banner
banner

अभिभावक बन्न नसके स्वीकार्नुनि

धर्मरत्न श्रेष्ठ -
छानो नभएको घर, अभिभावक नभएको परिवार र राष्ट्र उस्तै हो । न घाम छेक्छ, न ओत लाग्न पाइन्छ, न भर गर्न नै सकिन्छ । दिनमा पनि आपत, रातमा पनि आपत । जुनसुकै बेला आपतै आपत । देशको स्थिति यस्तै छ । धर्म फालेर धर्मनिपेक्षता जनताको माँग नै थिएन, कति मतको बलले हिन्दुत्व र धार्मिक सहिष्णुता फालियो ? निरंकूशता फाल्न जनतले मञ्जुरी दिएका थिए, राजतन्त्र नै फाल्ने काम भयो ? कुन जनताले जनादेश दिएका थिए ? संघीयता जनआन्दोलनको एजेण्डा नै होइन, होइन भने किन र कसको आदेशले संघीयतामा राष्ट्रलाई होमियो ।
बल्ल बल्ल संविधान जारी गरियो, संविधानअनुसार चुनाव पनि भयो, संविधान कार्यान्वयन गर्ने भनेर संघीयतामा गइयो, समस्यामाथि समस्या थपिदै गएको छ । आयस्रोत नभएपछि विदेशीसँग माँगियो, माँगेर पनि नपुगेपछि करमाथि कर थोपरिएको छ । करको कर करले राष्ट्रिय बहस सुरु भइसकेको छ र संघीयता चल्न नसक्ने स्थिति सिर्जना भइसकेको छ ।
संघीयता भनेको पार्टीका छोटेबढे नेतालाई जागीर दिने व्यवस्था रहेछ । जागीर दिएपछि तलवभत्ता दिनैपर्‍यो, स्रोत नभएपछि जनतामाथि करको भार थोपर्नै पर्‍यो । अहिले जनता आक्रोसित भएर आन्दोलनमा उत्रेको थेग्नै नसक्ने करको भारले थिचेर हो । जनता भन्न थालिसकेका छन्, चाहिंदैन संघीयता, सुशासनका लागि किन चाहियो संघीयता । इमान देखाउ, संघीयता खारेज गर । सांसदले समेत सल्लाह गरेरै सबै मिलेर संघीयता त्यागौं भन्न थालिसके । चित्रबहादुर केसीहरु त सडकमै संघीयता चाहिंदैन भनेर आन्दोलित हुनथालिसकेका छन् । यो आन्दोलन जनस्तरबाटै उठ्न थालेको छ ।
सवाल फेरि पनि अभिभावकत्वकै छ । जनयुद्ध र जनआन्दोलन मिलेर ल्याएको परिवर्तनले पद्धतिको परिवर्तन गर्‍यो, नैतिकतामा परिवर्तन गर्न सकेन । बाहिरी लुगा फेर्‍यो, मनको मैलो, स्वार्थको कालोपन फेर्न सकेन । जसका कारणले अनुहार फेरिए पनि व्यवहार फेरिएन र भ्रष्टाचार झन झन बढेर गएको छ । आमनागरिकले खोजेको सुशासन हो, सेवाग्राहीलाई सुलभ सेवा हो । राज्यले दिने सेवा दुरुह, दुर्लभ र महगो हुन थालेकाले जनताले ऐया आत्थु भन्न थालेका छन् ।
नेकपाको सरकार जुन घोषणापत्र, जुन लोकप्रिय नाराहरु लिएर चुनाव जितेर आयो । नेकपाको सरकार जुन राष्ट्रियताको जगमा उभिएकाले चुनाव जित्न, जनताको मत पाउन सफल भयो, त्यो लोकप्रियता सरकारमा जानासाथ नेकपाले गुमाउन थालेको छ । प्रधानमन्त्री एकजना सही भएर हुन्न, उनका वरिपरिका तत्वहरु यति भ्रष्ट र जनविरोधी छन् कि एउटा प्रधानमन्त्रीले चाहेर पनि जनताको पक्षमा, बिधिको पक्षमा, सुशासन र समृद्धिका पक्षमा निर्णय गर्न नसक्ने रहेछ । अहिले केपी ओलीको नेतृत्वको सरकारले जे गरिरहेको छ, यही भइरहेको छ ।
जनयुद्ध र जनआन्दोलनजस्तो रक्तपात, जनसागर उतार्न सक्ने कम्युनिष्टहरु अहिले दुई तिहाईको बहुमतका साथ स्थिर सरकार चलाइरहेका छन् । तर, यो अवस्थामा आइपुग्दासम्म कुनै कम्युनिष्ट अथवा गैरकम्युनिष्ट नेता राष्ट्रको अभिभावकका रुपमा उभिन सकेन । कुनै नेताको अभिव्यक्तिलाई सिंगो राष्ट्रले सुन्ने स्थिति छैन । जनताको नजरमा सबै नेता भ्रष्ट छन्, नैतिकहीन छन् । देश हाँक्ने नेताले अभिभावकत्व लिन सक्दो रहेनछ, जनताको मन जितेको रहेनछ ।
गरीव र अशिक्षित मुलुकमा चुनाव त पैसावालाले जित्ने हो । अपराधीको पृष्ठभूमि भएका व्यक्ति नेता पल्टेका, सांसद भएका कति छन् छन्, अहिले पनि सांसद जितेकै छन् त्यस्ता व्यक्तिहरुले । नेता त्यही हो, जसले राष्ट्रको समस्या समाधान गर्नसक्छ । संविधान त्यही हो, जसले समाधान दिनसक्छ । अभिभावक, संरक्षक बन्न सकिन्न भने स्वीकार्नु नि एकताको प्रतिकलाई जसले राष्ट्र बनायो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper