banner
banner

सरकारले अहंकार त्यागोस्

शाश्वत शर्मा -
वास्तवमा नेपाली सोझा नै हुन् । दुई तिहाई बहुमत प्राप्त वर्तमान नेकपाकोसरकारले आफ्नो ढाड खुस्किने गरी कर बढाइसक्यो । अहँ, नेपाली बोल्दैनन् । गत शनिवार काठमाडोंको नयाँ बानेश्वर र माइतीघर मण्डलातिर जुन किसिमको युद्ध भयो, त्यो युद्ध महगी, भ्रष्टाचार,राष्ट्रघातको शिर्षक राखेर हुनुपथ्र्यो । सीमा अतिक्रमण, तराई डुबेकोविरुद्धमा पनि लाग्नुपथ्र्यो । डा.गोविन्द केसीमात्रै किन ? डा. बाबुराम भट्टराईदेखि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसम्म, लेखक, मानवाधिकारवादी श्याम श्रेष्ठदेखि कलाकार मनिषा कोइराला, करिष्मा मनन्धरसम्म जनताको समस्यामा उत्रिए । रवीन्द्र मिश्र पनि थिए । ती कसैले राष्ट्रिय समस्याका बारेमा बोलेनन् । डा.गोविन्द केसी अनसनरत छन्, उनको जीवनरक्षा जरुरी छ । जरुरी देशरक्षा पनि छ, जनताको रक्षा पनि छ । सबै क्षेत्रको सुधार, सबै सवालविरुद्ध सरकारलाई सही ठाउँमा ल्याउनु नागरिक समाजको, बुद्धिजीवीको कर्तव्य हो । त्यसो हुनसकेन । सरकार अधिनायकवादी बन्दैछ ।
डा.गोविन्द केसीका माँग नेकपाका लागि जायज छ तर नेपालीका लागि नाजायज । तर्कवितर्क, द्वन्द्व बढेको छ । गोविन्द केसीलाई काठमाडौं ल्याएपछि वार्ता गर्छु भन्ने सरकार अव औषधि गरेपछि गर्छु भन्छ र पछि हटिन्न, गलिन्न भनेर भाषण पनि गर्छ । अव त शान्ति, समुन्नति, सुशासन देला भनेको सरकारले अपहरण शैली अपनाउन थाल्यो, अस्पतालभित्रै लाठीचार्ज गर्‍यो र राजधानीमा टियर ग्यास पड्कायो । हो, अस्पतालभित्र आन्दोलन गर्न हुन्न, सरकारले लाठीचार्ज पनि गर्न हुन्न । सरकार नै संविधानविरोधी भयो भने बाँकी के रह्यो र ? यतिबेला नागरिक समाज भनेर जो जो अगाडि आएका छन्, ती सबै जनताका सवालमा बोलेनन्, बोल्दैनन् । स्वार्थमा मौन छन् उनीहरु 
गंगामायाँले न्याय पाउनुपर्छ, डा.गोविन्द केसीले उठाएको माँग राष्ट्रिय माँग हो । यी दुबैमाथि राजनीति हुनुहुन्न । राजनीतिक रङ दिने, विदेशीहरुलेसमेत समर्थन गर्ने प्रयास भएको छ । यी दुबै जनाको मुद्दाले मुलुक ठप्प हुनुहुन्न, मुलुकमा सुधार कसरी गर्न सकिन्छ, त्यसबारेमा सरकारले जानकारहरुसँग वार्ता गरेर निकास निकाल्नुपर्छ । लाठी र टियरग्यासले टिकिने भए देशमा धेरै कुरा टिक्थ्यो, चल्थ्यो । छलाङ हान्ने कम्युनिष्टहरु किन कुरा बुझिरहेका छैनन् ? सत्तामा बसेर जनताको कुरा सुन्ने कि निकट सहयोगी माफियाहरुको ?
रोजगारी खोज्न युवा विदेशीने क्रम जारी छ, यसबारेमा किन कोही बोल्दैनन् । सीमा अतिक्रमण भइरहेको छ, बुद्धिनारायण चिच्याइरहेका छन्, किन कोही त्यता हेर्दैन । धर्मपरिवर्तन खुलेआम भइरहेको छ, संविधान किन रोक्दैन । सहरबजार फोहरले ढाकिसक्यो, किन अगुवाहरु नाक थुनेर हिड्छन्, मुख खोल्दैनन् । समस्या अनेक छन्, चुनौती धेरै छन् । समस्या र चुनौती नेकपाको सरकारले मात्र गर्नसक्छ भन्ने जुन अहंकार पालेको छ, त्यो उचित होइन । अहंकारले डुबाउँछ, समस्याबाट माथि उतार्न सम्भव पनि छैन ।
चिकित्सा शिक्षा एउटा पाटो हो, एउटा क्षेत्र हो । राज्यका सबै सञ्जालहरु भ्रष्टाचार, कमिशन र माफियाको रोगले ग्रस्त छन् । यो रोगको निदान गर्न राष्ट्रिय सहमति नै चाहिन्छ । सबैको प्रयासले मात्र राष्ट्रलाई स्वस्थ बनाउन सकिन्छ । एउटा क्षेत्रको आन्दोलनमा, गंगामायाँ र डा.गोविन्द केसीको नैतिक आन्दोलनमा नैतिक समर्थन गर्नुपर्छ, अनैतिक भएर राजनीतिक लाभ लिन पार्टीको झण्डा बोकेर दगुर्नुले राष्ट्रिय नैतिक बलमा क्षति पुग्छ, उनै माफियाहरुलाई बल पुग्छ । यो समय विकृतिका विकारहरुसँग लड्नु हो, बढाउनु होइन ।
डा.केसीले चिकित्सा शिक्षा सुधारको माग राखे, गंगामायाँ न्यायको माँग गरिरहेकी छिन् । अन्य क्षेत्रको सुधारका लागि सम्बन्धित निकाय, व्यक्तिहरु उठ्नुपर्छ । यी सबै आन्दोलनेको ध्येय सरकारलाई माफियाको मतियारबाट बचाउन र जनताइच्छामा समर्पित हुन बाध्य पार्नु हुनुपर्छ ।
बाढी पहिरोले जनता आक्रान्त छन् । भूकम्पपीडित अझै छाप्रामा छन् । चुहिने जस्ता, पालमुनी छन् । तिनको आवाज चाहिं कसले बोलिदिने नि ? आन्दोलनको ज्वारभाटा होइन, अव विवेकपूर्ण तरिकाले गल्ती सच्याएर शान्ति, सुशासन र समृद्धि ल्याउनुपर्छ । यसका लागि सरकारले अहंकार त्यागोस् । अहंकार आगो हो, आगोसँग खेल्नु भनेको खरानी हुनु हा । चेतना भया ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper