banner
banner

अर्बपति र अरबमा भएका पति

स्वयम्भुनाथ कार्की -
दलीय पद्धतिको पुर्नवहालीदेखि वर्तमानको गणतन्त्रसम्ममा नेपालका प्राय जसो सबै घरमा अरबपति छन् । सिमित घर सम्पत्ति अरबौ पुर्‍याएर अरबपति छन् भने सबैजसो घरपति अरब पुर्‍याएर अरब भएका पतिवाला घर छन् । यहाँ वैदेशिक रोजगारीका हरेक गन्तव्यलाई सामुहिक रुपमा अरबको उपमा दिईएको हो । परंपरागत सोचका अनुसार पतिले वाहिरको काम गरेर जीविकोपार्जनको निमित्त धनको प्रवन्ध गर्ने र पत्नीले उपलव्ध साधन श्रोतमा घरको प्रवन्धन गर्ने हो । जसरी अरबौ सम्पत्तिको स्वामिनी कोही महिला भएपनि तीनलाई अरबपति नै भनिन्छ त्यसै गरेर वैदेशिक रोजगारीबाट घरको जिम्मेवारी वहन गर्नेलाई अरबमा भएका पति भनिएको हो । यो कुनै लैङ्गिक विभेदको निमित्त प्रयोग गरिएको शव्द होईन ।
समाजमा धनी गरिव हुन्छन्, विभिन्न बर्ग हुन्छन्, बलिया निर्धा हुन्छन् । आफ्नो शोषण विरुद्ध आन्दोलित भएका सर्वहारा मजदुरको आन्दोलनलाई वैचारिक धरातल दिएर राजनैतिक दर्शनको रुप दिन कार्लमाक्र्स र फ्रेडरिक ऐगेल्सले पहिलो कम्युनिष्ट पार्टीको घोषणपत्र लेखेको पौने दुईसय बर्ष पुग्दैछ । वर्ग विहिन समाजको उच्चरुप साम्यवाद परिकल्पना गरिएको यो दर्शनको विश्वका विभिन्न मुलुकहरुमा विभिन्न प्रकारले अभ्यास भएका छन् । तर वर्गविहिन समाजको छनकसम्म पनि देखा परेको छैन । मानव समाज कहिल्यै वर्गविहीन हुनसक्दैन यो सत्य हो । त्यसैले वर्ग विचको फरकको खाडल कम गर्नु नै समानतातर्फको कदम हो । साम्यवादी समाज निर्माणको आरंभिक बिन्दु हो ।
जति यो खाडल चौडा हुँदै जान्छ समाजमा थोरै अरवपति र धेरै अरवमा भएका पति पैदा हुँदै जान्छन । अग्रगमन भनिएका परिवर्तनहरुको देखिएको नतिजा यहि हो की मुलुकमा अरव हुने खरव पति हुँदै जादैछन, तर लाख हुने खाक पति हुँदै जादैछन । यसरी अरब भएका पतिहरुको संख्या दिन दुई गुणा र रात चौगुनाको दरले बढदैछ । यसले अर्को किसिमको शोषक जन्माउँदैछ जो सर्वसाधारणलाई निचोरेको राजश्वले टाउको दुखेको उपचार जापानमा गर्न जान्छ, आफ्नो घर भाडामा लगाएर राजश्व तिरिने भाडा पर्ने घरमा बस्छ ।
तथ्यांकहरु पनि बडो रमाइलो खेल देखाउछन । दलिय पद्धति पुर्नवहाली हुनु भन्दा पहिलेको दाँजोमा मुलुकमा प्रसस्त उद्योगहरु खुलेका छन । कुल गार्हस्थ्य उत्पादन बढेको छ । प्रति व्यक्ति औसत आय पनि टन्नै बढेको छ । मुलुकका विकट भन्दा विकट स्थानमा पनि ‘मनी ट्रान्स्फर’ खुलेका छन ।् अधिकांश युवाहरु अहिले साइकलमा हैन मोटरसाइकलमा हुँइकिन्छ । यस्ता सकारात्मक आर्थिक सूचक हुँदाहुदै पनि गाउँका गाउँ बलियाबाङ्गा विहिन किन बनेको छ ? श्रम गर्नसक्ने जनशक्ति किन अरबमा भएका पति वन्न विवश छ ?
आफुले सहजरुपमा पाउनु पर्ने स्थानीय साधनश्रोत माथिको अग्राधिकार, आफ्नो कुल परम्पराको चिनारी माग्न किन उग्र कुरा गर्नु परेको छ ? हिजोसम्म सुखदुख बरावर साटेका छिमेकीहरु किन आज एक अर्कालाई गाली गलौज गर्दे पानी वारावार गर्दै छन् ? यी प्रश्नका उत्तर दुरुह लाग्न सक्छन् तर सहज छन्, केवल एक कारण हो, वर्ग विहिन समाजको परिकल्पनामा वर्ग समन्वयको मिठास भुलियो । धेरैलाई पँुजिपतिलाई गाली गर्न लगाएर, उनीहरुको विरुद्ध वर्ग संघर्षको नाममा ज्यान अर्पण गर्न लगाएर स्वयं ती पुँजिपति सरहको हैसियतमा पुग्ने धुत्याईलाई रणनैतिक कौशल मान्न जनता तैयार भए ।
मुलुकका अनेक नामधारी अगुवाहरुमा एक अनौठो डर पसेको छ । मुलुकको ढुंगे युगको अतित्वको विवेचन गर्छन, मध्य युगको विवेचन गर्छन् । त्यो मुलुकमा थियो भन्ने स्विकार गर्न कुनै आइतवार पर्देन । तर विचको समय लाई केवल कालरात्री भनेर त्यसको विवेचन गर्न तैयार हँुदैनन् । यदि त्यो विवेचन गर्न तैयार भए यी अर्थतन्त्रका सकारात्मक सुचकहरुका भ्रम चिरिन्छन्, आफुले जनता झुक्याएको उजागर हुन्छ । सत्य हो वियर उद्योग वढेका छन्, अजिनोमोटो प्रमुख मसला भएका चाउचाउ उद्योग वढेका छन् । वाहिरबाट क्लिंकर ल्याएर वनाइने सिमेन्ट उद्योग त यसै कालमा आएका हुन् । पहिलेका उद्योग भने घाट पुगे । कृषि औजार कारखाना, चोभारको सिमेन्ट कारखाना, बाँसवारी छालाजुत्ता, हेटौडा कपडा, गोरखकाली टायर जस्ता आघारभूत उद्योगहरुको थलो किलो पत्तो नहुने भई सकेको छ ।
एक डेढ रुपैयाँ किलो पाइने धान बीस रुपैयाँ किलो नाघ्नु, पचहत्तर पैसा युनिट विजुली बाह्र रुपैयाँ पुग्नु जस्ता पैसाको अबमूल्यन जति हुन्छ त्यति नै कुल गार्हस्थ्य उत्पादनको अंक बढ्छ । एक निम्नस्तरको कमाइले पहिले पनि परिवार पाल्न धौधौ हुन्थ्यो अहिले सजिलो भएको छैन, बरु झन अफ्ठ्यारो भएको छ । तर यो आर्थिक सूचांकको आधार हुँदैन । गन्दामा दुइ अंक नाध्न मुस्किल पर्ने धनी मध्ये एकको मात्र आय नजोड्ने हो भने पनि प्रतिव्यक्ति औसत आयमा कमी आउँछ भने सरदर मुलुकवासीको प्रतिव्यक्ति औसत आय बढेको छ कि घटेको छ, विवेचना आवश्यक छ र ? बरु धनी अझ धनी र गरिव थप गरिव भने हँुदैछ ।
‘मनी ट्रान्फर’को व्यापार फस्टाउनु भनेको मुलुकको उर्जाशिल जनशक्तिको उर्जा मुलुकले नपाउनु हो । यो सबै कुरा जनतासंग यस कारण लुकेको छ की अगुवाहरु तुरन्त पहिलेको कालखण्ड नै थिएन भन्ने भ्रम छर्न सफल भएका छन् । वर्ग समन्वय गरेर सबै मिलेर उन्नती प्रगतितर्फ लाग्नुपर्ने जनतालाई वर्ग संघर्षको नारा दिएर एकार्काको उछित्तो कढाएका छन् । स्वयं आफु भने जुन वर्गको नेतृत्व गरेको छ त्यसैले पाउने अधिकारले विदेश भ्रमण, मान प्रतिष्ठा जस्ता फाइदा लिएका छन् । त्यसैले अरबपति र अरबमा भएका पति बीचको फरक कम गर्ने साधन वर्ग संघर्ष हैन वर्ग समन्वय हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper