banner
banner

जो आफै दास छ, दासबाट के आश गर्ने ?

राजन कार्की- 
युद्ध जित्नेको नाम चंगेज खान थियो । चंगेज वीरताको नाम, विजयको नाम थियो, बलियो राष्ट्रवादको नाम थियो, देशघातकको नाम थिएन । नेपालका सन्दर्भमा प्रचण्ड, ओलीहरु संघर्ष जितेर चंगेज त बने, वीर बन्न सकेनन् । तिनले हाँकेको लोकतन्त्रमा लोक देखिदैनन्, उनीहरु बास्सा बनेका छन्, लोक गुलाम । हामीसँग लोकमत छ, जे पनि गर्नसक्छौं भन्ने अहंकार चंगेज हुनसक्दैन । धर्मनष्ट भएपछि अहंकार जन्मने हो, अहंकारी धर्माधिकारी बन्न सक्दैन । कार्टरले कोइरालालाई दक्षिण एसियाको नेता भनेका थिए, आज कोइरालाको जन्मजयन्तीमा २० जना पनि जम्मा भएनन् । राज्यले सलामी दिने र कार्यकर्ताले मलामीको काम गर्ने, आमनागरिकले नसम्झने व्यक्ति राजनेता बन्न सक्दैन । दिल्लीको जे खायो त्यही पचायो हाजमोला खाने लत बसेकाहरुलाई यो कुरा अपच होला, तर सत्य यही हो ।
१८१६ को सुगौली सन्धि गरेर हामीले किल्ला काँगडा गुमायौं । त्यसपछि मन्द अतिक्रमण, १९५० को शान्ति तथा मैत्री सनिधपछि गतिमान बन्यो । स्थिति यस्तो सिर्जना हुनपुग्यो कि न हाम्रा सीमा सुरक्षित छन्, न स्वराज ।
व्यक्तिको व्यक्तिगत धर्म, घरको घरेलु धर्म, गाउूको गाउूले धर्म, समाजको सामाजिक धर्म, संस्थाको संस्थागत धर्म, राष्ट्रको राष्ट्रिय धर्म हुन्छ । यो शताव्दिमा त मानवाधिकार प्रमुख धर्मको रुपमा देखा परेको छ । देशभित्र यी धर्महरुको स्थिति बलियो छ कि कमजोर ? यही एउटा प्रश्नले हामीलाई घरको न घाटको बनाइदिएको छ । किनकि हामीले राजनीतिलाई आयातनिर्यात गर्ने कम्पनी बनाइदियौं । घरदेखि सडकसम्म, सदनदेखि सरकारसम्म धर्म छैन ।
नेपाल उभिएको त्रिखुट्टी भनेको धर्म, राजसंस्था र सेना हो । धर्म बिनास गरिसक्यौं, राजसंस्थालाई किनारा लगाइसक्यौं, सेना छ, सेना निस्प्रभावी छ । पछिल्लोपल्ट प्रधानसेनापतिले देशको शान्तिसुरक्षा, ऐक्यवद्धता र स्थिरताका लागि सेना सचेत छ, सक्षम छ भन्ने अभिव्यक्ति आयो तर अभिव्यक्तिमा पुच्छर जोडियो– सरकार र संविधानले दिएको कार्यादेशअनुसार । जनता र देशलाई शिरमा राखेर डमरु र त्रिशुललाई शक्तिको स्रोत मान्ने सेना स्वत: धर्म सापेक्ष छ । कूलपूजा र मूलपूजा गरेर अहोरात्र खटिने सेनाको आन्तरिक र बाह्य जिम्मेवारी छन्, बाह्य जिम्मेवारी त बखुवी निभाइरहेको छ सेनाले, आन्तरिक जिम्मेवारी व्यापक छ र व्यापक जिम्मेवारी पूरा गर्न नेपाली सेनाले खुट्टा लरबराउने, लरतरो हिसावले सम्भव छैन, शुरवीरताको साहस देखाउनै पर्छ । राजनीतिलाई आफ्नो कोर्समा छाडिदिने, राजनीति असफल हुनासाथ सेना सक्रिय भइहाल्नुपर्छ । नेपाली सेना राष्ट्रिय धर्मप्रति सचेष्ट छ भन्ने विश्वास जनजनमा छ, यही विश्वासको सम्मान राख्नुपर्ने दायित्व छ सेनामा ।
खुलस्त भइसक्यो– संसददेखि सर्वोच्चसम्म, नागरिक समाजदेखि सिंहदरवारसम्म दाताहरु दान दिइरहेका छन् र नेतादेखि कार्यकर्तासम्म दानको पोखरीमा पौडिखेलिरहेका छन् । विदेशीले दिएको कार्पेटमा हिड्ने, मेचमा बस्ने, सुखानुभूति र सुविधाभोगी बनेका भोजभट्टहरुले गर्ने निर्णयमा नेपाली सुगन्ध भेटिएला कि विदेशी दुर्गन्ध ? कोही सीमा मिच्ने, कोही शासनमा किला ठोक्ने, कोही दिमाग भुट्ने, सकेसम्म नेपाललाई लुट्ने, हामीभित्र दास प्रवृत्ति बढेकै हो । स्वाभिमान साूघुरिएकै हो । हाम्रै छातीमा हामीलाई नै फुटबल ठान्ने ? विदुरनीति भन्छ– कुनै पनि काम समूहमा गर्नु उपयुक्त हुन्छ । यहाू जे काम भइरहेको छ, गुटमा, गुटको स्वार्थमा भइरहेको छ । बुद्धले भनेजस्तै हाम्रा नेताहरु ‘कुरा अनुसारको काम नगर्दा बास्नाहीन फूलजस्तै’ बने ।
१९७५ मा सिक्किमलाई भारतमा मिलाउने योजना (भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसस् विङ) ‘र’ को थियो । त्यसपछि नेपालको मधेसलाई भारतमा मिसाउने योजना रहेको थियो, ‘र’ को त्यो उद्देश्य त्यसपछि भारतमा उत्पन्न निरन्तरको राजनीतिक अस्थिरता र १९७७ मा इन्दिरा गान्धीको पराजयका कारणले आजसम्म सम्भव भइसकेको छैन भनेर ‘र’का पूर्वअधिकारी आर के यादवले ‘मिसन ‘र’ पुस्तक लेखेरै खुलस्त पारिदिएका छन् । पुस्तकमा यसबारे ‘र’का संस्थापक काओले उनलाई जानकारी दिएको पनि उल्लेख छ ।
नेपालमा थिङ्क टेंक छन् भने तिनले यो पुस्तक पढेकै हुनुपर्छ । पढेर पनि मुख नखोल्नेहरु निदाएको बहाना गरिरहेका छन् । सार्वभौम, स्वाधीन र लोकतन्त्रको मन्त्र जपेर नथाक्ने राजनीतिक प्राणीहरुलाई ०६३ को जनआन्दोलनले बलवान बनाएको छ । ०७२ को संविधानले कम्युनिष्टलाई पहलमान । यी बलवान र पहलवान नेताहरु कोही पनि राष्ट्रिय अस्तित्व कुन हालतमा पुगेको छ भनेर चुूइक्क बोल्दैनन् । जमाना थियो, भारतका प्रकाश नारायण भन्थे– यी कस्ता नेता हुन् जो नेपाललाई भारतका सामु नतमस्तक बनाउन दिल्ली आइरहन्छन् । त्यो कालखण्ड र यो कालखण्डमा भिन्नता रौं बराबर छैन, किनकि हाम्रा नेताहरुको राजनीतिक बैतर्णी बागमती बन्न सकेन, दिल्लीको यमुनाकिनार नै कायम छ । राजा, धर्म मास्ने, सेनालाई संविधानको नागपासले बाँध्नेजस्ता ठूला ठूला परिवर्तन त भए, नेतृत्वदायी व्यक्तिहरु दास मनोवृत्तिबाट माथि उठ्न सकेनन् । दास त दास नै हो, मालिकको सेवा गर्नु उसको धर्म हो । दासबाट के आश गर्ने ?
श्री ३ चन्द्रशमशेरले उहिल्यै दासप्रथा उन्मूलन गरिदिएका हुन् । उबेलाको कुरा कूबेलामा, अहिले देशभित्र खड्ग र प्रचण्ड नागरिकलाई दास बनाउने साँचो बनेका छन्, उनीहरु आफै विदेशीका सामु लम्पसार । लियो टल्सटायले दासताका तीन रुप हुन्छन् भनेर लेखेका थिए, दासताका सबै रुप लोकतान्त्रिक नेपालमा विद्यमान छन् । ०७५ साल असारको अन्तिम हप्ता ब्रम्ह चेलानीले नेपालमाथि भारतले ज्यादति गर्दै आएको छ, नेपालसँग माफी माग्नुपर्छ भनेर के लेखेका थिए, केही नेपाली बुद्धिजीवीले पो आलोचना गरे । गिदी बस्ने ठाउँमा गोबर भरिएपछि दासता त बढ्नै नै भयो नि ।  
भारतीय सेनाका कर्नल गौतमले ‘नर्दर्न सेक्युरिटी अफ इण्डिया’ पुस्तक लेखरै १९५० मा नेपाललाई भारतमा नमिलाएर नेहरुले हिमालय भूल गरे, त्यो भूललाई भारतले छिटोभन्दा छिटो सच्याउनु पर्छ । जनआन्दोलन, जनयुद्धका नाइकेहरु जो देशरक्षा र बिस्तारवादबिरुद्ध सुरुङयुद्धसम्मको उद्घोष गर्थे, उनीहरु यतिबेला दास जसरी लम्पसार परेका छन् । सत्तामा पुग्यो कि निहुरीमुन्टी न हुने कस्तो क्षयरोग लाग्यो हाम्रो देशका शासकबर्गलाई ? राजनीतिक क्रान्ति सकियो, अव आर्थिक क्रान्ति सुरुभो भन्नेहरु उही तस्कर, माफिया, भ्रष्ट, अनैतिकहरुसँग रातो चामलको भात खाएर डकार्न थालेका छन् । बटुवा हिड्न बाटो छैन, गाडी हिड्ने सडक छैन, गरिखाने वातावरण छैन, प्रत्येक नागरिकको टाउकोमा २४ हजार ऋणको बोझले थिचिसक्यो, तत्काल असम्भव रेलका कुरा, पानीजहाजका हलकारा बनेर छलकारा कुरा गरिरहेका छन् । नेपालको नेतृत्व सम्हाल्ने नेताहरु स्वतन्त्र नेपालका धरहरा बन्न सकेनन् । राजनीति छ तर राजनीतिभित्र राष्ट्रवाद मैनबत्ती पग्लिएझैं पग्लदै र सिन्के धूप सल्किए झैं सल्कदै सकिदै गएको छ ।
राजतन्त्र फालेपछि रामराज्य आउूछ भन्ने यिनै हुन् । हिन्दुधर्म फालेपछि समृद्धि हुने मान्यता राख्ने पनि यिनै हुन् । सेनालाई राजनीतिमा मुछ्न सकियो भने एकछत्र साम्राज्य हुनेछ भन्ठान्नेहरु पनि यिनै हुन् । देशलाई दास पोखरीमा चुर्लुम्मै डुबाएर यिनीहरु आफू त समृद्ध भए, सम्पन्न भए । संविधान बनेपछि, चुनाव सम्पन्न भएपछि सिंहदरवार घरघरमा पुग्छ भनिएकै हो, सिंहदरवारको भ्रष्टाचार र अनैतिकता छताछुल्ल हुनपुग्यो । निगरानी र नियमन गर्ने निकाय लुते पारिएपछि कुखुराचोर बनबिरालाहरु बाघ बनेका छन् ।
र, संविधान नमान्ने ठस्किएकै छ, संविधान मान्ने महन्थ ठाकुर आज पनि मधेश अलग देश भनिरहेकै छन्, राजेन्द्र महतोको पुरानो श्वर हामी भारतवादी हौं, अहिले पनि कायमै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर पुगेर भाषण गरेर फर्किएका थिए, भारतका विदेशमन्त्रीले जनकपुरमा भारतवासीलाई संवोधन गरेको तर्क दिइन् । यति हुँदा पनि कुनै नेता वा बुद्धिजीवीको मन बिझाएको देखिएन ।
राजदरवार छोडेर नागार्जुनबास गएका पूर्वराजा ज्ञानेन्द्रको मनखत एउटै छ– राष्ट्रियताको धून सुन्न पाइएन । जनताले खोजे म यहीू छु भन्ने पूर्वराजा नेतृत्व लिन पनि तैयार भएका हुन् । तर, उनले नेतृत्व लिने तरखरता देखाएनन्, आमनागरिक राजाको पछि पछि लागेर पुच्छर निमोठिरहेका छन् । के हो के हो भन्ठानेर प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवस मनाउन आफै निम्तो जाने कुरा गरे । राजनीतिक गुत्थी सुल्झिएको छैन, राष्ट्रिय मुद्दाहरु सल्टिएको छैन, साधुलाई शूली, चोरलाई चौतारो शासन चलिरहेको छ ।
प्रजातन्त्रवादीलाई ब्यालेटले पछारेर कम्युनिष्टहरु बाघ बनेका छन् । चरीत्रले दासहरुलाई के चाहियो, राष्ट्रघातका वागन्याक (काँडे पञ्जा) लिएर बाघझाप्पु हान्न तैयार देखिन्छन् । यसकरण स्वाधीनतावादीहरुका लागि यो समय सतर्कताको समय हो ।
अहिलेका प्रधानमन्त्रीले राज्यबाट १८ करोडको उपचार खर्च लिए । उपचार खर्च नलिने बिरलै नेता होलान् । यिनको सरकारले बालबृद्ध जोसुकै विरामीबाट समेत ५ प्रतिशत कर उठाइरहेको छ । जनताले बोल्दै नबोली कर तिरेर नेताहरुलाई सित्तैमा उपचार गराइदिनुपर्ने कम्युनिष्ट सरकार हो कि कम्युन्यालिस्ट ? यिनले जनताको काम गर्ने रे ? जिम्मेवारी पूरा गर्ने रे ? कसरी पत्याउन सकिन्छ र ?
लुकाएर नलुक्ने कुरो के हो भने हाम्रा नेताहरु हामीतिर फर्केर, इमान्दारिता अन्तै देखाइरहेका छन् । दासबाट के आश गर्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper