banner
banner

निरंकूश सत्तापक्ष,निरीह प्रतिपक्ष

शाश्वत शर्मा -
नवयुवराज हृदयन्द्रको १७औं जन्मोत्सवको उपलक्ष्य, हार्दिक शुभकामना ।
२०६३ साल वैशाख ११ गते कुनै पनि प्रकारको राजसंस्था राखिने छ भनेर गरेको तमसुक त्यातेर राजसंस्था विस्थापन भएको हो । राजसंस्थालाई निरंकूश भनेर आन्दोलनको बलमा निरंकूशता हटाइयो भन्नेहरु नै हदैसम्मको निरंकूश हुनथालेका छन् । देश लथालिङ्ग अवस्थामा पुगिसक्यो । सत्ता तानाशाही, स्वेच्छाचारीतन्त्र चलाइरहेको छ । अस्पतालमा प्रहरी पठाएर डाक्टरलाई अपहरण गर्ने देखि विद्वत बर्गलाई अपमानित गर्ने कूकर्मसमेत सत्ताबाट हुनथालेको छ । अन्तर्वातामा रिस उठ्दा कार्यक्रम बन्द गराइदिने, समाचार छाप्यो भनेर साइवर क्राइम लगाउन एउटा सम्पादकलाई समेत पक्राउ गरियो । दुई तिहाईको घमण्ड हेर्दा चितवनको ध्रुवे हात्तीको भय अनुभव गर्न सकिन्छ ।
उता प्रतिपक्ष मुद्दाविहीन हुनपुगेको छ । डा.गोविन्द केसी र गंगामायाँ अधिकारी गतिलो मुद्दा पाएको थियो, ओलीको चलाखीले यी दुबै मुद्दा ओझेलमा पर्‍यो । कांग्रेस चुनावपछि प्रतिपक्षको भूमिकामा समेत मजाक बन्न थाल्यो । राष्ट्रिय सवालहरु अनेक छन्, कांग्रेसले मुद्दा बनाएर उठाउनै सकेन । भ्रष्टाचार, कूशासन, महगी, बेरोजगारी, सीमा अतिक्रमण, विदेशी हस्तक्षेपमात्र होइन, अहिले संघीयता चलाउन सरकारले व्यापक रुपमा कर बृद्धि गरेको छ । यी जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालहरु कांग्रेस उठाउनै चाहदैन ।
यी समस्याहरु सत्तामा भएका बेलामा आफैले सल्टाउन सक्थ्यो, सल्टाएको भए चुनावको नतिजामा ठूलो फरक पर्नेथियो । सत्तामा भएका बेलामा ह्याकुल्लाले मिचेर चुनाव जित्न सकिन्छ भन्ने भ्रममा रहेको कांग्रेस चुनावमा पाहा पछारिएजस्तो पछारिएपछि अव होसमा त आएको छ तर राष्ट्रिय मुद्दा पहिचान गरेर जनस्तरसम्म उठाउने हिम्मत जुटाउन सकेको छैन ।
२०४६ सालपछि अधिकतम समय कांग्रेस सत्तामा रह्यो । राष्ट्रिय समस्याहरुको सिर्जनाकार पनि कांग्रेस नै हो । अहिले अप्ठेरो यही भएको छ कांग्रेसलाई । प्रतिपक्षमा बस्नुपर्दा नेकपा जाज्वल्यमान देखिने, प्रतिपक्ष कांग्रेस निरीह देखिनु पर्ने कारण पनि यही नै हो । निरीह प्रतिपक्ष भएपछि सत्तापक्षले पेल्नु स्वभाविक हो । झन झन निरंकूश हुँदैछ नेकपा ।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुखदेखि सम्पूर्ण संवैधानिक पदहरु आफ्नो कब्जामा लिएको नेकपालाई कांग्रेसले उपसभामुख चाहियो भन्दासमेत टेरेन । सर्वोच्चको प्रधानन्यायाधीशको नियुक्तीमा कामु प्रधानन्यायाधीशको जन्मकुण्डली हेरेर विवाद झिकेको कारण नेकपा त्यहाँ पनि आफ्नो पकड खोजिरहेको बुझ्न सकिन्छ । नेकपाकरण एकमात्र सत्रापक्षको ध्येय रहेको छ ।
संसदमा कमजोर कांग्रेस, पार्टीभित्र गुटबाजीले कमजोर छ । हेर्दै गए हुन्छ आउने दिनहरु नेपालीका लागि अझकष्टकर हुनेवाला छन् । पञ्चायतको कालरात्रिलाई पनि बिर्साउने खालको कामाकारवाही सुरु भएका छन् । कालखण्डका कुनै बेला चमत्कार भएन भने ठूलो मूल्य चुकाउनु पर्ने दिन आउँदैछ । जतिसुकै लोकतन्त्रको दुहाई दिए पनि कम्युनिष्टहरुले कम्युन्यालिष्ट अर्थात एकतन्त्रीय तानाशाहीमा विश्वास गर्ने सबैलाई समेटेर प्रजातन्त्रवादीलाई मुठ्ठीको माखो बनाउने साजिस जो सुरु भएको छ । तैपनि कांग्रेसको होस आएको छैन ।
यो समस्याको निकास नियन्त्रण र सन्तुलन गर्न सक्ने राजसंस्थाको आवश्यकता छ । चाहे जुनसुकै रुपमा राखे हुन्छ, एउटा अभिभावकत्व चाहिने रहेछ । राजसंस्था र हिन्दुराष्ट्र भएन भने मुलुक बच्न मुस्किल छ, लोकतन्त्रको के कुरा गर्नु ? त्यसैले त डा.राजेश अहिराजले भनेका छन्– श्रीपेच सहितको लोकतन्त्र जरुरी भयो नेपालमा । नेता नसच्चिए गृहयुद्ध हुन्छ हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper