banner
banner

घर पोलेर खरानीको व्यापार

स्वयम्भुनाथ कार्की - 
एकादेशमा कुनै समयमा जंगल रहेछ । त्यस जंगलमा चराहरु पनि बस्दा रहेछन । नजिकैको वस्तीमा शिकारी पनि बस्दो रहेछ । चरा मार्न उसले जाल बिछ्याउने गर्दो रहेछ । पहिले केही चराले मन पराउने चारो भुईमा छर्ने अनि त्यसमाथी जाल बिसाउने कार्यले एकै पटकमा निक्कै चराहरु मार्ने गरेको रहेछ । एक झुण्डै त्यसमा पर्ने गरेकोले चराहरुमा निकै खैला बैला भएछ । यसरी जालमा पर्दै जाने हो भने आफ्नो जातीको अस्तित्व समाप्त हुन सक्ने चिन्ताले पिरोलिएर यसबाट कसरी बच्ने भन्ने सुझाव दिन आयोग नै बनेछ । निक्कै अध्ययनले आयोगले आफ्नो जातीको संख्या घटने कारण र रोकथामको उपाय पत्ता लगाएछ । शिकारीले यसरी जालमा पारेर मार्ने रहेछ भन्ने थाहा पाए पछि सबै चराहरुको महाअधिवेशन बोलाईएछ ।
 प्रस्ताव सर्वसम्मतबाट पास भएछ कि शिकारीले दिएको लोभमा फसेर जालमा पर्न हुदैन । यसका निमित्त चराहरुमा चेतनाको अभियान चलाउनु पर्दछ । प्रत्येक चरालाई शिक्षित गर्नु पर्दछ । यसै अनुरुप सबै चराहरुलाई कण्ठस्थ पार्न लगाईएछ कि “शिकारी आउने छ, मिठामिठा चारो हाल्नेछ तर त्यो जाल हो लोभले त्यसमा नफस्नु” । सबै चराहरुलाई यो कुरा कण्ठस्थ भए पछि महाहधिवेशन समापन भएछ । यता शिकारी पनि निकै समयदेखी चराहरु नदेख्दा अचम्ममा परेको रहेछ । तर, महाअधिवेशन सकेर आएका चराहरुको हुल देखेर शिकारी प्रसन्न भएछ अनि सदा झै जाल थापेछ । चराहरु त्यहि मन्त्र जाप गर्दै आएछन । तल शिकारीले चारो हालेको पनि देखेछन् । मन्त्र जप्दै चारो टिप्न खोजेका सबै चराहरु जालमा परेछन । तर मज्जाको कुरा त के छ भने अधिवेशनले पारित गरेको मन्त्र शिकारीले नमारुन्ज्याल जप्दै रहेछन् ।
यो गति र मति हो आजको नेपाल हाँक्न खोज्ने र तिनीहरुलाई साथ दिनेहरुको । कुरा नबुझेको कसैले छैन तर सबै आफु भने अपवाद भएको दम्भ पालेर बसेका छन् । आजको नेतृत्व र प्रणाली असफल भएको कुरामा सर्बसाधारणको त कुरै छोडौं अगुवाहरु पनि एक मत छन् । बरंवार असफल हुँदै मुलुकलाई रसातल तर्फको यात्रामा एक खुड्किला पार गर्दे फेरी पालैपालो असफलताको गाथा बृद्धि गर्न लागि परेका छन । लर्ड मेकालेको पद्धतिबाट शिक्षित बुद्धिजीविहरु बरु मुलुक समाप्त भए पनि होस जनता भोकभोकै मरे पनि मरुन तर यिनै असफल दलहरुकै हातमा मुलुक सुम्पिरहनु पर्दछ भन्ने दुराग्रह राख्दछन् । यसमा सहयोग पुर्‍याउन नेपाललाई विनाशको प्रयोगशाला बनाउन धन लगानी गरेर अनेक किसिमका अधिकार कर्मीहरुको जमातै तैयार गरेका विदेशी शक्ति केन्द्रहरु पनि लागेका छन् ।
पहिले राजतन्त्र संविधानभन्दा माथि (?) भयो सबै संंविधान भित्रै हुनु पर्दछ भनेर भन्नेहरु आफैले बनाएको र जतिखेर पनि आफ्नो घरको झै संसोधन गर्न मिल्ने अन्तरिम संविधानको पनि पालना गर्न पर्दैन जस्तो काम गरे । झ्यालबाट भिड हेरेर विधि र विधान मिचेको कुरालाई आबश्यकताको सिद्धान्त भन्दै मान्यता दिनाले न्यायपालिकाले पनि आफ्नो गरिमामा आफै धक्का हान्यो । अन्तरिमकालमा जब अरु अंग धरमराउछन्, न्यायपालिकाले थाम्नुपर्ने थियो । के भयो वा के गरियो त्यो नेपालीको अनुभव हो । तर संक्रमण सकिए पछिको वर्तमानमा न्यायपालिकाको कु्न हविगत छ अनि न्यायमुर्तिहरुको तेजोबध कसरी भएको छ वा छैन त्यो न्यायक्षेत्रमा कामगर्नेले नै अनुभव गर्ने कुरा हो । 
केवल जमिनको हदबन्दीलाई मात्र भूमिसुधार मान्ने अनि जमिनसँग जोडिएकाहरुमा नै सामन्ती खोज्ने स्वघोषित बिज्ञहरुको विज्ञताले खान पुग्नेसम्म पनि उत्पादन हुन छोडेको छ । राजनैतिक दल र तिनीहरुका सदस्यहरुको अयोग्यताको गाथा अरुले गाई दिनै पर्दैन । उनीहरु आफै ढोल नगडा बजाएर सुनाउँदैछन । बारम्वार गलत हुने व्याख्या दिएर, आफुलाई पूर्वपन्थी, दक्षिणपन्थी, वामपन्थी वा पश्चिमपन्थी बुद्धिजीवि घोषित गरेर वा गराएर बुद्धिजीविहरु आफै पतन भई सके । कुनै पनि पन्थको बुद्धिजीवि हुदैन बरु बुद्धिजीविले पन्थको स्थापना गर्दछ भन्ने साश्वत सत्य नै थाहा नपाउनेहरुलाई बुद्धिजीवि त होईन बरु बुद्धिकर्मी भन्नुपर्ने हुन्छ । जसरी यौनकर्मीले यौन वेचेर जीविका गर्दछ त्यसैगरेर यस्ता बुद्धि कर्मीहरु बुद्धि बेचेर जीविका गर्छन् । 
खरानीको राम्रो व्यापार हुन्छ भनेर घर पोलेर त्यो व्यापार गरिदैन । तर नेपालमा त्यही नै गरियो अनि गरिदै पनि छ । पुरानो नभत्काई नयाँ बन्दैन भनेर भत्काईयो अर्थात घर पोलियो । खरानीको व्यापार पनि राम्रो भएन । संघीयतारुपी नयाँ संरचना बनाउन सरकार संसारभरी कटौरा थाप्दैछ । मुलुक बामेसर्न पनि नसकेको अवस्थामा छ तर हुँकार भने दौडेर ओलम्पिकमा प्रथम हुने छ । बुद्धिकर्मीहरुले भनेको लोकतन्त्र साईबर कानुन, अपराध संहिता आदिमा हतकडी धारण गरेर बसेको छ । सम्पूर्ण सम्पत्ती पार्टीलाई वुझाएर कायम गरेको साम्यवाद सर्वहाराको काँधमा चढेर विलासी जीवनमा रमाएको छ । कोही कोही पुरानो भत्काउन उकास्ने बुद्धिकर्मीहरु गनगनाउन सुरु गर्दैछन् “नखाउँ भने दिनभरीको शिकार, खाउँभने कान्छा बाबुको अनुहार ।”

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper