banner
banner

सुगौली सन्धि र १९५० को सन्धि

स्वयम्भुनाथ कार्की -
नेपालीहरु नेपालको लुकाएको इतिहास जर्मनका कुनै मेडिकल डाक्टरले सही लेखे भनेर विश्वास गर्दछन् । सुगौलीको सन्धीमा बेलाइतलाई नेपालले नेपाली बेच्यो र गोर्खा भर्ती शुरु भयो भन्ने बकवास सत्य लाग्छ । थपमा ४० बर्ष पुरानो गोर्खाल्याण्ड आन्दोलन दार्जिलिङ्गवाशीले नेपालमा मिसिन गरेको महाभ्रममा छन् । यो आन्दोलन नै ‘हामी भूमि संगै आएका हौ त्यसैले भूमी जुन मुलुकमा छ, त्यही मुलुकका अरु नागरिक सरहका नागरिक हौ’ भन्ने कुरा स्थापना गराउन भएको हो । अहिले कपाल फुल्दै गरेको नेपाली नवयुवा पुस्ताले वर्तमानमा भैंm सुगौली सन्धीको कारणले गुमाउन परेको त्यो भूभाग नेपालमा आउँछ भनेर समर्थन अभियान चलाए ।
यो कुरा आन्दोलन विपरित थियो त्यसैले अंग्रेजले गरेको गोर्खाको परिभाषा बताएर सुभाष घिसिङ्गले नेपाली र गोर्खाको फरकको तितो खुराक ती नवयुवाहरुलाई दिए । बरु गोर्खा भएर गोर्खाल्याण्डमा आउनु नत्र वेकारको धुरा नपस्नु भन्ने आशयको चेतावनी पाए पछि नेपाली नवयुवा चुप लागे । ४० बर्ष पछि फेरी त्यही कुरा वर्तमानका नवयुवाहरुमा देखेर ती कपाल फुल्दै गरेकाले आफ्नो अनुभवको आधारमा रोक्न खोजे । तर आफुलाई आमाबाबु, दाजुदिदी भनिराखेका नवयुवाहरुले कुरा सुनेनन्, सुनेनन् मात्र हैन ‘र’को एजेन्ट भएको, भारतको दलाली गरेकोसम्म आरोप लगाए ।
दार्जिलिङ्ग नेपाल हो र त्यहाँकाहरुले नेपालमा मिल्न आन्दोलन गरेको भन्ने प्रचारयुद्ध शुरु गरे । यसले एकाएक दार्जिलिङ्ग आन्दोलन विखण्डनवादी भएको आरोप उनीहरुलाई लाग्यो । यस्तोमा उनीहरुले त्यसको खण्डन गर्नु नै पर्ने थियो गरे पनि, जो जुन स्तरको थियो त्यसले त्यही स्तरबाट खण्डन गर्‍यो । उनीहरुको खण्डन सुनेर उत्तेजित हुनुपर्ने कारण छैन । बरु केही एतिहासिक तथ्यको अध्ययन आवश्यक छ । ४० बर्ष पहिलेको नवयुवालाई जस्तो यी सन्धी तथा इतिहास पाउन कठिन छैन, केही घण्टा इन्टरनेटमा धैर्यतापूर्वक खोजे प्राप्त हुन्छ ।
१८१४ देखि १८१६सम्म चलेको अंग्रेज नेपाल युद्धको बीचैमा र सुगौली सन्धीको करिव १० महिना २० दिन पहिले ‘गोरखा राईफल्स’ नामाकरण भएको हो । त्यस भन्दा पहिले नासिरी रेजिमेन्ट नामले अंग्रेज फौजको साथी भएर  लड्दै थियो । बलभद्र र उनको टोलीले नालापानी छोडेको करिव ५ महिना अर्थात २४ अप्रेल १८१५ गोरखा राईफल्सको स्थापना दिवस मानिन्छ । नेपालीलाई सदा दुख्ने गरेको सुगौली सन्धीमा केवल एक स्थानमा गोर्खा शव्द परेको छ, त्यो परेको विषय वा प्रसंगले  गोर्खा भनेको सैनिकलाई भनिन्छ भन्ने अंग्रेजको बुझाई रहेको अर्थ लाग्छ ।
यो सन्धीको धारा ३ मा नेपालले १) काली र राप्ती बीचको तराई २) बुटवल बाहेक राप्ती र गण्डकी बीचको तराई ३) गण्डकी र कोशी बीचको तराई ४) मेची पुर्व बर्मासम्मको तराई ५) मेची पूर्वको पहाड सन्धीको ४० दिन भित्र गोर्खा टोलीले छोड्नु पर्ने उल्लेख छ । धारा ४ मा तराइका भूभाग छोडे वापत नेपाललाई इष्ट इन्डिया कम्पनीले बर्षको २ लाख दिने कुरा उल्लेख छ । धारा ५ मा काली पश्चिमको पहाडी भूभाग छोडनु पर्ने धारा ६ मा सिक्किमलाई नेपालले आक्रमण गर्न नपाइने कुरा उल्लेख छ । ९ धाराका सन्धीको यो व्यवस्थाले कोशीपूर्व र मेची पश्चिमको तराईमात्र नेपालको अधिनमा रहेको देखाउँछ । ४ मार्च १८१६मा भएको यो सन्धीले हालको नेपालको सिमा कोरेको हैन । यो त बेलाइती रेजिडेन्ट एडवर्ड गार्डनर र नेपालका राजा बीचको अर्को सहमतीले तराईका ती भूभाग ११ दिसेम्वर १८१६ मा फिर्ता भएका हुन । 
चतुर डेविड अक्टरलोनीले गोहीको आँसु चुहाएर केही तराईका भूभाग फिर्ता गरे । राप्तीदेखि महाकालीसम्मको तराईमा अधिकार कायम नै राखेर पनि कम्पनीले तिर्नुपर्ने बार्षिक २ लाख मिनाहा लिए । त्यसको बदला कुशवाह नदीदेखि गण्डक नदीसम्म अनि गण्डकदेखि राप्तीसम्मको भूभाग ९ महिना पछि फिर्ता भयो । जंगवहादुरले चतुराइको प्रयोगले ‘नयाँ मुलुक’ हाँसिल गरेपछि मात्र अहिलेको नेपालको सिमा निर्धारण भएको हो । यसै व्यवस्था अन्तरगत बनेका सिमा स्तम्भलाई नेपालीहरु जंगे पिलर भन्छन् ।
अहिले १९५० को सन्धीले सुगौली सन्धी खारिज गरेको छ भन्ने तर्क प्रशस्त आएका छन । भारतीय स्वतन्त्रता ऐन १९४७ मा नै बेलाइतले नेपाल लगायत सबैसंग इष्ट इन्डिया कम्पनीले गरेको हरेक बन्दोवस्त निरस्त्र गरेको छ । १९५० को सन्धीको जुन धाराले सुगौली सन्धी खारिज भयो भनिएको छ त्यो धारा ८ ले भन्छ ,‘जहाँसम्म यस सन्धीमा उल्लेख भएका कुराहरु छन् ती सम्वन्धी विषयमा नेपाल सरकार र भारतीय सरकारको निमित्त बेलाईती सरकारले गरेका सन्धी, सम्झौता र सहमतीहरु रद्द गरिन्छ ।’ उल्टै यसले उल्लेख नभएका कुराहरु पुरानै अवस्थामा राख्ने वैधानिकता प्रदान गरेको छ ।
विदेशमा र विदेशीले प्रयोग गर्ने गोरखा शव्दले नेपालका पहाडी ईलाकाका रैथाने र तीनका वंशजको सेना भन्ने हुन आउँछ जसले नेपाली जनाउँदैन । गोर्खा शव्द नेपालीहरुको  निमित्त गौरवको विषय भए पनि अरुको निमित्त भाडाका सैनिक भन्ने हो । आफु गोर्खा सैनिक हुँदा यसो भनिएको पिडाले गोर्खा शव्दसँग जमिन पनि भयो भने इज्जत पाउँछ भन्ने सुभाष घिसिङ्गको सोच थियो जसले गोर्खाल्याण्डको अवधारणा जन्मायो ।
तराइका रैथाने वासिन्दाले आफुलाई भूमिपुत्र भन्नुको अर्थ यही जमिनको रैथाने हौ भनेको हो । दार्जिलिङ्गकाले भूमीसंग नै आएका भनेको अर्थ पनि त्यही भूमिपुत्र नै भनेको हो । तराईमा पनि त्यहाँका रैथानेहरुको साथमा भारतबाट बसाई आएकाहरु छन् भने दार्जिलिङ्गमा पनि नेपालबाट बसाई गएका छन् । दार्जिलिङ्गलाई नेपाल भित्रबाट समर्थन गर्नेहरु छन् भने तराईवाशीलाई पनि भारतबाट समर्थन गर्नेहरु छन् । दार्जिलिङ्गकाहरु हामी माटो संगै आएका रैथाने हौ विदेशी नभन भन्छन् भने तराईका पनि हामी भूमिपुत्र हौ भन्छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper