banner
banner

यस्ता प्रश्नको के जवाफ हुन्छ र ?

स्वयम्भुनाथ कार्की -
एउटा सन्तानले कुनै वेला आफ्नो बाबुआमा सामुन्ने गएर यत्रा बर्षमा तिमीहरुले मेरा निमित्त के गर्‍यौ र,  तिमीहरुले केवल मलाई दुव्र्यवहार गर्‍यौ, मेरो शोषण गर्‍यौ भनेर भन्यो भने ती बाबुआमासंग यसको के जवाफ होला त ? जवाफ भएर पनि ती बाबुआमा नाजवाफ भएर चुपचाप सन्तानको त्यो लान्छना सहन वाध्य हुन्छन । उनीहरु हामीले तिमीलाई जन्मायौ भन्न सक्दैनन्, तिम्रो पालन पोषण गर्‍यौ भन्न पनि सक्दैनन, यहाँसम्म कि तिमीलाई शिक्षा दिक्षा दियौ वा दिलायौ भनेर पनि भन्न सक्दैन । यसको अर्थ यो हैन कि बाबुआमाले त्यो सन्तान जन्माएकै होईनन, पालन पोषण गरेका थिएनन वा शिक्षादिक्षा  दिएका होईनन ।
यति हुँदा हुदै पनि यी प्रश्नहरु अनुत्तरित हुनुको कारण वास्तवमा यी प्रश्न होईनन लान्छन हुन । कुनै पनि जवाफको प्रमाण मागिने छ अनि कसैले पनि भोली प्रमाण दिनु पर्ला भनेर सन्तान उत्पादनदेखि खुट्टा टेकाउने सम्मको काम गर्दा साक्षी प्रमाण राख्दैन वा सन्तानको सामुन्ने साक्षी प्रमाण पेश गर्दैन । अनि भोली यो प्रमाण पेश गरेर सन्तानसंग आफ्नो योगदानको कदर मागुँला भनेर सन्तानको भरण पोषण गर्दैनन् । यदि बाबुआमाले नानी तिमीलाई हामीले जन्म दियौं भनेर भनेमा त्यो उरन्ठेउलो सन्तानले फर्काउने ओठे जवाफ उनीहरुलाई राम्रेरी थाहा छ । त्यो सन्तानले भन्ने छ ‘के मैले तिमीहरुलाई मलाई जन्माई देउ भनेर दरखास्त हालेको थिएँ र ? तिमीहरुको यौन आवेग सन्तुष्टिको क्रममा त म जन्मेको हुँ । मलाई जन्माउने तिमीहरुको आशय थिएन । म त केवल तिमीहरुको यौनावेगको शिकार हुँ ।’ 
त्यसैले यो अर्को लान्छना सुन्नु भन्दा बरु चुपचाप पहिलेकै लान्छना सहनु बाबुआमाको बाध्यता हो । तिम्रो पालन पोषण गर्‍यौ भनेर भन्यो भने पनि अर्को ओठे जवाफ तैयार नै हुने छ । ‘के को पालन पोषण नी मेरै उमेरको फलाना हेर त, उसंग के छैन ? कस्ताकस्ता राम्रा पोशाक लगाउछ, कस्तो मिठो खान्छ । उसको बोली भुइमा झर्न पाएको छैन उसका बाबुआमाले त्यो वस्तु तुरन्त दिन्छन । तिमीहरुले मलाई गरिवी ,अभाव वाहेक के दियौ र पालन पोषणको धक्कु लगाउँछौ । जे गर्‍यो गाल टार्न र हाम्रो पनि सन्तान छ भनेर अरुलाई देखाउन ज्यानसम्म धानेका हौ ।’ 
त्यसैले यस्ता प्रशहरुको जवाफ दिईदैन । आफ्ना शुरुवाती कुरामा बाबुआमा मौन रहेपछि त्यो सन्तान आफुमाथि बाबुआमाले अन्याय गरेकै भनेर अझ उग्र हुन्छ । आफ्ना दाजु दिदी वा भाई बहिनीसंग र आफुसंग बाबुआमाले गरेको व्यवहारमा भेदभाव देख्न थाल्दछ । विद्रोह जन्मन्छ , त्यो सन्तान क्रान्तिकारी हुन पुग्छ । त्यस्तालाई उकास्ने प्रसस्त जारेीपारी हुन्छन । बालकालमा त तँलाई तेरा बाबुआमाले यस्तो गर्दथे उस्तो गर्दथे भनेर उकास्छन । संभव छ कसैकसैले त त ती बाबुआमाको सन्तान नै होईनस फलान वा चिलानाबाट तँलाई ल्याएको भनेर समेत भन्लान । कुनै किस्सा कहानी गढेर त्यस कुराको प्रमाण भनेर सुनाउलान पनि । उसको बाबुआमासंग विद्रोह गर्ने साहसको प्रसंशां पनि गर्लान । तर कालान्तर र उ आफै बाबुआमाको भुमिकामा पुग्नेछ उसंग पनि उसका सन्तानले त्यही प्रश्न सोध्ने छन त्यसवेला उसले पनि आफ्ना बाबुआमा जस्तै नाजवाफ हुनु पर्ने छ । 
आजको नेपालमा यहि भईरहेको छ, देशलाई गाली गरेर, विगतको उछित्तो काढ्ेर क्रान्तिकारी बन्ने धुन सवार भएको छ । संगसंगै भएको अरु राष्ट्रहरु कहाँको कहाँ पुगिसके तर विगतकाले शोषण, दमन, उत्पिडन गर्नाले मुलुक चरम गरिवीमा छ भन्ने स्वरहरु प्रवल हुदै गएका छन । दमन वा उत्पिडन नै थिएन भन्न विल्कुलै खोजिएको हैन । समकालन इतिहासमा विश्व खोज्ने हो भने सर्वत्र दमन उत्पिडनको युग आएकै थियो । काँही कम वा काँही ज्यादा दमन उत्पिडन भएकै हो । अफ्रिकी मुलुकहरुवाट हव्सीहरुलाई पशुसरह बाँधेर ल्याएर लिभरपुलमा पशु हटिया सरह दास हटिया लागेकै हो । जुन वेला यतातिर वेलावेलामा महिलाहरुले प्रत्यक्ष वा परोक्षरुपमा शासन सम्हाल्दै थिए त्यतिखेर अमेरिका तिर महिलालाई मतदानको अधिकार पनि थिएन । 
श्रीलंकामा लामो द्वन्दको विचमा पनि अर्थिकमन्दी भएन, भियतनामले अमेरिकाससंग युद्ध लड्दा लड्दै पनि प्रगति गुमाएन । तर , नेपालमा भने प्रजातन्त्रको पुनस्र्थापना भनिएको वहुदलिय व्यबस्था पुन कायम भएपछि जन्मेकाहरु पनि सन्तानका बाबुआमा भई सके । गणतन्त्र भनेर राजालाई पाखा लगाए पछि जन्मेकाहरु स्कुल जान थालिसके, इन्रटरनेटमा संसार घुम्नथाली सके । अब राजतन्त्रले शोषण गरेर नेपाल विपन्न भएको भनेर मात्र काम चल्दैन, अब राजतन्त्रको बदला काम वा शोषण गर्ने स्थानमा तिनै छन् जसले राजतन्त्रलाई निरंकुश, सामन्ती भन्थे । 
अब यो प्रश्न उनीहरुलाई नै आउने समय भई सक्यो तिमीहरुले के दियौ त ? संक्रमणकाल , अस्थिरताको कुरा गर्ने हो भने यसभन्दा धेरै अस्थिर भएका मुलुकमा प्रगति भई रहेको छ । नेपालको इतिहासमा सबैभन्दा लामो स्थिरता भएको अवधीलाई अहिलेको अस्थिरताले अवधीले जित्न लागि सक्यो । अस्थिरता भनेर राजतन्त्रले धर पाएन भने अहिलेकाले पनि धर पाउन्न । हिजोका सत्ताधारीहरुलाई गाली गर्नेको जमात अहिले आफै त्यो भन्दा ठुलो गाली खाने संघारमा पुगेको छ । विगतका तीस वर्षमा नेताहरुले जनता र मुलुकलाई के दिए । भोकमरीको चपेटामा परेर तन्नम भएको मुलुक इथोपियाले नेपालीलाई रोजगार दिएको छ भने खै नेपालीलाई नेपालमा रोजगार ? संक्रमणकाल तिम्रै मजाको निमित्त हो संक्रमणकाल भनेर जनताको हक खोस्न मिल्दैन । त्यसैले अब होसियार वेलैमा चेत खुलोस यहि कामना छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper