banner
banner

राजा महेन्द्र र प्रधानमन्त्री वीपीका केही घटनाहरु

स्वयम्भुनाथ कार्की -
भनिन्छ वीपी र राजा महेन्द्रको अनौठो सम्वन्ध थियो । विपीको नेतृत्वको सरकार भंग गराएर सुन्दरीजलमा नजरबन्द राखेको समयमा पनि राजा महेन्द्रले बेलाबेलामा राजकाजमा वीपीको सल्लाह सम्मती मागि रहेका हुन्थे भन्ने चर्चा पनि छन । यसै कितापमा पनि त्यसको छनक पाईन्छन । परिच्छेद ५९ मा एक रोचक घटनाको उल्लेख छ । बेलाइती राजदुत स्कोप्स आफ्नो कार्यकाल समाप्त गरेर जान लागेको बेलामा सुन्दरीजलमा वीपीलाई भेटन आए । वीपी भन्छन ‘दुई बर्ष भइसकेको थियो पञ्चायत व्यवस्था बनेको । तल्ला तहका पञ्चायत गठन भईसकेको थियो । त्यस सम्बन्धी कानुनहरु पनि बनिसकेका थिए । तर संविधान बनिसकेको थिएन ।’ यो संविधान बनाउन राजाले वीपीलाई पर्खेका थिए, उनी केवल पञ्चायत नाम कायम राखेर बाँकी सबै संविधान वीपीले नै आफ्नो सोच अनुसार बनाउन भन्ने चाहन्थे ।
यो कुराको प्रस्ताव वीपीसंग राम्रो सम्वन्ध भएको बेलाइती राजदुत मार्फत वीपीसमक्ष पठाएका थिए । जो उसले वीपीलाई राजा भेटने आग्रहको साथमा कारणको रुपमा यसरी बताएको थियो । 
‘राजा संविधान बनाउने मुडमा छन् । सोचिरहेका छन संविधान बनाउन । तपाई राजालाई किन मद्दत नगर्ने ? र, राजाले भनिसके , राजाको आफ्नो अहंकार हुन्छ । उनले पञ्चायत भनिसके । त्यसो हुनाले, उनलाई संविधानको नाम लेख्न दिनुस र तपाइले संविधानका प्रावधान लेख्नुस । मेरो यस सुझावमा तपाई सहमत हुनुभयो भने म राजालाई भेटन सक्छु, यद्यपि मैले हिजोको भेटघाटमा बिदा लिईसकेको छु । म काठमाण्डौंबाटको आफ्नो प्रस्थानलाई स्थगित गर्न सक्छु ।’  वीपीले यो कुरा मानेको भए के हुन्थ्यो भन्ने कुरा अहिलेसम्म विवेचन नै नभएको बिषय हो । यदि यो हुन सकेको भए उन्नाइस सालको संविधान सम्पुर्णरुपले नेपाली कांग्रेस अझ वीपीले नै मस्यौदा गरेको हुने थियो वा अघिल्लो संविधान मै केवल केही स्थानमा पञ्चायत उल्लेख गरेर संशोधन हुन पनि सक्ने थियो कि ?
वीपीको प्रधानमन्त्रीको रुपमा भारत औपचारिक भ्रमण भन्दा पहिले राजाको देश भ्रमणमा वीपी पनि साथ गएका थिए । परिच्छेद ४६मा यो घटनाको उल्लेख छ । राजाको भ्रमणमा नेपाली कांग्रेसको झण्डा लिएर नजिक आएकाको झण्डा शेरबहादुर मल्लले फ्याकेको कुरा उल्लेख छ । यहाँनेर वीपी अलि संकुचित देखिएका छन । नेपाली कांग्रेसको झण्डा लिएर आउनेहरु कुनै न कुनै रुपले नेपाली कांग्रेससंग पक्कै संवन्धित थिए होलान । तिनीहरु वीपीको निर्देशन बाहिर जाने थिएनन होला । राजा नेपाली कांग्रेसका मात्र होइनन त्यसैले त्यहाँ राष्ट्रिय झण्डा हुन उपयुक्त हुने थियो । तर वीपी यहाँ भन्छन, ‘राष्ट्रिय झण्डा लिएर स्वागत गर्न आउने कुरा त हुँदैन थियो ।’ प्रधनामन्त्री नेपाली कांग्रेसको अध्यक्ष पनि भएकाले वीपीको भ्रमणमा नेपाली कांग्रेसको झण्डा स्वभाविक लाग्ने थियो तर राजाको स्वागतमा राष्ट्रिय झण्डा ल्याउने कुरा हुँदैन थियो भन्ने कुरा अलि मिल्दो भने लाग्दैन । राजाले वीपीको मनितो भने राखेका छन्, भ्रमणमा वीपीका विरोधीहरुलाई नभेटेर । बरु वीपीले नै भन्नु पर्‍यो ‘सरकारका क्याम्पमा जोजो भेट्न आउँछन् भेट्नुपर्छ ।’ अनि बल्ल राजाले सबैलाई भेट्न लागे ।
कितापको परिच्छेद ४९ मा गण्डक सम्झौताको कुरा छ । राजालाई यस सम्झौतामा के भई रहेको छ त्यसको औपचारिक जानकारी गराईएको रहेन छ । उनले आफै बुझ्दा केहि कमजोरी भएको महशुस भएछ । यस कुरालाई उनले वीपीको ध्यान अनौपचारिकरुपले आकृष्ट गर्न गोदावरीमा चिया खान लिएर गए । गण्डकको नक्सा फैलाएर त्यस विषयमा छलफल भयो । राजाले माछा मार्ने हकको कुरा निकाले । यो वास्तवमा त्यस क्षेत्रको स्वामित्वको कुरा थियो जसलाई ‘अरु केही पाएनन राजाले, त्यो माछा मार्ने हकको प्रश्न उठाए’ भनेर हल्का रुपमा लिए । तर हरिशम्सेरले राजालाई दिएको विन्तिपत्र भने उनले गम्भिर रुपमा लिए । राजाले त्यो विन्तिपत्रको कुरा र त्यसबारे केही गर्न वीपीलाई भनेको उल्लेख भने किताप भरि कतै पाइन्न । राजाका ससुराले दिएको विन्तीपत्रलाई भने उनी भन्छन, ‘त्यो उनले एउटा ड्रामा गरेको पनि हुन सक्तछ मेरो भूमि सुधारहरुका कस्ता प्रतिक्रिया हुन थालेका छन भनेर ।’
परिच्छेद ५१मा अर्को घटनाको उल्लेख छ, त्यो हो इजरायल र पाकिस्तानसँग दौत्य सम्वन्ध स्थापित गर्ने बारेको । पाकिस्तानसंग दौत्य सम्वन्ध स्थापित गर्नुभन्दा पहिले वीपीले नेहरुको अनुमति लिए । नेहरुले भने ‘अब नजिकैको पाकिस्थानसँग नगर्दा हाम्रै दवावले नगरेको हो भनेर हामीलाई अप्ठ्यारो, तिमीहरुलाई पनि राम्रो हुँदैन । त्यो सम्वन्ध गरेकै असल छ ।’ यसले वीपीलाई पाकिस्तानसंग दौत्य सम्वन्ध जोड्न हरियो झण्डा देखायो । इजरायलसंग भने राजा त्यसबेला अरेवियन मुलुकको भ्रमणमा भएको हुनाले आफ्नो त्यो भ्रमण नसकिउन्जेल दौत्य सम्बन्ध नगर्न राजाले वीपीलाई पटकपटक आग्रह गरे । वीपीले त्यसमा ध्यान दिन आवश्यक नै ठानेन् । यसलाई राजाको अनावश्यक हस्तक्षेप सम्झन पुगे । यो दौत्य सम्वन्ध स्थापित हुने वित्तिकै राजाले अरेवियन मुलुकको भ्रमणलाई निरन्तरता दिन सक्ने वातावरण रहेन । कार्यक्रम बनिसकेको इजिप्टको भ्रमण विचैमा रद्द गरेर फर्कनु पर्‍यो । स्वतन्त्र विवेचन हुने हो भने यो घटना पनि सामान्य भने हैन, मुलुकको बागडोर लिएर बसेको कसैले पनि आफ्नो व्यक्तिगत छविको निमित्त अन्य पक्षहरु माथि विचार नपुर्‍याउनु पक्कै राम्रो भने हैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper