banner
banner

राजावादी, राजा र राष्ट्रवादी

स्वयम्भुनाथ कार्की -
यो बिषयवस्तुले केही उद्दण्ड राजावादीहरु अझ उग्र हुने छन्, सिधै आमाचकारी गाली गलोजमा उत्रने छन । केही नरम राजावादीहरु यसलाई विरोधीको प्रलोभनमा बाटो विराउन थालेको भन्नेछन् । अझ उदार राजावादीहरु भने यो अब काम नलाग्ने भयो यसको वास्ता नगरौ भन्ने छन । अर्थात कुनै पनि राजावादी अनि राजावादी भएका कारणले राष्ट्रवादी सोच राख्नेहरुले यो बिषयवस्तु आफ्नो निमित्त हानीकारक नै मान्ने छन् । तर आशा गर्न सकिन्छ स्वयं राजा अनि राष्ट्रवादी भएको कारणले मेरो मुलुकमा राजाको आवश्यकता छ भनेर राजावादी भएकाहरुले भने केही चिन्तनमनन गर्ने छन् भन्ने आशा लिन सकिन्छ । केवल यही आशाको बलमा यो बिषय उठाउने धृष्टता घाटा हैन ।
इङ्गल्याण्डमा इश्वीको १७ शताव्दीको शुरुदेखि मध्यसम्म राजावाद र राष्ट्रवादको वैचारिक लडाई चल्यो । यसले इङ्गल्याण्डलाई केही समयको निमित्त गणतन्त्र बनायो । तर संयुक्त अधिराज्यको अवधारणामा यो टिक्न सकेन । इङ्गल्याण्ड, स्कटल्याण्ड अनि आयरल्याण्डका राजतन्त्र मिलेर बनेको संयुक्त अधिराज्यमा भएका विविधतामा एकता गर्न सम्राट नै चाहियो । अहिले थपनाको भए पनि राजतन्त्रले त्यहाँको राष्ट्रवाद धानेर बसेको छ, राजपरिवारका अनेकौ विवादास्पद कामहरुले सञ्चारमाध्यम भरिए पनि । तै पनि त्यहाँ यी दुवै एक हैनन् भन्नेहरु कम छैनन् । महारानी लाई सलाम गरेर नेपालको राजसंस्थालाई गाली गर्ने  गोर्खे नै छन् । तैपनि राजावाद र राष्ट्रवाद एकै नमाने पनि राष्ट्रको संरक्षण मुकुटले गर्दोरहेछ । त्यसैले चाल्र्स दोश्रोलाई गद्धिमा राखेर राजसंस्था पुन आरम्भ गर्नुपर्‍यो । 
नेपालमा राष्ट्रवादको सोच, धारणा आदिको प्रवर्धन राजा महेन्द्रबाट नै भयो । त्यो पनि विषेश गरेर उनको कार्यकालमा । राजनैतिकरुपले उनको स्थानियता र स्वतन्त्र व्यक्तिमा आधारित पञ्चायत इतरकाहरुले राष्ट्रवाद शव्दलाई नै आफ्नो विरोधी सम्झे । यसका उदाहरणहरु बग्रेल्ती छन्, उनीहरुले नेपालको राष्ट्रवाद भारत विरोधी भावना हो भनेर भ्रम छरे । नेफा अर्थात पुर्वोत्तर सिमा इलाकाको लद्दाखको निमित्त भएको चीनभारत युद्ध पनि नेपालले खेलेको चाइना कार्ड भन्न बाँकी राखेनन । अनि राजा महेन्द्रले भारत भ्रमण गरेर त्यहाँका बुद्धिजीवि वर्गलाई भन्नु पर्‍यो जति पुरानो र महत्वपूर्ण सम्वन्ध नेपालको भारत संग छ त्यति नै पुरानो र महत्वपूर्ण सम्वन्ध नेपालको चीन संग पनि छ । नेपालले एक छिमेकीलाई अर्को छिमेकी भन्दा अलग व्यवहार गर्न हुँदैन र गर्दैन पनि ।
वर्तमानमा त्यही राष्ट्रवादको उलिनकाठ नेपालमा सत्तारोहणको भर्‍याङ्ग भएको छ । यो राजा महेन्द्रको विचारको जित हो कि राष्ट्र जोडेर राख्ने महत्वपुर्ण कुरा भनेको नै राष्ट्रवाद हो । उनका छोरा पाखा लगाईएका राजा ज्ञानेन्द्रले पनि आफ्नो जो हविगत होस त्यो बरु स्वीकार तर राष्ट्र वाँचोस भन्दैछन् । वर्तमानमा उनी जे हुन त्यसमा विवाद हुन सक्ला तर नेपालका सर्वश्रेष्ट राष्ट्रवादी हुन भन्ने कुरामा शंका गर्ने ठाउँ छैन । उनी जुुनसुकै हैसियतमा भए पनि राष्ट्रसेवा गर्न चाहान्छन भन्ने कुरा वारंवार भनेका छन । थपमा  एक कुरा प्रष्ट गरेका छन राजनीति र राजकाजमा काम गर्ने हो भने उनी राजा कै रुपमा मात्र आउनेछन । दल खोलेर नेताको रुपमा आउने छैनन् ।
पाखा लगाईएको राजपरिवार समाजका विभिन्न क्षेत्रमा राष्ट्रसेवा गर्दैछ । वर्तमान प्रणालीलाई चुनौती नदिईकन नागरिकको दुख बाँड्न पुगेको छ त्यो परिवार । सामाजिक क्षेत्रमा सकृय छ, अनि धार्मिक क्षेत्रमा आफ्नो जिम्मेवारी इमान्दारी पुर्वक पालन गर्दैछ । प्रख्यात देशीविदेशी उद्योगपतिहरुसंग सहकार्य गरेर मुलुकको आर्थिक क्षेत्रमा योगदान पुर्‍याउने मनसाय थाईल्याण्डमा भारतिय लगायतका उद्योगपतिहरुसंग भेट्नुले जनाउँछ । पुनस्र्थापनाको निमित्त कुनै किसिमको प्रयत्न गर्न यो परिवार तैयार छैन । अर्थात आफ्नो इच्छाले हैन जनताको ईच्छा भएमा मात्र राजनैतिक जिम्मेवारी लिने हो । तर यहाँ अलमल हुन्छ, जनता जुटाउन त कुनै न कुनै गतिविधि हुनुपर्छ ।  कुनै गतिविधि नभएमा परिवर्तन संभव छ ? 
यहाँनेर सबैभन्दा कठोर कर्तव्य आउछ राजावादीहरुको जो केवल राजावादी मात्र पनि हुन सक्छन् र साथमा राष्ट्रवादी पनि हुन सक्छन् ।  तर यदि राष्ट्रलाई हानी नगरी काम गर्ने हो भने उनीहरुले राष्ट्रवादीहरुलाई साथ लिन सक्नु पर्दछ । तर उनीहरु त आफैमा पनि एकले अर्कालाई गाली गलौज गरेर बसेका छन । जुलुस गर्नु, भाषण गर्नु नै काम हो भन्ने भ्रममा छन् । वैचारिक आन्दोलन वा प्रसस्त लगानी नभई जनता सडकमा आउन्नन् भन्ने बुझेका छन् । तर वैचारिक आन्दोलन गर्ने ल्याकत छैन त्यसैले ‘दरवार’ बाट आदेश र पैसा पर्खेर बसेका छन् । यस्तो अवस्था आएमा आफु सबैभन्दा कट्टर भन्ने सावित गर्नलाई अर्काको खोईरो खन्नु आवश्यक ठानेका छन् र त्यही गर्दैछन् ।
राष्ट्रवादी भएका कारणले राजावादी भएकाहरु भने चेपुवामा परेका छन् । गद्धिको निमित्त विकल्प हुँदैन, नेता जस्तो राम नभए श्याम भन्न सकिन्न, कि त उत्तराधिकार चाहियो कि त वंश । संभव सबैमा उग्र राजावादीहरुको अभेध्य घेरा छ । राष्ट्र निरन्तर खराव परिस्थितिमा जाँदैछ, तर त्यो रोक्न पहिलो रोजाईको संभावना कम भन्दा कम हुँदैछ, आफ्नै वा आफ्ना घेराको कारणले । यस्तोमा राष्ट्रवादीले राष्ट्र वचाउन राजावाद र राष्ट्रवाद अलग हुन भन्नुपर्ने अवस्था आउदैछ । कट्टर राजावादी र राष्ट्रवादी बीचको सेतु स्वयं राजा हुन्, अव उनी यी दुई शक्तिलाई जोड्छन कि तोड्छन् । अव राष्ट्रले धेरै पर्खन सक्दैन, स्वयं सत्तामा वसेकाहरु नै राष्ट्र जोगाउन कठिन भएको कुरा गर्दैछन् जो एकिकरण पछि कहिल्यै भएन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper