banner
banner

ओलीमा अलबर्टोको झझल्को

शाश्वत शर्मा -
अलबर्टो फुजिमोरी पनि पुपुलिस्ट भोट पाएर सत्तामा पुगे, त्यसपछि अधिनायकवादी बने । केपी ओलीले पनि पपुलिस्ट भोट पाएर सत्तामा पुगेका छन् र उनका क्रियाकलापले उनको कार्यशैलीमा अधिनायकवादको झझल्को आउन थालेको छ ।
उहिले पञ्चायतलाई अप्रजातान्त्रिक र निरंकूश भनेर आरोप लगाइन्थ्यो । किनभने विपक्ष थिएन । त्यतिबेला पञ्चायत इतरकालाई गलत कामको बिरोध गर्न रोक थियो । जनताले शासन गरेको होइन, राजाको शासन थियो । त्यो पनि निरंकूश शैलीको शासन । यस्तो आरोप लागिरहदा जनमत संग्रहजस्तो अभ्यास भयो र तिनै राजाले ०४६ सालमा दलमाथिको प्रतिवन्ध फुकुवा गरिदिए ।
०४६ सालदेखि ०६२ सालसम्मको बहुदल बहुला चालमा बित्यो । त्यो कालखण्डलाई चलाउनेहरु नै भन्छन्– पञ्चायत कालरात्रि थियो भने यो भ्रष्टाचारको युग थियो । गिरिजाको तानाशाही भनेर कराउने यिनै हुन् । अझ स्वादलाग्दो घतलाग्दो कुरा के छ भने प्रजातान्त्रिक भनिने त्यो युगमा पनि सत्तापक्षले सधैं प्रतिपक्षलाई दबाइरहे । आफ्नै पार्टीभित्र सक्नेले दमन गर्ने, नसके राजालाई गुहर्ने सम्मका क्रियाहरु पनि देखिए । जनताले त्यो तमासा हेरिरहे । सहिरहे । राष्ट्रिय संस्था र सम्पदा डुबे डुबोस्, उनीहरु स्वार्थको पोखरी बनाइरहे, पौडिखेलिरहे । राष्ट्रघात जनघातका सूची लामो हुनसक्छ । तर, जाल यस्तो बुनियो कि सबै भ्रष्टाचार, अनीति, अत्याचार, दुराचारको कोपरा राजतन्त्रमाथि खन्याइयो । देशी विदेशी ताकत, बहुदले र आतंकवादसमेतको हाइड्रोजन बम तैयार गरियो र राजसंस्थामाथि पड्काइयो । राजसंस्था सिध्याउन सबै एक भए ।
राजतन्त्र रोग हो, यो रोगको निवारण गर्नसके देश स्वर्ग बन्ने सपना बाँडियो । सामन्त राजतन्त्र नै हो, जसले देश विकास गर्न बाधा हाल्यो भनेर राजतन्त्रमाथि ढुंगामूडा गरियो, जोरजबरजस्ती घेराबन्दी गरेर पहिले बिबस पारियो अनि आफू बलियो भएपछि बलजफ्ती राजतन्त्र उन्मूलन गरियो । हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष, महगो संघीयता ल्याएर अव सिंहदरवार गाउँ पुग्छ, देश स्वर्ग हुन्छ भनेर भ्रम छरियो । आमनागरिकलाई यसरी लठ्ठ पारेर पार्टी र नेताहरुले उही निरंकूशता लादे, उही भ्रष्टाचारमा डुबे, नैतिकहीनता र गैरजिम्मेवारी यिनको लत बनेको छ, स्वार्थमा यिनकोलत बसेको छ । गणतन्त्रमा वर्ष वर्ष दिनमा सरकार परिवर्तन भएको यिनको स्वार्थका कारणले हो । सिद्धान्तविपरितका नेताहरु अँगालो मारामार गरेर सत्ता चलाए । नाटकीहरुको नाटकले लोकतन्त्र बदनाम भइसकेको छ ।
नयाँ चास्नी वितरण सुरु भएको छ । संविधान जारी भयो, संविधानअनुसारका चुनावहरु पनि सम्पन्न भए । संविधान कार्यान्वयन भएपछि मुलुकको कायापलट हुन्छ भन्न थालेका छन् । जनताले यिनलाई साथ दिए, कुनै पनि यिनको निर्णयमा बिरोध र बाधा हालेनन् । तर भूकम्प र बाढीपहिरो पीडितको जुन दुर्दसा छ, यिनको जुन प्रकारको संवेदनहीनता देखिन्छ, त्यसबाट यिनीहरुजति सामन्त अरु छैनन् भन्न करैलाग्छ । यिनले सर्वसत्ताबादी बन्नकै लागि, नेपाललाई अधिनायकवादमा पुर्‍याउनकै लागि एमाले र माओवादी केन्द्र मिलाएर र त्यसमा फोरमलाई समेत सामेल गराएर नेकपाको शासन चलाउन थालेका छन् । यिनले अव स्थिर सरकार बन्यो, देश समृद्धि र सुशासनतिर लाग्यो भनेर पटक पटक भनेका छन्, त्यस्तो अनुभूति कसैलाई भएको छैन ।
अव नेकपाको सरकारले एकपछि अर्को निरंकूश चरित्र देखाउन थालेको छ । केही नपाउँदा प्रजातन्त्रवादी बन्ने, सत्ता पाउनासाथ अधिनायकवादतिर ढल्कने, यही हो नेपाली कम्युनिष्टको चरित्र । यो सरकारले बिरोध गर्ने नागरिक हकलाई  साँघुरिन लगाइरहेको छ भने संस्कृत विश्वविद्यालयका उपकूलपतिलाई अपहरणको शैलीमा दमन पनि गर्‍यो । यता गृहमन्त्री रामबहादुर थापाले ट्रमा सेन्टरका डाक्टरलाई गृहमन्त्रालय डाकेर सध्ये व्यक्तिलाई अपांग भनेर सिफारिस गर्न दबाब दिए । डा.गोविन्द केसीको अनसनलाई अधिनायकवाद ल्याउन खोजेकोसम्म आरोप लगायो । जबकि आमनागरिक, डाक्टरहरु केसीको पक्षमा सडकमा उत्रिसकेका छन् ।
जनताले पटक पटक कसैलाई बहुमत नदिएर मिलेर देश चलाउन भनेका थिए । यसपटक नेकपालाई बहुमतमात्र होइन, दुई तिहाईकै अवसर दिएका छन्, निरंकूश बनेर जनतामाथि नै जाइलाग्न थाल्यो सरकार । अरु मन्त्रीका चाल ताल पनि निरंकूश शैलीका छन् । तिनका निर्णय लोकतान्त्रिक देखिदैनन् ।
उतिबेला एउटा राजा निरंकुश थियो भनियो, अहिले सयौं महाराजाहरु निरंकूश बन्न थालेका छन् । राष्ट्रप्रति, जनताप्रति उत्तरदायी कोही देखिएनन् । मौका मिल्नासाथ जनतामाथि, देशमाथि झम्टिहाल्ने । अव नेपालीका हातमा छ केपी शर्मा ओली, प्रचण्ड, रामवहादुर थापाहरुको दुई तिहाइृको घमण्डलाई सहेरै बस्ने कि यो सरकारमात्र होयन, यो भाँडतन्त्रलाई लोकतन्त्रको साँचोमा ढाल्ने ?
अहिले जो जे छन्, ती सबै राष्ट्रवादी होइनन्, विकासवादी र लोकतन्त्रवादी पनि छैनन् । यिनीहरु सबै खाओवादी हुन्, अवसरवादी हुन् । आमनागरिकले अव पनि यति कुरा नबुझ्ने ?
र, ओलीको अलबर्टो काँचुलीलाई सहिरहने ?

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper