैतिक दलहरूलाई एउटै मात्र अनुरोध छ–
निर्वाचनताका कुनै राजनैतिक दलविशेषको उम्मेदवार भएर गएता पनि जिती सकेपछि र मन्त्रीको दर्जामा पुगी सकेपछि उ सबै जनताको हुन्छ र जनताको कल्याणका निम्ति कार्य गर्नु पर्छ । राजनैतिक नेता मात्रै नभएर समाज सुधारक र सर्व प्रिय नेता हुन सक्नु पर्छ । सबै दलका, सबै तह र तप्काका जनतालाई समेटेर लैजान सक्नु पर्छ । बेइमान र भ्रष्ट छ भने आफ्नै दलको दाता, मतदाता र कार्यकर्तालाई सख्त कार्वाही गर्न सक्नु पर्छ ।
मतदातालाई विनम्र अनुरोध
हामी मतदाता र कार्यकर्ता हरू पनि दोषी छौं । हामीले नेता चिन्न सक्नु पर्छ । आफ्नो दलको भयो भन्दैमा चोरलाई सन्त भन्न मिल्दैन । राजनैतिक दलको खोल ओढेर आउनेलाई तिरस्कार गर्न सक्नु पर्छ । उदाहरणार्थ रेसम चौधरी र दीपक मनांगेको नाम पर्याप्त छ ।
अतः आजको अभिशप्त राजनीतिको निष्पक्ष मूल्याङ्कन गर्ने हो भने कम्तीमा एक दर्जन अराजनैतिक राजनैतिक विश्लेषक र बुद्धिजीवीहरूको राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरी तथाकथित राजनैतिक नेता, प्रधानमन्त्री र मन्त्रीहरूलाई राजनैतिक सुझावको दस्ताबेज दिनु पर्छ ।
राजनीति अभिशाप हैन, आशीर्वाद बन्न सक्नु पर्छ ।
तर मेरो कुरा कसले सुन्ने र खोइ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper