banner
banner

नेकपा बन्यो, विश्वास भत्कियो

धर्मरत्न श्रेष्ठ -
नेकपाका दुई पाइलट केपी ओली र प्रचण्ड । प्रचण्ड प्रधानमन्त्री ओलीको समर्थनमा खुलेर लागेका छन् । ओली सरकार दुई तिहाईको बहुमतका साथ पहाड बनेर खडा छ । सरकार चलेको छ, सरकार कसरी चलेको छ सरकार बनाउन मतदान गर्ने आमनागरिकले अत्तोपत्तो पाएका छैनन् । सरकार अन्धाधुन्ध निर्णय गर्दै गएको छ र जति पनि निर्णय भएका छन् जनपक्षमा पटक्कै छैनन् ।
प्रधानमन्त्रीले हावादारी सपना निकै देखाए । त्यस्तै सपना थियो– पुस १ गतेबाट पानी जहाज चढेर कलकत्ता जाने हो भनेर फुइँकी हाँकेका थिए । पुस ४ गते आयो, कलकत्ता जाने कुनै पानी जहाज चल्ने पानीसँग नेपाल जोडिएको छैन । कुनै पानीजहाज कलकत्ता जानका लागि नेपाल पसेको पनि छैन । नारायणी, कोशीमा आरपार गर्नका लागि सामान्य डुङ्गाचाहिं चलेको छ । कलकत्ता जानका लागि टिकट कहाँ पाइन्छ, कहाँबाट कलकत्ताका लागि पानी जहाज छुट्छ, केपी ओली सरकारले देखाउन सकेको छैन । उनका कुनै मन्त्री अथवा सल्लाहकारले बताउन सक्ने कुरा पनि भएन । जनतालाई मूर्ख बनाउनु, यस्तरी त नबनाउनु ?
कामरेडहरुले सत्तालाई दामरेड बनाए । न ३३ किलो सुनको पत्ता लाग्यो, न अपराधीकरण नै कम भो । न बलात्कारी र हत्यारा देखाउन सक्यो, सरकार भनेको जता पनि राजनीतिकरण गरेर कमाउने धन्दा रहेछ । पार्टी भनेको भाटभटेनीजस्तो कुहिएको सामान बेचेर पैसा बटुल्ने पसल पो बनेछ । जनता नयाँ नेपाल, समृद्ध नेपाल, सुशासनयुक्त नेपाल, समृद्ध नेपाल सुखी नेपालीको नारामा भुलिरहे, यस्तो नारा त कम्युनिष्टहरुले जनतालाई देखाउने चटक पो रहेछ ।
नाकावन्दीका बेलामा केपी ओली सरकारले नेपालका पक्षमा धेरै कुरा उठायो, अडान देखायो र नेपाललाई भारतको नाकावन्दीबाट सदाका लागि अन्त्य गर्ने छनकमनक पनि देखाएकै हो । यहीकारण जनताले चुनावमा एमालेलाई जिताए । एमाले माओवादीसँग मिलेर नेकपा के बनेको थियो, चुनाव जितेर तिनै केपी ओली सरकारमा के उक्लेका थिए, सरकार जनताका लागि असारे पहिरो बन्यो । पहिरोले जनता हाहाकारमा छन्, जनतालाई राहत दिन सरकार तैयार छैन ।
जनताले तिरेको करको भ्रष्टाचारमात्र गर्ने काममा नेकपा सरकार पुरै लागेको छ । आफ्ना कार्यकर्तालाई जागीर दिने र तिनलाई कमाउने अवसर दिनु नै नेकपाको एकमात्र काम हो । नेकपाका सांसदहरु घर भएर समेत घरभाडासमेत असूल गरिरहेका छन् । यसबाट समेत नेकपा नैतिकहीन देखिएको छ ।
नेकपाले राम्रो काम गर्ने विश्वास जनतामा थियो । त्यो जनविश्वास, त्यो विश्वासको मत लिन त नेकपा सफल भयो, विश्वास कायम राख्न सकेको छैन । हो, जनताले कुर्नुपर्छ । अर्को चुनावमा जनताले यस प्रकारको लुटाह प्रवृत्ति भएको नेकपालाई जिताउने विश्वास गर्न सकिन्न । नेकपा बन्यो, विश्वास भत्किसक्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper