banner
banner

सक्षम र इमानदार छानौं

अधिवक्ता गंगा दाहाल - 
प्रशासन होस् कि राजनीति, दुबै क्षेत्रमा सक्षम र इमानदारको छान्न जरुरी छ । अनेक प्रभाव र दबाबको भरमा भ्रष्ट र नैतिकहीनलाई अवसर दिदा देशको यो बेहाल हुनपुगेको हो । अव चेत्नुपर्छ । ठूला ठूला सपना देख्नेले सपना साकार पार्न भ्रष्टको भाषण र नैतिकहीनको चाप्लुसीमा सम्भव छैन भन्ने बुझ्नुपर्छ । जब सक्षम र इमानदारले अवसर पाउँछ, उसले यसरी चमक ल्याउँछ । यो देशको चमक हो, इमान र सक्षमताको चमक हो । देशलाई यस्तै चमकको खाँचो छ ।
१८ घण्टा लोडसेडिङ बेहोरेका हामीलाई यसपालीको दशैं तिहारमात्र होइन, देश लोडसेडिङ मुक्त भयो भन्दा खुशी लागेको छ । दशैं जसरी उज्यालोमा बित्यो, तिहार पनि यसरी झलमल्ल भएर बित्यो । अहिले लोडसेडिङ छैन, बत्ती नभएर कसैका घरपरिवार, बन्दव्यापार, उद्योगधन्दा नचलेको समाचार आउन छाडेको छ । एकजना असल प्रशासक भयो भने एउटा संस्था कति सहज र सक्षम रुपमा चल्ने रहेछ भन्ने उदाहरण बनेका छन् कूलमान घिसिङ । आज देशलाई कूलमान घिसिङजस्ता प्रशासक चाहिएको छ । सपना देख्ने प्रधानमन्त्रीले यस्ता प्रशासक र नेताहरु छान्न सक्ने र तिनलाई जिम्मेवारी दिने हो भने देश यसैगरी झिलीमिली हुनसक्छ । देश यसैगरी उज्यालो बन्दै समृद्धशाली बन्नसक्छ ।
हुन त यो झिलीमिली देशको उत्पादन होइन । भारतबाट किनेको बिजुली र चीनबाट ल्याएका बत्तीको झिलीमिली हो । दशैं यसैगरी चम्किलो भएको थियो, तिहारको चम्किलो पनि यही हो । यो चम्किलोपन नेपालकै बिजुली र नेपालकै बत्तीबाट पनि सम्भव छ । यसका लागि सपना देख्नेले सक्षम व्यक्तिहरु चयन गर्नुपर्‍यो, उद्यमीहरुलाई उत्साही पार्नुपर्‍यो, विदेशी लगानीलाई के कसरी नेपालमा आकर्षित गर्न सकिन्छ, यसका नीति र सुविधाहरुको घोषणा गर्नुपर्‍यो । तवमात्र सुशासन र समृद्धी आउनसक्छ । सपना साकार पार्न उचित निर्णय आउनुपर्‍यो ।
इमानमा बस्ने र क्षमतावानलाई जिम्मेवारी दियो भने परिणाम चम्किलो हुनेरहेछ । बेइमान, अयोग्य व्यक्तिलाई राज्य र जनताको सम्पत्ति दुरुपयोग गर्ने अवसर दियो भने देश कसरी कंगाल बन्दै जाने रहेछ । हामीले उदाहरण देखिसक्यौं । काम गर्ने काम गर्छ, बोल्दैन । बोल्ने काम गर्दैन, धेरै बोल्छ । अव पनि सक्षम र इमानदार प्रशासक र नेताहरुको चयन गर्न अवेर गर्ने ? अवेर गर्नु भनेको समृद्धी र सुशासनलाई पर पर धकेल्नु हो । यसरी सपना साकार हुनसक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper