banner
banner

सर्वदाको शिशु गणतन्त्र र पू. राजा

स्वयम्भुनाथ कार्की -
पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइयो, त्यस घटनाको सशक्त विरोध नेपालको राजधानी काठमाण्डुमा शुरु भयो । सरकारले त्यो विरोध प्रदर्शनलाई कुन रुपले लियो त्यो त थाहा छैन , तर पाकिस्तानमा भन्दा कडा किसिमले त्यो विरोध प्रर्दशन रोक्न प्रशासन उत्रियो । विद्यार्थीद्वारा संचालित यो आन्दोलन जति दवाउन खोजियो त्यति नै उग्र हुदै गएको थियो । २०३३ सालमा वीपी स्वनिर्वासनवाट फर्केपछि पञ्चहरुमा को भन्दा को कम भनेजस्तो गरेर व्यबस्थाको साखुल्ले हुने बुद्धिविहिन होडवाजी शुरु भएको थियो । यो पञ्चायत इतरका शक्तिहरुको निमित्त उर्वरक समय भयो ।
त्यसैले विद्यार्थी आन्दोलन जति दमन गर्‍यो त्यति चर्किन लाग्यो । राजा विरेन्द्रलाई स्वभाविक रुपमा जनता राजी छैनन भने जनता केमा राजि छन त त्यही गरौं भन्ने सोच आयो र २०३६ साल जेष्ट १० गते जनमत संग्रह गर्ने घोषण भयो । निर्दलिय र वहुदलिय व्यबस्थाको विचमा रोज्नु पर्ने यो जनमत संग्रहमा प्रचारको निमित्त दलहरु माथिको प्रतिवन्घ आंशिक खुल्ला गरियो । प्रतिवन्धित शब्द अगाडी राखेर दलको अस्तित्व स्विकार गरियो । जसको कारण प्रतिवन्धितको स्थानमा प्र. मात्र भनेर दलको नाम लिन थालियो । 
जनमत संग्रहको परिणाम पछि पनि दलहरु माथि कानुनी प्रतिवन्ध रहे पनि प्र. राखेर दलको अस्तित्व देखाउन पाईने अनि कार्यसञ्चालन गर्न पाईने अवस्था कायम रह्यो । वरु पञ्चायतको विद्यार्थी संगठन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल प्रतिवन्धित मात्र भएन गुण्डागर्दीको पर्यायवाची शव्दको रुपमा मण्डले शव्द प्रयोग हुन थाल्यो । दलहरुले आफुले पाएको यो खुकुलोपनलाई जनसम्पर्क वढाउन प्रयोग गर्न थाले भने जनमत संग्रहमा पाएको जीतले पञ्चहरु भने जनतामा जानुको साटो जनता बोकेर ल्याउदै पञ्चर्‍याली गर्न थाले । जनतासंग सम्वन्ध कायम गर्नुको साटो आफुलाई जनताको मालिक सम्झेर जयजयकार गर्न तथा र्‍यालीमा भिड बनाउन जनतालाई प्रयोग गरिएको कुराले पञ्चायतको जनाधार खुस्कदै गएको दरवार वरिपरि घुमेर आफुलाइृ शक्तिशाली ठान्ने पञ्चहरुले पत्तै पाएनन् । जसले पनि यो सच्चाई बताउने प्रयत्न गर्‍यो त्यसलाई इतर भनेर दुत्कारियो यसरी आफ्ना पक्षकाहरुलाई जवरजस्ति विपक्षमा ठेल्ने बहादुरी गरेका महापञ्चहरु जनमत संग्रहको दश वर्ष पछि व्यवस्था नै साथमा लिएर ढल्न पुगे । 
६३को आन्दोलनले राजसंस्था पाखा लगायो । शुरुका दिनहरुमा खुल्ला रुपले राजसंस्थाको नाम पनि लिन नसकिने गरेर अघोषित प्रतिवन्ध लाग्यो । कुनै जमानामा दलहरुमा लागेको जस्तै प्रतिवन्ध राजसंस्थाले व्यहोर्न पर्‍यो , जो ‘हाम्रो राजा प्राणभन्दा प्यारो छ’ भनेर नारा लगाउने गर्दथे ती कट्टर राजसंस्था विरोधी भए । पञ्चायतमा लामो समय रजगज गरेर तर मारेका महापञ्चहरु मञ्चवाटै राजालाई तथानाम गर्न थाले । जनताले आस्था केही वचाएर राखेकै कारणले केही समय समाप्त नै भयो कि जस्तो लागेको राजतन्त्रले अगाडी पुर्व राखेर पनि आफ्नो अस्तित्व बाँकी छ भन्ने देखाउन पाएकोछ । यो सहज परिस्थिति आउने वित्तिकै कठिन समयमा दुलामा लुकेर बस्नुपर्ने हविगत बोकेकाहरु हत्त न पत्त बाहिर निक्लेर राजा हाम्रा मात्र हुन भन्ने जस्तो व्यवहार गर्न थालेका छन । 
यो सर्वदा शिशु रहने गणतन्त्रबाट जनता दिक्क भई सकेकाछन । गणतन्त्र दिवस मनाउने सरकारी उर्दी सरकारमा मात्र सिमित हुँदै गएको छ । अनिवार्य हाजिरी जनाउनु पर्ने बाहेक अरुले त्यसमा चासो नै दिन छाडेको कुरा हरेक गणतन्त्र दिवसमा नागरिक सहभागिताले प्रष्ट देखाएको छ । राजा भन्दछन् ‘ जनताले दिएको भुमिका र जिम्मेवारी बोक्न तैयार छु ’। जनता पनि केही आशले नै राजा तर्फ हेर्दै छ । तर जनताले आफु र राजा विच फेरी एक अदृष्य पर्खाल महशुस गर्न थालेको छ । केही बर्ष पहिले सम्पूर्ण निषेधमा परेका बेलामा राजा बरु जनताले आफ्नो नजिक पाएका थिए । तर आजको अवस्थामा राजा शक्तिमा भएको अवस्थामा उनलाई घेरेको घेरा भित्र पसेको महशुस जनताले गर्दै छ । 
आज शिशु गणतन्त्रको नखराले पिडित जनता विकल्प खोजि रहेको छ । यस विकल्प खोजीको क्रममा राजा बाहिर निक्लने वित्तिकै वरिपरि झुम्मिने गर्दछ । तर पञ्चर्‍यालीको शैलीमा केवल लाईन लाग्ने र जयजयकार गर्ने मात्र आफ्नो भागमा परेकोले जनता सशंकित छ, फेरी तिनै राजाको वरिपरि घेरा वनाएर वस्नेहरु कै हाली मुहाली हुने त हैन भनेर । दलहरुले प्र. लेखेर काम गर्न पाउने अवस्थाको उपयोग जनता विच आफ्नो कुरा पुर्‍याउन तथा दोहोरो सम्वाद कायम गर्न उपयोग गरे । तर पु. राजा भनेर आफ्नो गतिविधि गर्ने आंशिक स्वतन्त्रता पाएको संस्था भने त्यो सुविधाको उपयोग गर्न चुक्दैछ । निश्चय पनि एक पट्क कुना लगाई सकेको शक्ति फेरी आउँदा पहिले भन्दा भिन्न अवस्थामा आउने गर्दछ । यो तथ्य बुझ्नुको साटो राजा वरिपरि घेरा कसेर वसेकाहरु एकले अर्काको खोइरो खन्नमा समय वर्वाद गर्दैछन । जनता अझै त धैर्यपूर्वक व्यवहार परिवर्तन हुन्छ कि भनेर पर्खेर वसेको छ । तर आखिर कहिलेसम्म......।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper