banner
banner

नेपालमा शाह बंश : यथार्थ

स्वयम्भुनाथ कार्की -
गोरर्खालीहरुको काठमाण्डौमा विजयलाई वर्तमान नेपालको शुरुवात मान्ने गरिन्छ । यसो हुँदा सन २००८मा राजा ज्ञानेन्द्रलाई पाखा लगाएको अनि नेपालको शुरु भएको बर्ष सन १७६९ बिच २ सय ३८ बर्षको कालखण्ड हुन आउछ । यो कालखण्डमा राम्रा काम हुन नसकेको भन्ने प्रायोजित हल्ला मच्चाउने रोजगारी आकर्षक छ । अझ यस बेला भएका नराम्रा कामको जिम्मेबारी एकोहोरो रुपमा शाहवंशलाई दिएमा त तुरन्तै ख्याति प्राप्त विद्वान मानिने आत्मघाती चलनको दुष्परिणाम देखिन थालेको छ । यस चलनमा नराम्रो कामको दोष शाहवंशलाई दिए पनि राम्रो कामको जस भने अरुको भाग लगाउनेहरु छन् ।
यो दुष्प्रयासलाई राजा वीरेन्द्रको शासनकालदेखि पुन:स्र्थापना भएको दरवार बरिपरीको प्रभावशालीहरुको पर्खालले मलजल गरेको छ । यो ती प्रभावशालीहरुको राजालाई घुक्र्याउने हतियार बन्यो । रणबहादुर शाहको पालादेखि बन्न शुरु भएको यो पर्खालले गर्दा  नेपालको इतिहासमा हमेशा दाग लगाउने काम गर्‍यो । यसलाई राजा त्रिभुवनले केही भत्काउन खोजेका थिए अनि राजा महेन्द्रले करिव करिव ध्यस्त पारेका थिए । वेलाईतमा काम केही गर्न नपर्ने केवल मान र खर्च पाउने राजसंस्था देख्दा त्यस्तै बन्न खोज्ने प्रयत्नले आफ्ना बुबाज्यूले ध्वस्त पारेको जनता र राजा बीचको पर्खाल फेरी खडा हुन गयो ।
बडामहाराज पृथ्वीनारायण शाहले गोरखाको राजा भएको २६ बर्ष पछिको लगातार कोशिस पछि काठमाण्डौ जिते । काठमाण्डौमा राजसुख भोगेर बस्न भन्दा नेपालको विस्तार गर्ने योजना र कार्य गरेर नुवाकोटमा ब्यस्त हुँदैमा अर्को ६ बर्ष बित्यो । त्यस पछि उनको छोरा प्रताप सिंहले राज्यरोहणको २ बर्ष मै कलिलै उमेरमा देहत्याग गरे । यस पछि नेपालमा शिशुराजाको परंपरा शुरु भयो । यो शिशुराजाको परम्पराले गर्दा राजाको वरिपरि भारदार, नातेदार, प्रभावशालीहरुको पर्खाल बन्यो । २ बर्षका राजा रणबहादुर शाहको नायबीको दावीमा देबर भाउज्यूको कलह शुरु भयो । यो कलहले बहादुर शाह जस्ता वीर पुत्र तथा समर्थवान राजपुरुष नेपालले गुमाउन पुग्यो । 
यस पछिका दिनमा नेपालमा राजाको भन्दा रानीको हालीमुहाली चल्ने अनि रानी रिझाउन मनपरि गर्ने प्रभावशालीले जहानिया शासन नै स्थापना गरे । जो २००७ सालसम्म कायम रह्यो । सन १७७७मा दुईबर्षे रणबहादुर शाह गद्दीमा बसेको समयदेखि सुरु भएको थपनाको राजाको युग राजा महेन्द्रले सन १९५५ तिर करिव १८६ बर्ष पछि तोडे । यो समयमा १०४ बर्ष राणाहरुले एकलौटी पर्खालको भुमिका निर्वाह गरे पनि बाँकि रानीहरु, विभिन्न भारदार, खलक र केही हिस्सा राजनीतिकर्मीहरुको भागमा पनि पर्न आउँछ । सन १९७६ (२०३२ विसं) तीर नै  राजा विरेन्द्रले फेरी राजा खोपीमा रानी सत्तामाको अबस्था शुरु गरे । देशवाशीहरुलाई इतर र भितरमा वाड्ने काम शुरु भयो । महेन्द्रले भत्काएको राजा र जनता विचको पर्खाल फेरी अझ मजवुत भएर आयो । चाटुकारले घेरिएको दरवारले आफुलाई माया तथा सम्मान गर्ने जनताको झल्कोसम्म देख्न पाएन भने जनताले त राजा केवल तस्विरमा मात्र देख्न  पाउने परिस्थिति पैदा भयो । यो परिस्थिति यत्तिसम्म खराव भयो कि झण्डै राजा त्रिभुवनको साखा सन्तान नै समाप्त भएको थियो । 
यस अबस्थामा परिवार समाप्तीको पिडामा केहीले लगाएको लान्छना समेत थपेर राजा ज्ञानेन्द्र सत्तामा बसे । त्यसवेला सर्वसाधारणले जस्तै सामाजिक जीवन शुरु गरिसकेका राजा ज्ञानेन्द्रले त यो पर्खाल छिचोल्लान भन्ने आशा गरेका थिए । केही त्यस्ता लक्षण नदेखिएका पनि होईनन् । तर केही समय शिथिल भएर ढल्ला कि भने जस्तो भएको पर्खाल अझ मजवुत भएर आयो । पर्खाल पारीका जनताको ईच्छा चाहनाको गलत अर्थ लगाईयो र २१औंै शताव्दीमा मध्ययुगको जस्तो संचार, समाचार सबै बन्द गर्ने काम गराउन यी चाटुकारहरु सफल भए ।
जनतासंग प्रत्यक्ष सम्वन्ध नभएको समयमा शासकहरु कमजोर भएका हुन्छन्, पत्तै नपाई राजा ज्ञानेन्द्र यहि अबस्थामा पुगे ।  यही कमजोर भएको मौकामा राजतन्त्रलाई नै पाखा लगाउन देशी विदेशी शक्ति केन्द्रहरु सफल भए । यो पाखा लगाईने क्रममा हाम्रो राजा प्राणभन्दा प्यारो छ भनेर ओठे भक्ति देखाउने चाटुकारहरु कि दुला पसे कि खुलेर राजसंस्थाको विरोधमा लागे ।
 समयले पर्खाल हटायो । राजतन्त्रलाई आफुले पाखा लगाउँदा समेत प्रतिकारको एक शव्द पनि सुन्न नपरेको शक्ति अव राजाको वरीपरि झुम्मिन पुगेका जनसमूह देखेर छक्क पर्‍यो । राजालाई सबै किसिमको रोक लगाउने प्रयत्न गरियो  । घर मै नजरबन्द गरेर कुमारीको दर्शन गर्नबाट रोक लगाउन पनि यो शक्तिका दासहरु पछि परेनन् । तर यस्ता सबै प्रयत्नलाई जिल खुवाउदै कुमारीहरु आफै राजाको वासस्थानमा दर्शन दिन पुगे ।
जति रोक लगाईन्छ त्यति नै राजा लोकप्रिय हुँदै गएका छन् । पर्खालको उपस्थितिमा राजा ज्ञानेन्द्रले लोकप्रियता झण्डैझण्डै ऋणत्मक भएको अवस्था भोग्नु परेको थियो भने जनतासंग प्रत्यक्ष हुँदा प्रतिपल लोकप्रियताको मात्रा बढदैछ । जत्तिसुकै कठिन परिस्थिति भएको भए पनि यो राजा र सर्वसाधारण विचको पर्खाल ढलेको अवस्था हो ।
यो राजाको फेरी शक्ति प्राप्तीको लहर देखेर हिजो पाखा लागेका चाटुकारहरु राजाको वरिपरि फेरी पर्खाल तैयार गर्न उद्धत छन् । अबको अबस्थामा राजेन्द्र, सुरेन्द्र जस्ता पुर्खाको अनुशरण गरेर फेरी पर्खालको घेरा भित्र नै रमाउने भन्ने निर्णय गर्ने जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र कै हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper