banner
banner

स्थिरताको आशा नगरौं

शाश्वत शर्मा -
बिदा कटौती भए पनि आजबाट दशैं सकिदैछ र राजनीति पुरानै लयमा फर्कदैछ । दशैंमा राजनीति खुब गर्मायो । ज्ञानेन्द्र शाहले अष्टमीमा गरेको पीठहरुको दर्शनमा नागरिकले गरेको स्वागत अथवा उनले दिएको शुभकामना सन्देशभित्रका मर्म, राजनीतिलाई गरम बनायो । टीका दिन निर्मल निवासमा दशौं हजारको भीड देखिनु र शितल निवास र बालुवाटारमा पातलो उपस्थितिले पनि कम्युनिष्ट राजनीति पातलिएको अनुभव गरियो ।
झ्वाँकी प्रधानमन्त्रीलाई झोक चलेछ, फर्मान जारी गरे, चतुर्दषीसम्मै टीका लगाइदिन्छु । यसलाई राजनीति र अन्य समुदायले समेत नवसामन्तवादी भन्ने टिप्पणी गरे । दुईतिहाईका प्रधानमन्त्री किन टेर्थे, उनले अनौठो प्रचलन सुरु गरिदिएका छन् ।
भारतले नयाँ हवाई रुटको अनुमति दिएन, मन्त्रीहरु बदनाम भए, फेरबदलको चर्चा छ । गृह र अर्थमन्त्री नै फेर्ने कुराले राजनीति तातेको छ । नेकपाको तल्लोस्तरसम्म माओवादी र एमालेको एकीकरण हुन नसक्नु पनि राजनीतिको विषय नै हो ।
सुरु गर्ने भनेर प्रचार गरिएको हिन्दुवादी आन्दोलन, मधेशसँग गरिएको सम्झौता कार्यान्वयन गर्न संविधान संशोधनका कुरा, ओली सरकारका विरुद्ध गरिने आन्दोलनका विषय पनि अव छठपछि भनेर सर्दै गएको छ । तथापि नेकपाको तल्लो स्तरसम्म मिल्न नसक्नुले पार्टी टुक्रिन सक्ने खतरा पनि भनिएको छ । यसैवीच प्रचण्डले वामदेवलाई उफारे, ओलीले थचारे । त्यसो त मनको लड्डु खानेहरु संख्या पुर्‍याएर कांग्रेसको सहयोगम प्रचण्ड सरकार बन्ने खयाली पुलाउ पनि पकाइरहेकै छन् । प्रचण्डको दिल्ली तीर्थयात्राले पनि यो हावा बढी चलेको हो र चीनले प्रचण्डलाई खासै महत्व नदिएपछि त यो हावा हुरी बनेको छ । यसरी विश्लेषण गर्नेहरु ओलीको दुई तिहाईको सरकार तरवारको धारमा रहेको र कुन बेला कुन प्रकारको आँधी चल्ने हो भन्न नसकिने बताउँछन् ।
त्यसो त सरकार विरुद्ध मुद्दाको कमी छैन । सत्तारुढ दलभित्रै कहिले खुलेर त कहिले दबेर ओली सरकारका विरुद्ध आवाज उठिरहेकै छ । भन्नुपर्दा मुलुक अस्थिरतामा छ ।
संविधान कार्यान्वयनको दिशामा अघि बढीसक्यो, संघीयता संस्थागत भइसक्यो  भन्ने दावी गरिए पनि त्यो सही होइन ।  संविधान दुर्घटनामा परिसकेको छ । सरकार असफल भइसक्यो । जनताको मत पाएर पनि जनताको विश्वास गुमाइसकेको छ । अनेक विवाद छन्, विवादमाथि विवाद थपिदो छ, यो सरकारले गोलमेच सम्मेलन गरेर राजनीतिक शक्तिहरुसँग वार्ता नगरेसम्म स्थिरताको कुरा कल्पनामात्र हो ।
यो सरकारले आफै संविधानबाट बाँधिन मञ्जुर गरेको छैन । यस्तो सरकारले जनतालाई कुनै पनि तरिकाले बाँध्नसक्छ भन्नु नै गलत हो । खासगरी मधेशमा सीके राउत, केन्द्रमा ज्ञानेन्द्र शाहको असन्तुष्टि र विप्लवको भिन्न मत यो सरकारका लागि ठूलो चुनौती हो । त्यसमाथि हिन्दुराष्ट्र अर्को राष्ट्रिय मुद्दा हो । ज्ञानेन्द्र शाहले ‘सबै परिवर्तनहरु उपलव्धिमुलुक हुँदा रहेनछन्’ भन्ने अभिव्यक्ति मुङ्ग्रो प्रहार नै हो । राजनीतिभित्रको राजनीति बुझ्नेहरु भन्छन्– अव यस्तो अवस्था धेरै दिन नरहन सक्छ । अव प्रश्न संविधानको कार्यान्वयन मात्र छैन, मुलुकको अस्तित्वको आइसकेको छ ।
मधेश अलग देश हो भनेर जुन प्रदर्शन भयो, यो चानचुने कुरा होइन र यतिसम्मको प्रदर्शनमा पनि सरकारले हेरिरहनु यो सरकारको असक्षमताको प्रमाण हो । यतिमात्र होइन, संविधानको सपथ खाएर पदमा बसेकाले संविधानमा आगो लगाए, संविधान दिवसलाई कालोदिवस भनेर मनाए, यो सब प्रधानमन्त्रीका लागि बलिउडको नयाँ फिल्म रिलिजभन्दा बढी केही हुनसकेन ।
देशको सवालमा पनि यतिसम्मको संवेदनहीनता । यस्तो सरकारले पाएको छ दुई तिहाईको बहुमत । जुन सरकारले राष्ट्रिय महत्वका विषयमा केही गर्न सक्देन, राष्ट्रलाई चुनौती दिनेमाथि कारवाही गर्नसक्दैन, त्यस्तो सरकार हुनु र नहुनुमा के नै फरक छ र ?
नेपालको इतिहासमा यस्तो राष्ट्रप्रति गैरजिम्मेवार सरकार आजसम्म थिएन । बरु मरीचमान सिंहको सरकार देशभक्त थियो । केपी ओलीले भारतीय नाकावन्दीका बेलामा अडान लिनेबाहेक केही गरेनन् । त्यसैको बलमा चुनाव त जिते, चीनसँग केही सम्झौताहरु गरेका छन् तर भारतले जुन प्रकार र प्रकृतिका हस्तक्षेपहरु बढाइरहेको छ, त्यसमा यो सरकार चुँ बोलेको छैन । यो सरकार हो कि भारतीय दाजुको बसमा परेको पात्र ? नेपालीको मत लिएर शासक बन्ने, नेपालको हितका बारेमा नबोल्ने सरकारका कारण ठूलै समस्याहरु राष्ट्रले भोग्नु परिरहेको छ । यो दुर्भाग्य हो ।
सौभाग्य आउने आशामा दलहरुले जे जे निर्णय गरे पनि सहदै आएका आमनागरिक अव वाक्क भइसकेका छन् । यो सरकार पनि पार्टीका कार्यकर्ताका लागि मात्र हो, भारतले लाए अराएको निर्णय गर्नमात्र हो, देशका  लागि यो सरकारले माखो मार्दैन भन्ने आमनागरिकको मनमा परिसक्यो ।
यसकारण अव राष्ट्रिय सहमति र सहकार्य निर्माणका लागि सबै राजनीतिक शक्तिहरुसँग सम्बाद जरुरी छ र सम्वादका माध्यमबाट देशको अखण्डता र स्वाधीनताको रषा गर्न सबै एक ढिक्का भएर लाग्नुपर्छ । अन्यथा रामजाने के होला, के नहोला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper