banner
banner

दशैं संस्कृतिबारे केही चर्चा

स्वयम्भुनाथ कार्की -
औसत २ सय किलोमिटर उत्तर दक्षिण र ८ सय किलोमिटर पुर्व पश्चिम फैलिएको नेपाल प्राकृतिक विविधताले भरिएको छ । एकै दिनमा हिमाच्छादित टाकुराबाट हपक्क गर्मी हुने तराईको अनुभव बटुल्न सकिने नेपालको भूगोल विश्वका अन्य ठाउँमा विरलै होला । अझ गजवको कुरा त के छ भने नेपालका कुनै यस्तो जिल्ला छैन जहाँ नेपालका एक जातजाति वा समुदायको मात्र बसोवास होस । भौगोलिक विविधताले मौसमी तथा वातावरणिय विविधता त छदैछ जैविक विविधताको पनि भण्डार हो नेपाल । विश्वमा दुर्लभ कतिपय वनस्पति केवल नेपालमा मात्र छन भने प्राणीहरुमा पनि त्यस्तै विविधता देख्न पाइन्छ । 
हावापानी, वसोवास, जात समुदयहरुका विविध संस्कृतिहरुको मिश्रणले नेपालमा धेरै मौलिक संस्कृति परम्पराको अस्तित्व छ जो केवल नेपाल जस्तो मुलुकमा मात्र सम्भव छ र नेपालीले मात्र जीवन्त राख्न सक्छ । यस्ता नेपालका मौलिक संस्कृतिक परम्पराहरु नेपालीहरुले आफुले अलग अलग मानिआएका कुल परंम्परामा रत्न झै टाँसिएर यसरी वसेका छन् कि यदि यीनीहरुलाई हटाउने प्रयत्न गरियो भने आफ्नो चिनारीमा नै धक्का पुग्छ । यही धक्का पुर्‍याउने कुत्सित प्रयासमा दशै लगायतका नेपालका मौलिक संस्कृति परेका छन । नेपालीको मौलिक दशैंलाई विवादित परेर यो खास सम्प्रदायको मात्र हो भन्ने प्रचार तिव्र भएको निकै बर्ष भयो । विरोध गर्नेहरुले लगाएको कालो टिका अनि बहिस्कार अभियान त झन दशैले ल्याएको हलचल हो । नेपाली जनजीवनमा दशैको महत्वको उद्वोध हो । 
हिन्दुहरुको मात्र पर्व हो भनेर यसको अबमूल्यन गर्ने प्रयत्न गर्ने क्रममा यसको सामाजिक, आर्थिक तथा संस्कृतिक पक्षलाई ओझेलमा पार्न दशैको समर्थन गर्नेहरु र विरोध गर्नेहरु दुवै कम्मर कसेर लागेका छन । नेपालमा र नेपालीले बाहेक संसारका अरु कुनै पनि हिन्दुले यो पर्व मनाउने पद्धति यस्तो छैन । विजया दशमी, दशहरा यहि तिथी मितिमा पर्ने त हुन तर नेपालीले दशै मनाउने तरिका संग मेल खादैन । खेतिपातिको कडा परिश्रम सकेर आफ्नो घर, आँगन मात्र हैन गाउँठाउँ पनि सरसफाइ गर्दै आफ्ना औजार, ज्यावल हातहतियार सबैको यस बेला संभार गर्ने परंम्परा संसारका अन्य कुन ठाउँका हिन्दुमा छ र यसलाई हिन्दु मात्रको चाड भनियो ?
दशै शुरुहुन्छ सबैभन्दा पहिले आफ्नो घर आगन सफा गर्ने, बाटोघाटो मर्मत गर्ने तथ आफ्नो ठाउँ सिंगार्ने प्रक्रियाबाट । हराउँदै गएको चलन भए पनि आफ्नो गाउँ ठाउँको साझा खुल्ला स्थानमा पिङ्ग हाल्ने अभियान, कमेरो तथा रातोमाटोको जोहो गरेर घर रंगाउने काम दशैका पुर्व तैयारी हुन । कमेरो तथा रातोमाटोको स्थान अहिलेका आधुनिकता संगै चुना तथा अन्य विभिन्न पेन्टले लिएका छन । मुगलान तिरको संस्कृतिको थिचोमिचोले दशैमा भन्दा तिहारमा घर रंगाउने प्रचलन बढदै गएको छ तै पनि नेपाली दशै रामो पार्ने, सकेको राम्रो लगाउने अनि मिठो खाने पर्व हो । बर्ष दिनमा आफ्ना बन्धुवान्धवसंगै बसेर गच्छे अनुसारको रमाइलो गरेर खेतीपातिको थकान मेटने ठेट नेपाली पर्व हो यो दशै । 
राग मालाश्री केवल यहि दशैमा मात्र गाउने चलन छ, दशैमा हालेको लिङ्गे पिङ्गले भने तिहारको समाप्ती पछि मात्र बिदा लिन्छ । दशै आफ्नो घरमा, गाउँ समाजमा अनि मुलुकमा गरेर एकै पटक तीन स्तरमा मनाईन्छ । घर आगन सफा पारेर कामका बेला अस्तव्यस्त भएका आफ्ना ज्यावलऔजार, हातहतियारको संभारण गरेर तीनिहरुको पूजा गरिन्छ । यस प्रकृयामा घर आगनको कुनाकाप्चामा भएको फोहोर मैलो निक्लनुको साथै आफ्ना ओजार हातहतियार संकलन तथा संभारण हुन्छ जो अर्को पटक आवश्यक पर्दा तैयारी हालतमा रहन्छन । यस पछि पालो आउछ आफु तथा परिवारको, बर्षदिनमा एकजोर लुगाफाटोको जोहो गर्ने चलन पनि दशै कै हो । 
जीवन यापनको कठिन प्रकृयालाई रमाइलो पार्ने परंपरा हामा पुर्खाहरुले वसालेका थिए । तीनै कुराहरु आजकल यी मौलिक पर्वका रुपमा रहेका छन । यी सारतत्वलाई छोडेर ती परंपरालाई धार्मिक अन्धविश्वास संग जोडेर तीनको अवमुल्यन गरिनु राम्रो हैन । टिका थाप्ने बहानामा आफ्ना नलनाताहरुमा आपसी भेटघाटले वन्धुत्व बढाउने मात्र हैन बर्षभर उपेक्षित जस्तो हनु परेका आफ्ना नातागोताका बुढाबुढीहरुलाई बर्षदिनमा एक पटक भए पनि सन्तोष हुन्छ । घरमा दुर्गापुजा भनेर स्थापना गरिने हलोको फाली आफ्नो काम प्रतिको पुजा हो । जव यहि पर्व संगठित रुपमा भएका एकाईहरुमा मनाइन्छ यसको रुपमा भिन्नता आउछ । शस्त्रअशस्त्र पुजा सर्वसाधारणको घरमा हुने औजार पुजा कै अर्को रुप हो । रमाईलो बातावरण र आपसी सद्भावको प्रतिकको रुपमा हाकिमसंग टिका थाप्ने चलनले पद सानो ठुलो जे भए पनि सबै एकै परिवार जस्तै हौ भनने भावना पैदा गरिरहेको हुन्छ ।
पुजापाठी कर्मकाण्डीहरु वैदिक विधि अनुसार दशै मान्छन भने त्यो पनि दशै नै हो । सेना वा प्रहरीको व्यारेकमा कालरात्री सहितको दशै मान्छन भने पनि नेपाली नै हो । एक किलो मासुको जोहो गरेर कोही रमाउछन, वा पिङ्गमा मच्चिएर रमाइलो गर्छन जसरी माने पनि हुन्छ । नमाने पनि कुनै कर छैन तर नेपालको मौलिक चाड भएकाले यसले नेपालीहरुलाइ असर त गरिरहेकै हुन्छ । दशैमा लगाइने रातो टिका कुनै विजय उत्सव हैन यो त वन्धुत्वको प्रतिक हो । दशहरा, विजया दशमी हिन्दुमात्रको होला तर दशै सम्पुर्ण नेपालीको हो । विश्वको कुनै पनि कुनामा कुनै एक्लो नेपाली छ भने पनि उसले दशै मानेकै हुन्छ त्यसैले दशै नेपालीको मौलिक परम्परा हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper