banner
banner

महिला, पहिला यसो गर्ने कि ?

अधिवक्ता शिव सिग्देल - 
महिलाले अवसर पाएनन्, अवसरबाट बन्चित गरियो, संविधानमा लेखिएअनुसारको ३३ प्रतिशत महिलाको हक र अधिकारलाई कुण्ठित पारियो, आधा आकाश हुन् महिला, तिनको सम्मान होस् भनेर जति कुर्लिए पनि महिलाहरुले पाएको अवसरको समेत उचित उपयोग गर्न सकेको अनुभूति गर्न पाइएन । किन ? यसबारेमा स्वयम् संचेतन महिलाहरुले आत्ममिमांसा गर्न जरुरी छ । महिलाहरु जति सक्रिय र सफल हुन्छन्, हाम्रो परिवार, समाज, सहर र देश समृद्धि हुन मद्दत पुग्छ ।
पहिलो कार्यकाल सकिएर अर्को कार्यकालका लागि समेत विद्या भण्डारी राष्ट्रपति बनेकी छिन् । पहिलो कार्यकालमा उनले के गरिन् र उनलाई दोश्रो कार्यकालका लागि समेत पुरस्कृत गरेर राष्ट्रपति बनाइयो ?
दोश्रोपल्ट राष्ट्रपति बनेपछि उनले कुन त्यस्तो राष्ट्रिय कार्य, महिला जागरण र महिला अधिकारका लागि कार्य गरिन्, समस्त देशवासीका लागि राष्ट्रपतिलाई सम्झनु पर्ने हो, त्यसको कुनै एकमात्र दृष्टान्त छ ? छ भने के छ ? खाली बम प्रुफ शितल निवासमा बस्ने, खाने, नाचगान गर्ने, आफन्त र पहुँचवालालाई भेट्ने, राजनीतिक षडयन्त्रको हिस्सामात्र बन्नका लागि विद्या भण्डारी दोश्रो कार्यकालका लागि राष्ट्रपति बनेकी हुन् भने यो महिलाकै लागि तीतो कुरा हो ।
तीतो त तीतेपाती पनि हुन्छ, नीम पनि हुन्छ । तीतेपाती मरेर गएकाको पुजा गर्ने फूलको काममा आउँछ, नीम त बाँच्नेका लागि अनेक रोगको ओखती पनि हो । हाम्रा महिला राष्ट्रपति न वरत्र, न परत्र, केका लागि सम्झना गर्ने हो कुन्नी ?
महिला प्रधानन्यायाधीश बनिन्, उनी पनि सफल भएर गएकी होइनन् । महिला संसदको सभामुख नै बनिन्, उनी पनि माओवादीबाट नेपालबादी बन्न सकेको कुनै तर्कपूर्ण उदाहरण रहेन । अहिले पनि महिलाहरु अनेक पदहरुमा बिराजमान छन्, तर महिलाहरु ३३ प्रतिशतको हक खोजिरहेका छन् । उनीहरुले निश्चित रुपमा ३३ होइन, ५० प्रतिशत नै अधिकार पाउनुपर्छ । न पुरुष, न राज्य, न महिला नै एक पाङ्ग्रे रथ बनेर चल्न सक्दैनन् । एकले अर्कोको अस्तित्व स्वीकार्नैपर्छ, एकले अर्कोको सम्मान गर्नैपर्छ, एकले अर्कोको भरथेग गर्नैपर्छ, तव घर, समाज, देश चल्छ, चलाउने यसरी नै हो ।
यसरी महिलाहरु सर्वोच्चदेखि कनिष्ट पदसम्म रहेका छन् । तर महिला किन हेपिएका छन्, किन चेपिएका छन्, किन अझै पछि लाग्न बाध्य छन् ? यसको मिमांसा पहिले महिलाहरुले नै गर्नुपर्छ, अनि बोल्नुपर्छ ।
भर्खर एक युवती अछामको छाउगोठमा सर्पले डसेर मरिन्, अर्की महिला दाङमा महिलाबाटै नाङ्गेझार पारिइन् । ओखलढुंगाको लिखु तामाकोशी गाउँपालिकाकी सरिता दर्जीलाई बोक्सी भनेर एक युवतीको गालामा तातो पन्यू डामियो । समस्या गाउँमा रहेछ, समस्याको निदान गाउँलाई दिनुपर्ने रहेछ । जबसम्म गाउँमा चेतना पुग्दैन, सिंहदरवार गाउँमा पुर्‍याएको आत्मरती गरेर केही पनि हुन्न । सहरमा समानता चाहियो भनेर विदेशीले दिएको डलरको भोजन गरेर चिच्याउँदैमा महिलाले अधिकार पाउने होइनन् । महिला सशक्त हुने होइनन् । कुरीति गाउँमा छ, अनैतिकता सहरमा । समस्या दुबैतिर छन् तर कहालीलाग्दो समस्या गाउँमा विद्यमान छ । अन्धविश्वास सहरमा पनि छ तर यसकोमात्रा गाउँमा व्यापक छ । खासगरी विपन्न, दलित, सिमान्तकृत समुदायका महिलाहरु ज्यादै पीडित छन्, त्यो पीडा दर्दनाक पनि छ । त्यो दर्दले सहरबजारका महिलाहरुलाई खासै छोएको देखिदैन । पढेलेखेका महिलाको कमी छैन, पढेलेखेका महिला, जनप्रतिनिधि बनेका महिला, प्रभावशाली महिलाहरु नै महिला हितमा सक्रिय हुन चाहदैनन् । भाषण मीठो गर्छन्, रासन खाएपछि स्वार्थलम्पट बन्छन् । महिलाको समसयमा महिला उदासीन छन् ।
कूरीतिजन्य हिंसा, यो महामारी हो । बोक्सी, कमलरी, दाइजो अर्को महामारी हो । यी सबै राक्षसी परम्पराले डामिने पहिला महिला र खाने पहिला महिलालाई नै हो । महिला बोल्दैनन्, राज्य केही गर्दैन । महिलाले नै दबाब दिन नसकेपछि राज्यलाई किन टनटन भो र ?
खुब भाषण गर्छन् महिलाहरु, तिनले हेर्नुपर्दैन देशका गाउँ गाउँमा आवाजविहीन महिलाहरु कति छन् कति ? महिलाहरु राजनीतिक खालमा ३३ प्रतिशतको रट लगाएर बसेका छन्, ६६ प्रतिशत महिला गाउँसहरमा अनेकन हिंसा, पीडामा छटपटाइरहेका छन्, तिनको आवाज, तिनको समसयमा बोलिदिने कसले ? जब ती महिलाहरुले स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकताको अनुभूति गर्न पाउलान्, त्यो दिन कुनै पनि राजनीतिक पार्टी वा राज्यले दिन्न भने पनि महिला हक ५० प्रतिशत स्वत: स्थापित हुने दिन आउनेछ । सचेत महिलाको आममहिलाप्रतिको मौनता सबैभन्दा अन्यायपूर्ण छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper