banner
banner

फेरि टियरग्यासको पीरो

गंगा दाहाल -
साउन ५ गते फेरि टियर ग्यास पड्क्यो । जुम्लापछि राजधानीमा पनि लाठीचार्ज गर्नुपर्‍यो । जुलुस शान्तिपूर्ण पनि गर्न सकिन्थ्यो, कांग्रेसले नेविसंघ उतारेर प्रहरीलाई टियर ग्यास हान्न बाध्य पारेछ । उपलव्धि के भो त्यो कांग्रेसलाई थाहा होला, अशान्ति र अराजकता बढ्ने बढाउने संकेत देखियो ।
हामीले खोजेको शान्ति, स्थिरता र समृद्धि हो । सुशासन हो । जनमतले नेकपालाई त्यो जिम्मेवारी सुम्पेपछि नेकपालाई सहयोग गर्नु सबैको कर्तव्य हो । नेकपाका नीति गलत छन्, निर्णय गलत छन् भने नेकपा सच्चिनुपर्छ, नेकपालाई सचयाउन जनदबाब पनि दिनुपर्छ । नेकपाले देश विकासको सपना देख्छ र सपना साकार पार्न अघि बढ्छ भने त्यो सपना सबैको सपना हुनुपर्छ । नेकपाको हातमा शासन छ, हिजो कांग्रेसको नेतृत्वमा थियो । शासन जोसुकैको कमाण्डमा होस्, देश जनताको कमाण्डमा हुनुपर्छ, देशभन्दा माथि कोही छैन ।
जनादेश नेकपाको पक्षमा छ । जनबल जाँच्ने सडकले होइन । बिर्सनै नहुने सत्य के पनि छ भने जनादेश पञ्चायतका पक्षमा थियो, सडकको बलले पञ्चायत ढल्यो र बहुदल आयो । बहुदलको हर्ताकर्ता कांग्रेस थियो, कांग्रेसले राजालाई सत्ता सुम्पियो र राजाको शासन थियो । राजाको शासनलाई पनि सडकको जनअसन्तुष्टिले मात थियो र जनताले परिवर्तनलाई साथ दियो । लोकतन्त्र आयो ।
यसकारण सत्तामा बस्नेको निर्णय जनअपेक्षाअनुसार हुन सकेन, जनतालाई सन्तुष्ट पार्न सकेन भने सत्ता परिवर्तन हुनेरहेछ । सडकले परिवर्तन ल्याउने रहेछ, आज नेकपा सत्तामा छ, नेकपाका शीर्ष नेताहरु संघर्षबाट आएका हुन् । सडक तताएर, जेलनेल भोगेर, ज्यानबाजी थापेर र जनताको पक्षमा सशक्त भूमिका निर्वाह गरेरै यहाँसम्म आएका हुन् । यी सबै नेता जनपक्षीय नेता भएकाले यिनले कतै चुक भयो कि भनेर आत्ममिमांसा गर्नैपर्छ । बिरोधका लागि विरोध हो भने त्यस्तो विरोधले सत्ता हल्लिन्न, हल्लिनु पनि हुन्न । जनअसन्तुष्टि साथमा छ र जनअसन्तुष्टिको विरोध हो भने जनताको मतबाट बनेको सरकारले जनता के चाहन्छ, त्यसमा गम्भीर हुनैपर्छ । जनताभन्दा माथि नेकपा थिएन, छैन ।
लोकतन्त्रमा निर्णय संसदबाट हुने हो । संसदमा जनप्रतिनिधि छन् र संसद सार्वभौम शक्ति सम्पन्न छ । यथार्थ के पनि हो भने संसदमा दुई तिहाईको समर्थनसहितको सरकार हो यो । संसदबाट जे पनि पास गराउन सक्छ, संविधान संशोधन गर्ने ताकत पनि छ यो सरकारसँग । ताकत छ भन्दैमा सरकारले अहं देखाउनु गलत हुनेछ । जनमतको ताकत ५ वर्षका लागि हो । जनमतको ताकत जनताको भावनाको प्रतिनिधित्व गर्नका लागि हो । जनमतको ताकत लोकतन्त्रलाई मजबुत पार्न र लोककल्याणकारी शासन चलाउनका लागि हो ।
सरकारका निर्णय, सरकारमा बस्नेले देखाएको क्रियाकलाप लोकतन्त्रका गरिमा महिमा, विशेषता प्रतिकूल पो भयो कि ? अन्यथा यति ठूलो बौद्धिक आन्दोलन बिना जनसमर्थन हुनसक्दैन । यतिबेला जुन आन्दोलन देखिएको छ, सरकारले लाठी र टियर ग्यास हान्नु परेको छ, त्यो झेल्ने जनबल चुनाव हरुवा कांग्रेस अथवा अरु साना दलका बचपनामात्र हुनसक्दैन । त्यसैले नेकपाको सरकारले आन्दोलनको जरो पत्ता लगाउन अबेर गर्नुहुन्न । जनताले बनाएको सरकारले अव जनतामाथि नै टियर ग्यास र लाठी बजार्नु पनि हुन्न । राजनीतिमा चुनावी जित भनेको प्राविधिक जीतमात्र हुन्छ । त्यो प्राविधिक जीतलाई नैतिक बन्धनमा अडिएर जनादेशको साँचोमा ढाल्न सकिएन भने यो जित अल्पसमयका लागि पनि हुनसक्छ । नेकपाले १० वर्षमा नेपाललाई स्वर्ग बनाउने सपना देखेको छ, नेपाललाई सुशासन र समृद्धि दिने एजेण्डा बोकेको छ । त्यसकारण नेकपाले कसैको प्रभाव र दबाबमा अडान लिएको हो भने छोड्नुपर्छ र जनकल्याण कसरी हुन्छ, जनअसन्तुष्टिको संवोधन कसरी हुनसक्छ, कसरी जनताले स्यावास सरकार भन्छ, त्यसतिरको सोच राखेर निर्णय गर्दा सरकार सानो हुन्न, सरकारले प्राप्त गरेको दुई तिहाईको ऐतिहासिक राजनीतिक शक्ति कमजोर पनि हुन्न । जसरी पनि देशमा शान्ति ल्याउनुपर्छ, समृद्धिमा लाग्नुपर्छ । टियर ग्यास र लाठी रोकिनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper