banner
banner

राष्ट्रको अस्तित्व नागरिकको मुटुमा हुन्छ

स्वयम्भुनाथ कार्की -
बहस धेरै गर्ने गरिन्छ राष्ट्र राष्ट्रियताको बारेमा । राष्ट्र प्रति त्यसका नागरिकहरु सबैको माया हुन्छ नै, कसको माया ठेलो र कसको माया सानो भनेर तुलो, माना पाथि इन्चफुटले नाप्ने कुरा पनि हैन, नाप्न पनि सकिन्न र नाप्ने कुरा गरेर मानिसको अपमान गर्न त विल्कुलै हुदैन । यो अटल सत्य हुँदाहुँदै यो आलेखको प्रयोजन के हो त भनेर कसैले सोध्यो भने त्यो अनुचित विल्कुलै हैन । सामान्यतया राष्ट्रलाई त्यसले चर्चेको भुभाग, भौगोलिक अबस्थितिमात्र मान्ने गरिन्छ त्यसैले त फलाना छिमेकीले सिमाना मिच्यो त्यसैले राष्ट्रियता खतरामा छ भनेर भन्ने गरिन्छ । भौगोलिक क्षेत्र राष्ट्र हुनको निमित्त आवस्यक हुने एक तत्व हो । यो कुरा सर्वस्विकार्य  तथ्य हो । तर के भौगोलिक क्षेत्रले मात्र राष्ट्र हुन सक्छ त ? यो यक्ष प्रश्न हो जसको उत्तर दिने हिम्मत कसैमा छैन, यदि कसैले यसको उत्तर खोज्ने प्रयत्न गर्‍यो भने त्यसले व्यहोर्न पर्ने क्षतिको अनुमानसम्म पनि गर्न कठिन छ ।
कसै कसैको सोचाईमा राष्ट्र भौगोलिक क्षेत्र संगसंगै त्यहाको रितिरिवाज, परंपरा , जीवन पद्धति , संस्कृति आदि पनि हुन भन्ने पाइन्छ । यो कुरा पनि सत्य नै हो तर सम्पुर्ण भने हैन । यी सबै राष्ट्रको अस्तित्व राख्न आवश्यक पर्ने साधनहरु हुन । राष्ट्र यी मध्ये कुनैको अनुपस्थितिमा पनि कायम रहन सक्छ भनने कुरा अनौठो लागे पनि असत्य हैन । यसको बलियो उदाहरण दोश्रो विश्वयुद्ध पछि आफ्नो भौगोलिक क्षेत्रको अस्तित्व गुमाएको प्यालेष्टाइन नै छ । प्यालेष्टाइनीहरुले लामो समयसम्म आफ्नो राष्ट्र आफ्नो मुटुमा राखे र अन्तत: आफ्नो राष्ट्र राख्ने भूगोल प्राप्त गरिछाडे । यसक्रममा उनीहरुले के के गुमाउनु पर्‍यो के कस्तो संघर्ष गर्नु पर्‍यो त्यो एक ठेलीमा पनि अटाउँदैन । त्यो गाथाका कयौं ठली लेखिईसके र अझ कयौं लेखिने छन ।
कुनै पनि मुलुकको राष्ट्रियता त्यस मुलुकको भुगोलमा भन्दा त्यसका नागकिहरुको मुटुमा बसेको हुन्छ । रिति रिवाज वा भेषभूषा पनि कहिले काही गौण बन्दछन् । यदि यस्तो नभएको भए हमेशा टाईसुटमा ठाट्टीन रुचाउने कुनै पनि नेपालीलाई नेपाली हुनको भावना आउने थिएन । भुगोलले मात्र राष्ट्रियता हुने हो भने विदेशमा बसेकाहरुले आफ्नो राष्ट्रियता विर्सेका हुने थिए । तर यस्तो विल्कुलै छैन, बरु उल्टै परागत भेषभुषमा रहने, आफ्नो भाषा बोल्ने अनि आफ्नै भुभागमा बस्ने भन्दा ज्यादा उनीहरु राष्ट्रको खुशीमा रमाउछन, राष्ट्रको दुखमा आंशु झार्छन । हमेशा आमाको समिप रहनेलाई भन्दा आमाभन्दा टाढा भएकालाई आमाको महत्व धेरै हुन्छ । कसैको सुशुप्त राष्ट्रप्रेम अर्काको मुलुकमा गए पछि जाग्रत हुन्छ । जुन दिन वा जुन पिंढीदेखि उसको मनमा आफ्नो मुलुक भन्दा बसेको मुलुक प्रति ज्यादा माया पलाउछ त्यस वेलादेखि उसको राष्ट्रियता बदलिन्छ । हरेक व्यक्तिले बोकेको कुनै पनि मुलुकको नागरिक भएको प्रमाणपत्रले उसको मनमा भएको राष्ट्रियताको नै प्रतिनिधित्व गर्छ भन्ने आबश्यक हुदैन । जर्मनहरुको मुटुमा भएको जर्मनी राष्ट्रियताले नै बर्लिनको पर्खाल ढाल्यो जुन पर्खाल मित्रराष्ट्रहरुले दोश्रो विश्वयुद्ध पछि जर्मनहरुले फेरी टाउको उठाउन नपाउन भनेर लगाएका थिए । तर यस्तै उदाहरण उत्तर र दक्षिण कोरिया विच देखा परेन किन भने ती दुबै मुलुकका नागरिकहरुको मुटुको कोरियन राष्ट्रियतालाई उत्तर र दक्षिण कोरियाको राष्ट्रियताले प्रतिस्थापन गरिसकेको छ । सिक्किम भारतिय संघमा गाभिदा सिक्किमेलीहरुलाई कुनै असहज भएन, तर कास्मिर भारतमा भएको नरुचाउने कश्मिरीहरुको अहिले पनि उपस्थिति छ । यस्ता अनेक उदाहरणहरु छन् जसले ढोल पिटेर भन्छन् राष्ट्र नागरिकहरुको मुटुमा बसेको हुन्छ, त्यस मुलुकको सरकारले दिएको नागरिकताको प्रमाण पत्रको कुनै आबश्यकता छैन । 
मान्छेको मुटुमा जुन राष्ट्र बसेको छ उ त्यस राष्ट्रले आफुलाई के दियो भनेर नखाजि त्यसको माया गरिरहेको हुन्छ , जुन राष्ट्रको विधि कानुनले नागरिक भएको हुन्छ त्यसबाट भने हमेशा राष्ट्रले आफुलाई के दियो भनेर खोजी रहेको हुन्छ । मुटुमा बसेको राष्ट्रको हितचिन्ता निस्वार्थरुपले गरको हुन्छ भने प्रविधिकरुपले नागरिक भएको राष्ट्रबाट हमेशा केहि लिन खोजीरहेको हुन्छ । यो कसैमा हुने वा कसैमा नहुने भन्ने कुरा हैन हरेक मान्छेमा रहने स्वभाविक गुण हो । आधुनिक युगको शुरुवातसम्म पनि कुनै राष्ट्र बन्ने कुनै राष्ट्र समाप्तहुने प्रकृया स्वभाविक चलि नै रहने गर्दथ्यो । एक देशको बासिन्दा अर्को देशमा जाने मात्र हैन एक मुलुकको शासकले त्यो मुलुक छोडेर अर्को मुलुकमा शासक भएका उदाहरणहरु पनि इतिहासमा प्रसस्त पाईन्छन । मुलुक बन्ने र समाप्त हुने यो प्रकृयाको अति नै न्यून भए पनि यो युगमा पनि उपस्थिति छ ।
कसैले केही भनेर गरेर न राष्ट्र एक भएर बस्छ न टुक्रेर जान्छ । नागरिकको मुटुमा जहिलेसम्म त्यो राष्ट्र बस्छ तबसम्म त्यसको अस्तित्व रहन्छ । अमेरिकाको शहरको अनकनटारमा बसेका नेपालीहरु जुनठाउमा नेपाली भएर नेपाल राष्ट्र मुटुमा राखेर जम्मा हुन्छन् त्यो ठाउमा वैधानिक जुुन राष्ट्र भए पनि नेपाल राष्ट्र प्रकट भएको हुन्छ । नेपालको कुनै भुभागमा यदि कुनै मुलुककाहरु मुटुमा आफ्नो राष्ट्र राखेर बस्छन् भने त्यहाँ उनीहरुको राष्ट्र नै प्रकट भएको हुन्छ । त्यसैले नेपालको राष्ट्रियताको रक्षा गर्नु भनेको नेपाल राष्ट्र बोक्ने मुटुको रक्षा गर्नु हो । जसले पनि आफ्नो मुटुमा नेपाल राष्ट्र बोक्छ त्यो नै नेपाल राष्ट्र हो । नेपाल भाग्यमानी राष्ट्र हो,े यसका सबै नागरिकले आफ्नो मुटुमा नेपाल बोकेका छन । जसले आफ्नो मुटुमा नेपाल बोकेका छैनन् ती नेपाली नै होईनन् भने तिनको चिन्ता गनुृको साटो शुभकामना दिन उपयुक्त हुन्छ कि आफ्नो मुटुमा बोकेको राष्ट्रियताको भलो गर्न सकुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper