banner
banner

पृतनापतिको सामाजिक सेवा

दीपायल, नेपाली सेनाका सुदूरपश्चिम पृतनापति उपरथि झंकरबहादुर कडायतले सामाजिक सेवाको राम्रो उदाहरण प्रस्तुत गरेका छन् । हामी ती पृतनापतिलाई धन्यवाद दिन्छौं । किन पनि उनलाई धन्यवाद छ भने नेपालमा कुनै नागरिकले कतिसम्मको दु:ख झेल्न सक्छ, दु:ख भनेको के हो, कसैलाई जान्न मन छ भने सुदूरपशिचम गए हुन्छ । सुदूरपश्चिम नेपालको अंश भएर पनि सबैभन्दा दुखित छ । पीडामा छ । संघीयता आएर पनि त्यो दु:खमा केही कमी आएको देखिदैन । विकास र आधुनिक सभ्यता सुदूरपश्चिममा कहिले पुग्ला ?
समाचार छ, दुर्घटनामा घाइते भएका दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका नवीन विक उपचारका लागि हारगुहार गरेको थाहा पाएर सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतले आर्थिक सहयोग गरेका हुन् । घाइते बालक नवीनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशन भएपछि पृतनापती तथा उपरथी झंकरबहादुर कडायतले उपचारका लागि दशहजार आर्थिक सहयोग पठाइदिएका हुन् । 
पृतनापति उपरथी कडायतले सुदूरपश्चिम पृतना मुख्यालयमा नवीनकी बृद्ध हजुरआमामार्फत दश हजार रुपयाँ दिनुभएको स्थानीय नागरिक टेकबहादुर कामीले खुलासा गरेका हुन् । बस दुर्घटनामा नवीनकी आमा शशी विकले ज्यान नै गुमाएकी थिइन् ।
डडेल्धुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किदै गरेको बस दुर्घटना हुँदा १८ जना अन्यले ज्यान गुमाएका थिए भने २८ घाइते छन् । घाइते बालक नवीनका बाबु गएको ५ वर्षदेखि घर परिवारबाट सम्पर्क विहीन छन् । भारतमा काम गर्न गएका हजारौं सम्पर्क विहीन हुने गरेका छन् । यससम्बन्धमा सरकारले कहिले पनि अनुसन्धान गरेन, चासोसमेत देखाएन । दु:खको पहाडले थिचेको छ सुदूरपश्चिमलाई । सुदूरपश्चिममा अन्याय बढी छ, तिनलाई राज्यले न्याय दिन जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper