banner
banner

को आउला खोई नेपाल र नेपालीको उद्धार गर्न

स्वयम्भुनाथ कार्की -
कुनै वेला नेपाललाई शान्तिक्षेत्र प्रस्ताव गरिनु र विश्वका धेरै मुलुकहरुले त्यस प्रस्तावलाई समर्थन गर्नु त्योवेला नेपालीहरु शान्तिप्रेमी र नेपाल शान्त थियो भन्ने प्रमाण हो । नेपाललाई शान्तिक्षेत्र प्रस्ताव गरिएको समय नै नेपालले उपयोग गरेको शान्तिको अन्तिम खुराक थियो भन्ने भान हुने गरेर नेपाल यत्तिसम्म अशान्तिको भूमरीमा पर्‍यो कि अरु मुलुकहरुमा शान्ति स्थापना गर्न शान्ति सेना पठाउने नेपालले आफ्नै छातीमा संयुक्त राष्ट्र संघलाई शान्ति स्थापना गर्न आमन्त्रण गर्नु पर्‍यो ।  एक एक गरेर नेपालीले गौरव गर्ने गरेका कुराहरु ढालिदैछन । कुनै वेला छिमेकीलाई समेत रोजगारी दिने मुलुकका नागरिकहरु अहिले विदेशमा मध्ययुगिन दास सरह दाँईदै छन् । अब यो मुलुक  बिस्तारै श्रमिक उत्पादन कारखाना र बुढाखाडाको मृत्यु प्रतिक्षालयमा रुपान्तरण हुँदैछ । 
नेपाली हुन गौरव गर्नेहरुको भन्दा स्वदेशको मानो खाएर विदेशको गुणगान गर्नेहरुको धन, प्रतिष्ठा, पद र सत्तामा क्षमता बढदै गएको छ । आज मुलुकलाई माया गर्नेले आफुलाई राष्ट्रवादी हुँ भन्न डर मान्नु पर्ने अबस्था आएको छ । जो यो मुलुकलाई दुई अढाई शताव्दि भन्दा पहिलेका अबस्थामा पुर्‍याउन उद्धत छन् उनिहरु अग्रगामी तथा प्रगतिशिल भएका छन । अनि जो सबै नेपालीको नेपालमा समान हैसियत हुनु पर्छ, मुलुकमा उन्नत्ति हुनुपर्छ अनि नेपालले अनौठा कामहरु गरेर मात्र होईन प्रगति गरेर विश्वमा हैसियत बनाउनु पर्छ भनेर भन्छ त्यसलाई प्रतिगामी भनिएको छ । नेपाली नेपाली एक हौ भन्ने कुरा गर्नेहरुलाई दुत्कारिने र नेपालीलाई अनेक भागमा विभक्त गर्नेलाई अभिन्नदन गर्ने सोच ठुलो हुने आजको समयमा नेपाल र नेपाली विनाशको संघारमा छन् ।
नेपालको गौरव कायम राख्न आफ्नो प्राण उत्सर्ग गर्ने आफ्ना पुर्खाहरुलाई आतातायी, युद्ध अपराधी जस्ता सम्बोधन गर्नेहरुलाई फुलमाला लिएर स्वागत गर्न लाममा लाग्नेकाहरुलाई देखेर आँशु पिएर नेपाली आफ्नो रगत सुकाएर अरवका मरुभूमिहरुलाई उन्नत बनाउन जान बाध्य छ । आफुलाई जन्माउने बाबुआमालाई लात्ते भकुण्डो बनाएर इजराएलका बुढाबुढीहरुको खुट्टामा तेल घस्न जान तैयार हुनु स्वेच्छा त नहोला तर नेपालमा जीवनयापन गर्न नसकिने ठम्याई नै होला । त्यस्ताले आफ्नो घरमा पठाएको रगत पसिनाको कमाई करको रुपमा चुस्नु सिवाय नेपालका वर्तमान सत्ता संचालकहरुको अर्कौ कुनै काम नै छैन । एउटा डोरीमा सर्कसका कलावाजहरुले जस्तो कलावाजी गरेर खोला तर्नु पर्ने नेपालीको वैधानिक सेवक भनिएका सत्ता संचालकहरु एक डेढकोशमा लाखौं खर्च गरेर हेलिकोप्टरमा सयर गर्दछन् ।
छातिमा दुधे वालक च्यापेर पिठ्यँ या टाउकोमा बोझ बोक्न विवश सार्वभौम जनताका सेवकरुपी मालिकहरु भने करोडौं मूल्य पर्ने वातानुकुलित वाहनमा नेपालीको रगत पसिनाले आर्जन गरेको विदेशी मुद्रा खर्चेर आयात गरेको इन्घन जलाउदै नेपालीको कष्टको निवाराणर्थ भन्दै विदेशी मदिरा सहितको भोजन गर्दै बैठक गर्न तल्लिन छन् । जनता त्राहीत्राही गरिरहेको छ, तर जनताको यो आर्तनाद रोक्न त परै जाओस सुन्न पनि कोही तैयार छैन । आफ्नो सुविधा गुम्ला भन्ने डरले आक्रान्त भएर कातरको जुनी बाँच्दै गरेकाहरुबाट केही हुने आशा गर्नु नै जनताको सबैभन्दा ठुलो अपराध हो । बन्दुक देखाएर शक्तिमा पुग्न सकिने छोटोवाटो अबलम्बन गर्ने पहिलेका फाट्फुट कोशिश अहिलेको मुलधार भएको छ । जसलाई घुक्र्याउन परे पनि सर्वसाधारण जनतालाई नै कष्ट दिने बाटो सजिलो भएको छ ।
नेपालको कष्ट र नेपालीको आर्तनाद सबैलाई गौण भएको छ, त्यसको बदला विदेशी राष्ट्रको आशिर्वाद थाप्न प्रयत्नशिल भएकाको भिडबाट त्राण पाउन जनता पाखा लगाईएका राजाको हरेक उपस्थितिमा आर्तनाद गर्दै जयजयकार गर्न पुगेकै छन् । उनले जनताको आर्तनाद सुनेका छन वा छैनन् त्यो कुरा प्रकट भएको छैन । गोर्खाका बाह्र हजार  घर जनतासंंग सल्लाह लिएर उनीहरुको साथ लिएर पृथ्वीनारायण शाहले नेपालको एकिकरण गरेका थिए । उनले अजिंगर जस्तो मुख बाएर आर्यवर्त निल्दै आएको अंग्रेजसंग साम, दान, दण्ड, भेद सबै नीति प्रयोग गरेर शिशु नेपालको सुरक्षा गरेका थिए । आज त्यहि नेपाल चोटैचोटले आक्रान्त भएर कोही उद्धारकर्ताको प्रतिक्षा व्यग्रतापूर्वक गर्दैछ ।
दलहरुले यो कर्तव्य पुरा गर्न सकेनन् । सशस्त्र विद्रोह गरेर नयाँ नेपाल बनाउनेहरुको जमातले पनि उद्धार गर्न सकेनन् । बुद्धिजीवि कहलाईएकाहरु, नागरिक अगुवा भनेर कहलाईएकाहरु कसैले पनि सकेनन । जनता फेरी एकपटक पृथ्वीनारायण शाहको वंशाणु बोकेकामा त्यो क्षमता छ कि भनेर आशा गर्दैछन । त्यताबाट पनि कुनै छेकछन्द अहिलेसम्म देखिएको छैन । शाहवंशको परंपराको दुहाइको आडमा त्यही शाहवंशको कर्तव्य भुलेको हो की भन्ने भान पर्ने गरेर चुपचाप रहेकाको आश जनताले कहिलेसम्म गर्ने ? आफैलाई जयकार गर्ने समुहहरु बीच वढदै गरेको वैमनश्य रोक्न बोल्न समेत हिचकिचाउने गर्दा अपकिर्ती फैलन असंभव हैन । नेपाल शुरुदेखि नै स्वतन्त्र मुलुक थियो अहिले केही ग्रहण लागे पनि स्वतन्त्रता कायम नै रहेको छ । यस्तो मुलुकको नेतृत्व गर्न विदशी आशिर्वाद खोजिनु हुन्न ।  संवैधानिक नभए पनि जनताले दिएको सम्मानका कारणले नेपालमा वेलाइतको जस्तै राजपरंपरा कायम छ, यसैबाट सन्तुष्ट हो भने त्यो न हिमवतखण्डले स्विकार गर्छ, न यहाँको परंपरा हो । यहाँ थपना ढुंगाको थापिन्छ व्यक्तिको हैन भनेर कसले भनिदिने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper