banner
banner

राजसंस्थाको पुनस्र्थापना कति सम्भव, कति असम्भव

स्वयम्भुनाथ कार्की -
यो विषयको उठान नै एक दुरुह कार्य हो, किनभने गणतन्त्रका हियामतीहरुले यसलाई कथित ‘धमिलो पानीमा माछा मार्न खोजेको’ आरोप लगाउने छन् । राजावादीहरुले त झन त्यो भन्दा कडा रुपमा ‘डलरे’, ‘विकेको’ , ‘देशघाती’ सम्म भन्न पनि बेर लगाउने छैनन् । जन्मोत्सवमा शुभकामना टक्र्याउनु, दशैमा टिका थाप्नु अनि मुस्किलले ५० जना बटुवा भएका चोकमा २०,२५ जना भएर नेताहरुलाई, गणतन्त्रलाई सत्तोसराप गर्नु यस्ता राजावादीहरुको राजसंस्था पुनस्र्थापना गराउने अभियान हो । कसैगरी केही हजारको जुलुस निकाल्न सकियो भने यो गणतन्त्र पर्लक्कै पल्टन्छ भन्ने सोचमा यस्ता राजावादीहरु छन् । यो भ्रममा उनिहरु मात्र हैन शाही नातेदार, शाही कर्मचारीहरु पनि छन् । 
मुतको न्यानोमा मस्त भएकाहरु एक देखि केही हजार सदस्य भएका हजारौ ‘राजावादी’ संस्थाहरु एक हुनुपर्ने कुरा गर्दछन् । यो कुरा सही जस्तो पनि लाग्छ, तर कसरी भन्ने प्रश्नको उत्तर खोज्नुको साटो एक अर्कालाई गालीगलौज गरेर बस्छन । यो धारमा राजनैतिक दलको खडेरी परेको पनि हैन धेरै राजनैतिकदलहरु छन । कोही प्रष्टरुपले कोही औपचारिकमा संकेत गरेर अनि अनौपचारिकमा यो वाक्यको अर्थ त राजसंस्थाको पक्षधर नै लाग्छ भनेर भन्छन् । अनि सबैकाृ एकिकरण भएर एक दल हुनुपर्ने जिकिर सबैको छ । सैकडौ गणतन्त्र पक्षधर दलहरु हुँदा राजसंस्था पक्षधर दल चाहीं किन एक मात्र हुनुपर्ने ? गणतन्त्र पक्षधरहरुले जस्तो सहकार्य , सहमतीमा काम किन गर्न नसक्ने ?
यी सबै विसंगतिहरु बीच राजा पाखा लगाईएको १२ बर्ष हुँदा पनि किन राजावादीहरु कुहिराको काग भएका छन् भन्ने विवेचन आवश्यक छ । के के कुराहरुको कस्तो भूमिका रहेको छ भन्ने पनि आकलन गर्न आवश्यक छ, किनभने समयले सदैव पर्खदैन । यत्रा बर्षहरुमा राजा पाखा लगाउनुको औचित्य साबित गर्न नसकेकाले मात्र राजावादी धारको अस्तित्व रहको हो । वर्तमान व्यवस्थाको अनिवार्य असफलता देखेर राजसंस्था स्वत: पुनस्र्थापना हुन्छ भन्ने सोच्नु ठिक नहुन पनि सक्छ । किनभने राजसंस्थाको आदर यत्रा बर्षमा बढेर गए पनि विकल्पको रुपमा सोचिने नै छ भन्ने कुरा नहुन पनि सक्छ । 
जनस्तरमा फाट्टफुट्ट सुनिन थालेको कुरा के पनि हो भने राजसंस्था पुनस्र्थापना भयो भने फेरी यीनै उदण्ड ‘राजावादी’हरुको नै हाली मुहाली हुने त होला । एक अर्कालाई गाली गलौज गरेर के प्राप्त गरे त्यो थाहा नभए पनि जनताको नजरमा छुद्र, उदण्ड, घमण्डीको छवी बन्दै गएको छ । प्रमाणको रुपमा जनताले विश्वास गरेको चौथो शक्ति बनाएको दलमा पैदा भएको घमण्डले एकिकरण भैसकेपछि धुलो चाट्ने स्थितिमा पुग्यो । स्थानीय विकास मन्त्रालय छानेर आफुले विपक्षमा मत खसाएको संविधान अन्तरगत मन्त्री हुँदा जनताले आशम राखेका थिए । त्यो आश पक्कै पनि खान पाउँला, मान पाउँला भन्ने थिएन । त्यो त स्थानिय निकाय मार्फत ‘राजावादी’ले जनताको सेवा गर्ने भए भन्ने थियो । तर यी त अरुभन्दा पनि अवसरवादी पो रहेछन् भन्ने भान पर्‍यो ।
राजसंस्था पुनस्र्थापना संभव या असंभव बनाउने मध्यका केही तत्वहरु प्रस्तुत गर्ने जमर्को गरिएको छ । 
— राजा त केवल हिन्दुका हुन कि क्या हो ? हिन्दुत्वसँग राजालाई जोडेर अरुसँग कटाउने परिस्थिति रहुन्जेल पुनस्र्थापना कठिन छ । राजा सबैका साझा हुन भने व्यक्तिगत आस्था जे भए पनि राजा केवल हिन्दुका हुन अनुचित हो ।
— हामीले त राजाको आदेश मान्ने हो त्यो पर्खेका छौ । यो पुराना र वरिष्ट राजावादीहरुको भनाई हो । उत्साहित भएर राजाले सत्ता हातमा लिंदा काम गर्न आफुलाई प्रस्तुत गर्नु पर्नेमा निम्तो खोजेर बसेकाले भोग्नु परेको पिडा राजाले पक्कै विर्सेका छैनन । यस्ता कुराले उनको मनोवल घट्छ ।
— राजाले जनतासंगको सम्वाद कम गरेर वक्तव्यवाजी मात्र गर्नु । जनता राजा सम्वन्ध जति प्रगाढ भयो त्यति मुलुकको भलो हुन्छ । वेलावेलामा वक्तव्य मार्फत चासो व्यक्त गर्ने अनि जनतालाई अप्राप्य हुने कामले जनतामा मान नघटला तर विकल्पमा राजा सोच्न छोड्ने अवस्था आउँदै गएको छ । त्यसमाथी जजसलाई उपलव्ध भईएको छ तीनिहरुले आफुसंगको फोटोको के कस्तो उपयोग गर्छन्, नसोचिनाले मान पक्कै बढाउदैन ।
— उदण्ड राजावादीहरुको बाहुल्यता । भएभरका सबैलाई गाली गरेर उपलब्ध सबै मध्यममा बिष वमन गर्ने उदण्ड राजावादीले हरेक पल राष्ट्रको हितको निमित्त राजसंस्था आवश्यक देख्नेहरुलाई पिर्छन । उनीहरुको आस्थाको प्रमाण खोज्छन अनि तिमेरुको आस्था नक्कली हो भनेर हपार्छन । यो सब सहनु भन्दा बरु चुप र निष्कृय नै बसौ भन्ने सोच बढ्छ ।
यी केही प्रतिनिधि तत्वहरु वाहेक अन्य तत्वहरु पनि हुनसक्छन् । तर मुख्यरुपमा यी तत्व विद्यमान हुँदासम्म राजसंस्था पुनस्र्थापन संभव छैन । कसैलाई यो कुरा अप्रिय लाग्न सक्छ, कसैलाई पुनस्र्थापनाको संभावना घटेकामा हर्ष लाग्न सक्छ । अप्रिय लाग्नेले यी तत्वहरुको प्रभाव निर्मलिकरण गर्न तर्फ लाग्न वेश हुन्छ । हर्ष लाग्नेले बुझ्नु पर्‍यो यो शासन प्रणली दुर्घटनामा पर्ने निश्चित प्राय छ, त्यसैले अर्को विकल्प खोज्न शुरु गर्न श्रेयस्कर हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper