banner
banner

नेपालमा शाहबंशले कति हालीमुहाली गरे ?

स्वयम्भुनाथ कार्की -
जंगबहादुरले स्थापना गरेको राणा शासन एकसय चार बर्षसम्म थपनाको राजा थापेरै कायम राखिएको थियो । राणा शासनको अन्त्य पछि नेपाली कांग्रेसले फेरी राजालाई थपना नै राख्न चाह्यो । यो कुरा पाुच बर्षमै राजा भएका त्रिभुवनको निमित्त सामान्य नै थियो । तर, संभवत महेन्द्रलाई पाच्य भएन । नेपालमा देशको सम्पुर्ण वागडोर आफ्नो हातमा लिएर सत्ता चलाउने शाह वंशीय राजा केवल चार बटा मात्र भए । दुई हजार त्रीसठ्ठी सालबाट राजालाई पाखा लगाउने अभियान शुरु भएर मुलुक गणतन्त्र घोषित भएको छ ।
नेपालको एकिकरणको नेतृत्व गर्ने पृथ्वि नारायण शाहले आफ्नो सम्पुर्ण कार्यकाल भरि नै आफ्नै हातमा शासनको वागडोर राखे । उनको कार्यकालको सबैजसो हिस्सा एकिकरण अभियानमा नै खर्च भयो । तथापि आगामी शासकको निमित्त मार्ग दर्शनको रुपमा केहि उपदेश छोडेर गए । उनको आत्मकथा शैलीमा टिपेर प्रकाशमा आएको दिव्य उपदेशले धेरै कुरा भन्छ । तर देशको एकिकरण नै शोषक तथा सामन्ति कदम थियो भनेर भन्न उत्प्रेरित गर्ने अहिलेका हालीमुहाली गर्ने दलहरुको दृष्टिकोणले गर्दा कुनै भुभाग नेपाल नै होईन नेपालले उपनिवेश बनाएको भन्ने आवजहरु बाक्लिन थालेका छन । यही क्रम रहने हो भने नेपाल अखण्ड रहोस भन्नेहरु दण्डित हुने अवस्था हुन सक्छ । त्यसवेला संभवत यसलाई दिव्य उपदेश नाम दिनेहरु दण्डित हुने छन् ।
बडामहाराजले जितेको वा एकिकरण जे भने पनि गरेको नेपालमा उनका सन्तानहरुले नेपालमा कति हालीमुहाली गरे त्यो रोचक छ । पृथ्वि नारायण शाहका छोरा प्रताप सिंह शाहले केवल दुई बर्ष सत्ता सम्हाले र आफ्नो हातमा शासनको वागडोर राख्ने दोश्रा शाहवंशिय राजा भए । दुई बर्षका काखे बालकलाई थपना राखेर आफु संसारबाट बिदा लिए । यो नै नेपालमा  शिशुराजाको आरम्भ थियो । राजमाताको नाममा राजेन्द्र लक्ष्मी र काका बहादुर शाहले नै राजाको नाममा वास्तविक सत्ता सम्हाले । यो आलंकारिक राजाको पनि शुरुवात थियो । गिर्वाणयुद्ध विक्रम शाह पनि सानैमा राजा भए । बालक राजाको थपना राखेर भिमसेन थापाले लामो समयसम्म मुलुकमा हाली मुहाली चलाए । राजपरिवार भन्दा बाहिरका भएर पनि मुलुकमा हालीमुहाली चलाउने उनि पहिला व्यक्ति हुन पुगे । 
त्यस पछि राजेन्द्र विक्रम शाहले पनि सानैमा राजाहुने परंपरा थामे । आफुले त आफ्नो करिब एकतीस बर्षिय कार्यकालमा बागडोर लिन सकेनन् । श्रीमतीलाई शासन सुम्पिन पुगे । उनकै कार्यकालमा नेपालको ईतिहासमा थापा र पाण्डेको आपसी कलहले मुलुक नै हल्लाउन पुग्यो । भिमसेन थापा, रण जंग पाण्डे, माथवर सिंह थापाहरु रानी राज्य लक्ष्मीलाई रिझाएर सत्ताको बागडोर आफ्नो वरीपरी राख्न सफल भए । एउटाको अद्धभुदयमा अर्काको जरो उखेल्ने पाण्डे र थापाको प्रवृत्तिले गर्दा रानीको आज्ञाले आफ्नो मामालाई गोली ठोकेर जंगबहादुरले आगामी शतव्दिसम्मको निमित्त राणा शासनको जग हाले । 
आफ्ना बाबुलाई सत्ता छोडन लगाएर सोह्र बर्षैमा शासन समाल्ने सुरेन्द्र विक्रम शाह पनि किशोरावस्था मै राजा भएका हुन । किशोर राजा रिझाएर आफ्नो निमित्त श्री ३ को पदवि सहित महाराज भनाउन सफल हुन जंगबहादुर राणाको निमित्त कुनै कठिन काम थिएन । युवराज त्रैलोक्य विक्रम शाह जवान भई सकेका थिए । पकडमा राख्न आफ्नो भाईको छोरीहरुसंग बिवाह गराउदा पनि उनलाई अचेट्न जंगवहादुरलाई हम्मेहम्मे परेको थियो । तर गद्धिमा चढन भन्दा पहिल्यै भएको उनको शंकस्पद मृत्युले राणा शासनको जग मजबुत गर्‍यो भने रणबहादुर शाहदेखी आरंम्भ भएको थपना राजतन्त्रबाट शाहवंश मुक्त हुन पाएन ।
त्यस पछिका पृथ्वि वीर विक्रम शाह तथा त्रिभुवन विर विक्रम शाह शिशु राजा नै भए । तर हजुर बुबा त्रैलोक्य विक्रमको सोच त्रिभुवनमा आउँदा थपना राजा हुनुले उनको मन पोलेको हुनु पर्दछ । उनि राणाको चंगुलबाट मुक्त हुन चाहे , त्यसको निमित्त कोशिस गरे अनि सफल पनि भए । उनको यो सफलतामा लुकेरै भएको भए पनि भएको जनतासंगको सम्पर्कको महत्व छ । त्रिभुवनलाई राजकाज भन्दा राणहरुको अपमानजनक नियन्त्रणबाट फुत्कन जुन मोल पनि चुकाउन तैयार थिए । 
युवा महेन्द्र विर विक्रम शाहले गद्धि समाल्दा मुलुक संक्रमण कालमा थियो । छ बर्षको दलहरुको खिचातनी पछि आफ्नो हातमा मुलुकको वागडोर लिन उनि सफल भए । त्यस पछिका एघार बर्षको शासन कालमा मुलुकको अन्तरराष्ट्रिय चिनारी, देशमा औद्योगीकिकरण, र विकासका पुर्वाधार बनाउने जस्ता काम आज कसैलाई मन परे पनि नपरे पनि भएका छन । 
युवा विरेन्द्र विर विक्रम शाहले आफ्नै स्वेच्छाले वागडोर आफ्नो हातमा राखेनन् । शासनकालको पुर्वार्धमा रानी ऐश्वर्यको हातमा र उत्तरार्धमा संवैधानिक राजा भएर दलको हातमा शासन सुम्पन पुगे । उनले राजकाजमा कठिन मेहेनत गर्ने आफ्ना बुबा राजा महेन्द्र भन्दा मान खाएर काम नगरी बस्न पाउने रानी एजिवावेथ पछ्याउन उपयुक्त माने । उनको शासनकाल सकृय राजतन्त्रको युग भनिएको २०२८ देखि २०४७ सालसम्म ऐश्वर्यको शासनमा प्रत्यक्ष हाली मुहाली देख्नेहरु जीवितै छन । उनको हत्या भए पछि राजा भएका ज्ञानेन्द्र विर विक्रम शाह शाहवंशमा दोश्रा महिला छोरा र पहिला प्रौढ अबस्थामा गद्धि चढने राजा हुन् । आफ्नो शासनको उत्तरार्धमा पुग नपुग दुई बर्ष मुलुकको बगडोर आफ्नो हातमा लिए । त्यस पछि जनताको कदर गर्दै राजतन्त्र समाप्त गर्ने दलहरुको फैसलालाई शिरोधार्य गरे ।
यसरी राजाहरुले आफैले सत्ताको बागडोर थामेको जम्मा चौबीस बर्ष मात्र हो । राज परिवारका सदस्यहरु समेतले वागडोर थामेको गणणा गर्ने हो भने पेैसठ्ठी बर्ष ईतिहासले देखाउँछ । बाुकी एकसय पचहत्तर बर्षको हिसाब पनि अहिलेका अगुवाले खोज्नु नै पर्दछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper