banner
banner

यी आफै लडेर सिद्धिने भए

शाश्वत शर्मा -
    पूर्वराजाले जानेनन्, यिनलाई पालैपालो सत्ताको अफर गरेको भए, आफै लडेर सिद्धिने रहेछन् । त्यो विद्रोही माओवादीको पनि एक दुई माग पूरा गरिदिएर सिंहदरवारभित्र हुलिदिएको भए ज्ञानेन्द्र शाहलाई हाइसन्चो, सुनमा सुगन्ध हुनेरहेछ । के गर्ने ? अघि राँडीले जानिन, पछि राँडीले मानिन, बाघ लाग्यो घिच्याउन, राँडी लागि चिच्याउन । यही लोकोक्तिजस्तो भयो मुलुकको स्थिति परिस्थिति । जताततै लथालिङ्ग ।
    अहिले चलिरहेको सत्ताको मनलागी देखेर लज्जित सच्चा बुद्धिजीवीहरु यस्तै विचार व्यक्त गर्दैछन् । हुन पनि सत्ताको लागि पार्टी पार्टीका वीच मात्रै होइन, एउटै पार्टी अनि सिद्धान्त एउटै भएकाहरुवीच पनि, देखिने नदेखिने गरी सत्ताको चरम तानातान चलिरहेको छ । एमाले माओवादी मिलेर बनेको नेकपाभित्र ओली गूट भर्सेज प्रचण्ड, झलनाथ र माधव नेपालदेखि घनश्याम भुषालसम्मको जुहारी नै चलेको छ । त्यस्तैगरेर कांग्रेसमा देउवा भर्सेस रामचन्द्र, सशांकहरुको लडाई झन चर्को देखिन्छ । राप्रपाभित्र भ्यागुताको धानी बन्नै सकेन । बैद्य, विप्लवको प्रचण्डविरुद्ध, नेकपा सरकारविरुद्ध घोरघमासन आरोप प्रत्यारोप सुनिन्छ भने राजनीतिमा महाभारत नै चलेको छ । मधेसी मोर्चा, राजपाभित्र उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोवीच असामान्य स्थिति देखिन थालेको छ ।  कारण देशहित र जनहित होइन, सिंहदरवारमा त्यो बस्नेभो, म बस्न नपाउने भएँ । यत्ति हो कारण ।
    सत्ताको बागडोर सम्हालेका र नेकपाका सशक्त अध्यक्ष केपी ओली विरुद्ध त नेकपाभित्रै बहिष्कार, आरोप प्रत्यारोप ज्यादै नै चलेको देखिन्छ । दुई तिहाइको सरकार, न कुखुराको चाल, न हाँसको चालमा छ । सुशासन र समृद्धिको नारा लगाए पनि विदेशपरस्त, अव त इसाईको झोले खेताला सरकार भन्न सकिने वातावरण प्रम आफैले सिर्जना गरिदिएका छन् । प्रभूकी छोरी मुनले ब्लेसिङ रक्सीको अभिषेक गरिदिएपछि नेकपाका नेता, कार्यकर्तादेखि प्रशासनका चाकरीदारहरु झन चोखो भएर भ्रष्टाचारमा तल्लीन हुनथालेका छन् ।
    यस घटनाले विभिन्न पार्टीका नेताहरुले सिद्धान्तमाथि, मान्यतामाथि बलात्कार त गरे गरे, लोकलज्जाको सीमा नाघेर उभिएको देखियो । मानौं, अव लोकतन्त्र ल्याउनेहरुवीच वैचारिक मतभेद छैन, डलर गर्नेर नथाक्नेहरुमा सत्ता राजनीतिको नाङ्गो चलखेलमात्र बाँकी छ । सबैभन्दा बढी अप्रिय उवाल केपी ओलीले देखाए । उनले इसाईलाई सम्मेलन गर्न निम्त्याएर एक करोडको पुरस्कार के लिए, धर्मनिरपेक्ष संविधानको समेत बलात्कार हुनपुगेको छ । यो मामिलाले ९४ प्रतिशत ॐकार परिवार बसोबास गर्ने नेपालमा धार्मिक द्वन्द्वको बीउ रोपिएको छ । नेपालमा धर्मका नाममा रक्तपातको खतरा निम्तिन पुगेको छ ।
    नाकावन्दीका बेलामा नेपालका पक्षमा उभिएर चीनसँग पारवहन सन्धिसमेत गर्ने केपी ओली यतिबेला भारतको इच्छाविपरित खोक्रो राष्ट्रवादी पल्टिएकोमा ओलीको धुवाँधार बिरोध नेकपाभित्रै भइरहेको छ । तैपनि प्रम ओली आत्मप्रचारमा केन्द्रित छन् । ओली सरकार न न्याय स्थापित गर्न, न सुशासन दिन, न अपराध न्यूनिकरण गर्न नै सफल भए । ओली सरकार इतिहासकै सबैभन्दा बढी भ्रष्ट र देशघातक रुपमा देखा परेका छन् ।
    केपी ओलीले अरिंगालको प्रसङ्ग निकालेपछि कांग्रेसका अमरेशकुमार सिंहले डाक्टरको हवाला दिएर केपी ओलीको मानसिक अवस्था ठिक नभएको टिप्पणी गरेका थिए । प्रतिवाद गर्न ओलीका युवाहरु सडकमा निसकन सकेनन् । अहिले त नेकपा आत्मरक्षाको स्थितिमा पुगेको छ । चुनावमा नेकपाले पाएको जनविश्वास यतिखेर घट्दो क्रममा छ ।
    ९ महिनामै ओली सरकार असक्षम र अलोकप्रिय भइसकेको छ । शायद ऐतिहासिक बहुमत हासिल गरेको कम्युनिष्टहरुको लागि यही अन्तिम अवसर हो । बेला यही हो मुलुक बचाउने मार्ग खोल्ने । अव आफ्नो मुलुक, पहिचान र अस्तित्वका लागि फेरि उत्रिनै पर्ने भयो । ताते बाँच्यौं, सेलाए सिद्धियौं । जब जब जनतामाथि, देशमाथि अन्याय हुन्छ, जनता तात्ने गरेका छन्, जनता उठ्ने गरेका छन्, ेफेरि उठ्ने बेला आयो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper