banner
banner

गाउँमा सिंहदरवार छोरीहरुले देख्न पाउनुपर्छ

अधिवक्ता गंगा दाहाल -
सिंहदरवार गाउँसम्म पुगेकै हो भने छोरीले सिंहदरवार देख्न पाउनुपर्छ ।
उदयपुरको गाईघाटमा माघ १८ गते राष्ट्रिय बेटी सम्मेलन हुने समाचार आयो । यसअघि कपिलवस्तुदेखि पर्सासम्मबाट खबर आयो, छोरी जन्माउने आमाको स्याहारसुसार र छोरी जन्मनेबित्तिकै बीमा गरिदिने । ता कि छोरीको पठनपाठनमा कुनै कमी नरहोस् । पश्चिम पहाडतिर छाउगोठ भत्काउने अभियान नै चल्यो र यसमा एनजीओ, आइएनजीओसमेत लागे । चेतना फैलियो तर छाउगोठ बस्नुपर्ने छोरीमान्छेको बाध्यता समाप्त हुनसकेन । भत्केका छाउगोठ बन्न थालेका खबर आएका छन्, चेतना फैलाउने अभिभारा बोकेकाहरु निकासा भएको डलर सकिएछ कि कुन्नी, पटक्कै बोल्दैनन्, मौन बसेका छन् । मौनता चेतना हुनसक्दैन ।
राष्ट्रिय बेटी सम्मेलन अर्थात छोरी सम्मेलन गाउँपालिका, नगर, महानगर, जिल्ला सबैतिर हुनुपर्छ । छोरीका बारेमा छलफल प्रदेश, राष्ट्रिय सभा र संसदमात्र होइन, सबै प्रकारका सरकारहरुमा हुनुपर्छ, छोरीको आत्मनिर्भरता बिना देशले न शान्ति, न समुन्नति, न कानुनव्यवस्था, न सुशासन नै हुनसक्छ । परिवारका अभिभावकको सोचदेखि छोरीको भविष्य निर्धारण हुने हो । छोरी पछि आमा हुन्छे, अभिभावक हुन्छे, यसकारण छोरी सबल भए समाज र देश सबल हुनसक्छ ।
मोवाइलले अर्थात विज्ञानले मान्छेमा समभावको विकास गरे पनि हाम्रो संस्कारले छोरालाई बढी महत्व दिएको छ । दिमागमा छोराप्रतिको भाव यसरी खिया लागेर बसेको छ कि छोरीप्रति हिंसाभाव कोखदेखि नै सुरु हुनथालेको छ । आमाको कोखमा छोरी छ कि छोरा भनेर जाँच गर्ने प्रथा बढेको छ । छोरी भए गर्भ तुहाइदिने प्रचलन महामारीकै रुपमा बढेको छ । आज प्रत्येक गल्ली गल्लीमा गर्भपतन सेवा सञ्चालित छन् र यो पेशा सुन तस्करीभन्दा सहज र सुरक्षित मानिन थालेको छ । गर्भ पतन होइन यो, मान्छेको विवेक, संवेदनशीलता, छोरीप्रतिको हिंसा हो । यो अमानवीय कार्यलाई कानुनले बर्जित गरेको छ तर कानुनले यी सब कूकृत्य देखिरहेको छैन ।
हामी एउटी सबल छोरी, आमा तुहाइरहेका छौं । यसकारण पनि छोरीप्रतिको सोच, दृष्टिकोण बदल्न जरुरी छ र छोरी सम्मेलनको महत्व बढी छ । एउटी सवल छोरीले सवल घर, समाज र राष्ट्र दिनसक्छे भन्ने भावना विकास गर्न जरुरी छ । अन्धविश्वासले हामी घेरिएका छौ । अन्धविश्वास मास्नका लागि समेत छोरी सम्मेलन गरेर छोरीलाई कसरी सक्षम बनाउन सकिन्छ, यसमा व्यक्तिको, समाजको, राष्ट्रको, राजनीतिक दलहरुको, चेतनशील बर्गको जिम्मेवारी छ भन्ने चेतना फैलाउनका लागि समेत बेटी सम्मेलन जरुरी छ । राष्ट्रव्यापी सम्मेलनपछि छोरी बचाउन, छोरीलाई पढाउन, छोरीलाई संस्कारी बनाउन र छोरीलाई छोराजत्तिकै प्रतिस्पर्धी गराउन सकिन्छ भन्ने ज्ञात सबैलाई हुनेछ । छोरी योजना ल्याउन सहज वातावरण बन्नेछ । छोरीप्रतिको यो दायित्व निर्वाह हुनसक्ने हो भने हिंसा समााप्त, प्रगतिको सुरुआत हुनसक्नेछ । आजै हामी सबै छोरीप्रति किन चिन्ता र चासो नलिने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper