banner
banner

लोकतन्त्रको १३ वर्ष, आलु खाएर पेडाको धाक

राजन कार्की -
वैज्ञानिक हलाले विष आविष्कार गर्‍यो, विष बन्यो कि बनेन परीक्षण उसले आफैमाथि गर्‍यो र आविष्कारलाई ठाडो घाँटी लगाएर तनक्कै तन्काइदियो । हलाको हल भयो । हलाहलको प्रसङ्ग हो यो । यही प्रसङ्गमा मिल्दोजुल्दो घटना हो राजतन्त्रको अन्त्य र धर्मनिरपेक्षतापछि इसाईकरणको नाङ्गो नाच ।
जनयुद्धकारी र आन्दोलनकारी बहुदलवादीहरु मिलेर जनआन्दोलन सफल पारे, आविष्कार भयो लोकतन्त्र । जनआन्दोलनकारीहरुले राजासँग मरेको संसद माँगेका थिए, राजाले त दिए, त्यो २०६३ साल वैशाख ११ गतेको घटना हो । त्यसपछिको १३ वर्ष आठ आनाको लेनदेन, रुपैयाँको खानपिनभन्दा बढी केही हुनसकेन । लोकतन्त्रको १३ वर्षे अध्याय पल्टाउने हो भने आङ कन्याएर छारो उडाउनु मात्र हुनेछ । लोकतन्त्रको यो कालखण्ड आलु खाएर पेडाको धाक लगाउनु जत्तिकै छ ।
किनभने संविधान बन्यो, गाउँ, नगर, प्रदेश, राष्ट्रियसभा, संसदको चुनाव सम्पन्न भयो, अव लोकतन्त्र संस्थागत र संविधान कार्यान्वयन हुनथाल्यो भन्न सकिन्छ । तर यति गर्नका लागि १३ वर्ष किन लाग्यो, ९ खर्ब किन खर्च भयो ? यसको फाँटवारी दिने जिम्मेवारी कसैले लिन तैयार छैनन् ।
यसकारण लोकतान्त्रिक गणतन्त्र आविष्कार त भयो, आविष्कारकहरुको अन्त्य कतै हलाको हल भएजस्तो भएन त ? इसाईहरुले लोकतन्त्र इसाइकरणका लागि ल्याएको खुलासा गर्दा लोकतान्त्रिक शक्तिहरु सुनिरहे, हेरिरहे ।
चुनाव जितेर दुई तिहाई जनमतको समर्थन पाएका प्रधानमन्त्री भन्छन्– जुत्ता नमिले खुट्टा ताछ्नुपर्छ । भर्खर उत्तर प्रदेशबाट डाक्टरको डिग्री लिएर आएका प्रधानमन्त्री केपी ओलीको यो तर्क उनका दृष्टिमा वैज्ञानिक समाजवाद, जबज र लेनिन दर्शन होला, कुनै पनि मान्छेले खुट्टा ताछेर जुत्ता लगाएको कसैले कहीँ देखेको छ ? टुक्का हाल्ने, हँसाउने तर यस्तो बहुलठ्ठी कुरा गरेर हँसाउनु भनेको रत्नपार्के तमासा मात्र हो ।
उनी आफै भन्छन्– अव आर्थिक क्रान्ति गर्नुपर्छ । सुशासन र समृद्धि एकमात्र मेरो लक्ष्य हो । त्यति पवित्र लक्ष्य बोकेको नेताले खुट्टा ताछेर जुत्ता लगाउने कुरा गर्छ भने यस्ता व्यक्तिले रुख काटेर हलो न मुङ्ग्रो बनाउन सक्छ, स्वाधीनता र सार्वभौमिकता मासेर देशलाई अभरमा पनि पार्न सक्छ ।
दुई तिहाई बहुमतसहितका शक्तिमान प्रधानमन्त्रीले सल्लाहकार राखेका छन्, थिङ्क टैंक पनि बटुलेका छन् । कुन तह र स्तरका सल्लाहकार र थिंक टैंक रहेछन्, कतै विदेशी नशा पिएर बर्बराउने मानसिक असन्तुलन भएकाहरु त जम्मा पारेनन् यिनले ?
जिद्दी पुरुष हुन् केपी ओली । यिनी अहिले पनि हावाबाट विजुली निकाल्ने, हिन्द महासागरमा पानी जहाज चलाउने, भान्छा भान्छामा ग्यासको पाइप पुर्‍याइदिने, केरुङ काठमाडौं, दिल्ली काठमाडौं रेल चलाएरै देखाउने सपना देखिरहेका छन् । सपना देख्नुपर्छ, सपना साकार पार्न इच्छाशक्ति र नैतिक चरीत्र पनि चाहिन्छ । घुस्याह, गुण्डा, डन, माफियाको घेरा तोड्न नसक्नेले देखेको सपना सपनामात्र हो, सोझा जनताको आँखामा छारोमात्र हो ।
ओली सरकारका श्रम मन्त्री जापानी राजदँतलाई भेटेर कोरियाले जस्तो इपीएस प्रणालीमा हाम्रा युवालाई कामदार बनाएर लैजाउ भनिरहेका छन् । कोरिया गएका युवायुवतीका परिवारलाई पनि कोरिया जान देउ भनेर गुहार मागिरहेका छन् । ओली सरकारका उद्योग, वाणिज्य मन्त्री उद्यमी र व्यापारीलाई जेल हाल्छु भन्छन्, पद्धति विकास गरेर लगानी गराउन, उद्यम र व्यापार बढाउन प्रोत्साहित गरिरहेका छैनन् । वैदेशिक लगानी आकर्षित गर्ने कुनै खाका नै सार्वजनिक गर्न सकेनन् । युवाशक्ति बेचेर सरकार चलाउनेले देखेको सपना कसरी साकार हुनसक्छ ?
युवाहरु राजनीतिको टुकुचाबाट उम्किन खोज्दैछन्, रोजगारी चाहियो भन्दैछन्, गरिखान नपाएपछि खाडीको खाडलमा हामफालिरहेका छन् । केपी ओलीको मन्त्रिमण्डलको बैठक महेन्द्र तालको किनारमा भयो, महेन्द्रले जस्तो राष्ट्रवाद जगेर्ना गर्ने आँट र अक्किल निकाल्न सकेनन् । बरु त्रिभुवन विमान स्थलको ढोकामा मन्त्रिमण्डलको बैठक राखेको भए रेमिटान्स मात्र देख्ने सरकारले देख्ने थियो– युवायुवतीहरु कसरी ज्यान जोखिममा पारेर मलेसिया, कतार, युएई दौडिरहेका छन् ?
ठूलो कुरा शिक्षा र स्वास्थ्य हो । दरवार हाईस्कँल खण्डहर भएको ३ वर्ष भयो । त्रिविविमा आइएनजीओको बोलबाला छ । शिक्षा मन्त्रालय सबल र समयानुकँल शिक्षानीति बनाउन सक्दैन । सामुदायिक मास्ने, निजीलाई पोस्ने शिक्षानीतिले अन्ततोगत्वा अभिभावकको हुनुसम्मको शोषण भइरहेको छ । स्वास्थ्य मन्त्रालय, विभाग, कार्यालयहरुमा आमनागरिकको स्वास्थ्यका लागि छुट्याइएको बजेटमा हुनुसम्मको भ्रष्टाचार छ । जनताको स्वास्थ्य प्रयोगशाला र भ्रष्टाचारको खानी बनेको छ भने शैक्षिक संस्थाहरु पिपलबोटको पत्रिका पसलजस्तो छ, जहाँ शिक्षाका नाममा राजनीति ज्यादा भइरहेको छ । भँकम्पले धरहरा ढल्यो, बनेन । भ्रष्टाचारले राष्ट्रको गजुर ढलिसक्यो, सुधार भएन ।
नेपाल त्यस्तो देश हो, जहाँ आफन्तलाई सेटिङ गर्न संस्था बन्छ, सरुवा बढुवा हुन्छ । संवैधानिक निकायहरुमा नोटको गड्डी हेरेर नियुक्ती गरिन्छ । न्यायाधीशहरु न्यायालयलाई मन्दिर भन्छन् र राजनीतिक नेताको ढोकामा चाकरी गर्न पुग्छन् । कानुन छ, चरालाई तर्साउन उभ्याइएको बुख्याँचाजस्तो, सानालाई ऐन, ठूलालाई चैन । जनताको कर खाएर काम गर्नुपर्नेहरु घूस खाएर डकार्छन् । अदालत गए देखिन्छ, सोझा घडीको रालो जसरी दशौं बिसौं बर्ष न्यायका लागि हल्लिरहेका छन्, शक्तिशालीहरु चक्कर चलाएर छुट लिइरहेका छन् ।
संविधान छ, लोकतन्त्रको लाज छोप्ने लगौंटीजस्तो । जसले जतिसक्छ उल्लंघन गरे हुन्छ भन्ने होडबाजी छ । राजपाका नेताहरु मधेस अलग हुन्छ, कसले रोक्न सक्छ भनिरहेका छन् । हिन्दी राष्ट्रभाषा हुनुपर्छ भन्दै नेपालमा बहुल राष्ट्रवाद छ भनेर किटानी बयान दिन्छन् । संविधानअनुसार चुनाव लड्ने, अनि संविधानको यसरी धज्जी उडाउने ? संविधानले तिनको मुखमा ठेढी जाक्न किन सक्दैन ? सरकार छ, छ भने संविधानको पालना गराउने जिम्मा सरकारको हो कि होइन ? अदालतले भ्रष्ट र संविधान विरोधीलाई कर्‍यापझ्याप पार्न सक्दैन भने त्यस्तो अदालत कसरी लोकवादी, संवैधानिक सम्मानमा रहिरहन सक्छ ? अदालत छ र न्याय पाइन्छ भन्ने विश्वास अझै जनजनमा छ, त्यो विश्वासलाई जागृत र जिवन्त पार्ने कर्तव्य अदालतको हो, यसमा अदालत संचेतन किन देखिन्न ? लोकतन्त्रमा हुनैपर्ने विशेषता भनेको नैतिक चरीत्र हो, त्यो कसकसमा कति बाँकी छ ? यो मापदण्डमा हरेक क्षेत्रका जिम्मेवारहरु नङ्गा नाचे हजार दाउ खेलिरहेका छन् । जब संविधान खेलबाडको दस्तावेज बन्छ, त्यो मुलुक दुर्घटनामा पर्छ पर्छ ।
अफ्रिका अँध्यारो महादेश भनेर चिनिन्थ्यो । अहिले अफ्रिका धेरै उज्यालो हुनथाल्यो । जन्मजात जेठो मुलुक, स्वतन्त्र मुलुक नेपाल सधैं उज्यालो मुलुक थियो, अँध्यारो बन्दै गएको छ ।
दक्षिण अफ्रिकाका शिक्षकहरुले उज्यालो ल्याएका हुन्, स्वाधीनता बचाएका हुन् । नेपालमा जनयुद्ध र जनआन्दोलनमा शिक्षक पनि आविष्कारक बने लोकतन्त्रको । तर त्यो आविष्कार हलाको हलजस्तै दिनदिनै आत्महत्या गरिरहेको छ ।
हो, एउटा राजा फाल्यो आविष्कारले । दर्जनौं महाराजा पनि त जन्मायो । हो, लोकतन्त्र ल्यायो आविष्कारले । लोकतन्त्रले लोकलज्जा पनि गुमायो ।
लोकतन्त्रले जातीय हिंसाको बीउ रोप्यो, अनेकतामा एकताको कडी खुस्कायो, गाई काट्न पाउनुपर्छ भनेर धार्मिक हिंसाको मृत्युघण्टा बजायो, जातीयतामा युरोपियन युनियनले खुलेआम खेल्यो, अरु छिमेकी र विश्वशक्तिहरु नेपालभित्र चलखेल गरिरहेका छन् । नेपालको रिमोट अरुको हातमा पुर्‍यायो । सिंहदरवारको शक्तिलाई निर्यात पनि त गर्‍यो लोकतन्त्रले ।
बुद्धको देशमा शान्ति छैन । सगरमाथाको देशमा सम्पन्नता कता हो कता ? पशुपतिको देशमा पशु प्रवृत्ति बढ्यो । बहादुरको देशमा फिरङ्गी र भिरङ्गीको बोलवाला छ । उज्यालो आयो भनेको त, झन चुक घोप्ट्याएजस्तो अँध्यारो पो हुनथाल्यो । यसैले प्रश्न उठेको छ– अमृत हो लोकतन्त्र, नेपालमा रोपिएको यो लोकतन्त्रमा किन विषालुपन बढेर गयो ?
लोकतन्त्रलाई अमृत बनाउन सकिन्छ । यसका लागि सामुहिक रुपमा भ्रष्टाचार गर्दिन भन्ने नैतिकता प्रदर्शन हुनुपर्छ । यहीँबाट जनताको विश्वास बढ्छ, नेतृत्वले आत्मवल पाउँछ । चुनाव त गुण्डाले पनि जिते, जेल परे । गरिब मुलुकमा चुनाव जित्ने बाहुबली, धनबली, शक्तिबलीहरुका लागि ठूलो कुरा होइन । देश बनाउनका लागि चुनौति छ । त्यो चुनौति इमान र नैतिकता हो । यसका लागि संविधान होइन, लोकलज्जा चाहिन्छ ।
यति प्रतिवद्धता व्यक्त गर्न नसक्ने हो भने लोकतन्त्र जसरी विषफल बनिरहेको छ, यसबाट वर्तमान पुस्ता नैराश्यतामा उकुसमुकुसिएर जसरी घुटघुटिएर मरिरहेका छन्, त्यसैगरी नेतृत्व पंक्ति हलाको हलको परिणतिमा नपुग्लान् भन्न सकिन्न । खोजेको लोकतन्त्र हो, हलाको हलाहल होइन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper