banner
banner

ओलीजी देश बनाउने आँट छ ?

धर्मरत्न श्रेष्ठ -
देश बनाउने आँट छ भने भ्रष्ट, बलात्कारी र हत्यारालाई छुट नदेउ । नारायणमान बिजुक्छेजस्ता सम्मानित नेताले निर्मला पन्तको हत्यारा प्रचण्डको संरक्षणमा छ, सार्वजनिक गरे ओलीको सरकार ढल्छ भनेर ठाडै आरोप लगाएका छन् । यस्ता आरोप खेपेर र खपेर बस्नु भनेको ओलीजीको ढाडमा हाड छैन भन्ने प्रष्ट हुनु हो । देश बनाउने भए कम्तिमा बलात्कारी र भ्रष्टलाई अभयदान नदेउ ।
गर्जेरमात्र के हुन्छ ? गर्जन त ओलीजी निकै गर्जन्छन् । दुई तिहाईको दम्भ पनि देखाउँछन् । गर्जन र दम्भ भनेको फोस्रो हुन्छ । देश बनाउने हो भने आफ्ना मन्त्रीहरु जो बेलगाम छन्, भ्रष्ट छन्, दुई थान वाइडबडी विमान किनेको मामिलामा ६ खर्ब भ्रष्टाचार भएको छ, ती भ्रष्टलाई छानबिन गर्न आयोग बनाएर ठाडो कारवाही गर, अनिमात्र तिम्रा सुशासन र समृद्धिको गर्जनको केही मानमनितो रहला । अन्यथा तिमी पनि उही कानै चिरिएका जोगी हौ । तिमी पनि दलालका घेरामा परेका रहेछौ भन्ने बुझ्नुपर्छ ।
् कसले अपराध गरिरहेछ, कसले अपराधलाई संरक्षण दिइरहेछ, कर्मचारी किन भनेको मान्दैनन्, कर्मचारी किन भ्रष्टाचारमुखी बनेका छन्, यी सबै कुरा नसुध्रेसम्म, प्रधानमन्त्री चोखो नभएसम्म देश बन्दैन । सपना देखेरमात्र के हुन्छ ?
बुद्धिजीवीहरु भन्छन्– 
१. प्रमाण मास्ने र निर्दाेषलाई यातना दिएर बलात् बकाउने तैपनि पक्राउ नपर्ने एसपी बिष्टसँग सरकारको रगतको नाता छ कि रकमको नाता छ ?
२. हत्याका कर्तृ वा साक्षी बम दिदीबहिनीलाई कहाँ लुकाको छ ?
३. प्रहरीले किन प्रमाण नष्ट गरे ? नष्ट गर्नेलाई दण्ड किन नदिएको ?
४. जबरजस्ती मृतकको लास किन जलाइयो ? जलाउने प्रहरीलाई किन छुट ?
५. अपराध गर्नेको मानवअधिकारको रक्षाको माँग प्रधानमन्त्रीले गर्ने हो ?
यी यस्ता पाँच प्रश्न हुन्, जसले सरकारलाई अपराधी ठहर गरिरहेको छ । ७७ जिल्ला आन्दोलित रहेको छ । यो मामिला यतिखेर विश्व मामिला बनिसकेको छ । नेपाल अराजक मुलुकको दर्जामा पुगेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भन्छन्
बिगतमा प्रहरीबाट जे जति गल्ती भए, कमजोरी भए ती सच्याउने काम हुनेछ, प्रहरी सच्चिने छ । आउने दिनहरुमा प्रहरीले सकभर गल्ती हुन दिनेछैन ।
उता कञ्चनपुरमा निर्मला पन्तका परिवार धर्नामा छन् । आमरण अनसन बस्दैछन्, बिरामी भइसके । तिनलाई न्याय दिने कुरामा, बलात्कारी र हत्याराका विषयमा आइजीपी केही बोल्दैनन् । उनको भाषाले भन्छ– पुराना कुरा किन गर्ने ?
त्यसो भए निर्मला पन्त र अन्य अन्यायमा परेकाले न्याय कहिले नपाउने ? बलात्कारी र हत्यारालाई अभयदान दिने आइजीपीको यो कस्तो कुरा हो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper