banner
banner

पुष्पलालदेखि केपीसम्मको अपेक्षा

अधिवक्ता गंगा दाहाल -
२००६ साल वैशाख १० गते पुष्पलाल, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरवहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले स्थापना गरेको नेकपा ७० वर्षपछि ऐतिहासिक भएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा यसकारण पनि ऐतिहासिक बनेको छ कि नेपाली जनताले समृद्धि र समानता, न्याय र जनजिविकाका लागि नेकपाको बिकल्प रहेन भनेर लोकप्रिय मतबाट नेकपालाई सर्बशक्तिमान, सत्ताको शिखरमा पुर्‍याइदिएका छन् ।
२००६ सालका पुष्पलाल र २०७५ सालका केपी ओलीसम्म आयपुग्दा आम जनताको अपेक्षा एउटै छ– जनजीविका सहज हुनुपर्‍यो । राष्ट्रियता मजबुत हुनुपर्‍यो, जनताले अन्यायको अनुभूति गर्न पाउनुपर्‍यो ।
२००६ सालको नेकपाको नारा थियो– ‘नागरिक स्वतन्त्रता सम्पूर्ण बर्गलाई आवश्यकता, अत: क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाउ ।’ यो नाराबाट सुरु भएको कम्युनिष्ट आन्दोलन आज दक्षिण एसियाको पहिलो कम्युनिष्ट पार्टि बनेको अवस्था छ आज । यद्यपि कम्युनिष्टका अनेक घटक छन्, अनेक चिरा र चिर्पटका रुपमा पनि कम्युनिष्टहरु विभाजित छन् । तथापि मूलप्रवाह बनेको नेकपा जनबल, जनमतले सर्वश्रेष्ठ बनेको छ । यसकारण जनताको अपेक्षा पनि बृहद छ । आज नेकपाको नारा छ– समृद्धि र सुशासन । आमनागरिक नेकपाको यही नारा पूरा हुन्छ भन्ने विश्वासमा छन् र नेकपाका लागि यही जनविश्वास पूरा गर्नु वर्तमान कालखण्डको सबैभन्दा कडा चुनौति, चेतावनी पनि हो ।
हुन त कम्युनिष्ट भन्नासाथ जनतन्त्र भन्ने बुझ्ने चलन छ । जनतन्त्र र लोकतन्त्र भिन्न विषय हुन् । चीन खुला अर्थनीति अपनाउने कम्युनिष्ट मुलुक हो । उत्तर कोरिया बन्द समाज । नेपाल बन्द समाजमा रुपान्तरण हुनसक्दैन । नेपाली कम्युनिजम लोकतान्त्रिक कम्युनिजम हो । लोकतन्त्रप्रतिको कबुल पूरा गर्छु भनेकैले आमनागरिकले नेकपाप्रति विश्वास गरेर समर्थन दिएका हुन् । लोकतन्त्र भन्नासाथ विधिको कुरा आउँछ, समानता र मानवाधिकारको प्रश्न पनि साथसाथै आउँछ । लोकतन्त्रमा अधिनाकयत्वको स्थान हुन्न । यसकारण नेपाली कम्युनिष्ट सरकार लोकतान्त्रिक कम्युनिष्ट भावधारामा छ । सम्भवत: तेङ सियाओ पिङको खुला अर्थनीतिमा चीनले जुन आर्थिक उन्नति गरेको छ, नेकपाले केपी ओली र प्रचण्डको नेतृत्वमा शान्ति, समृद्धि र सुशासनका माध्यमबाट देशको शीर उठाउनेछन् । यो विश्वासमा अलिकति पनि धरमर भयो, शंका आशंका उठ्यो भने यसबाट पुष्पलालदेखि केपी ओलीसम्मको जुन कम्युनिष्ट विकासक्रम छ, त्यसमा फेरि पनि प्रहार हुनेछ र लोकतान्त्रिक मूल प्रवाहको बहाव रोकिने छ । यसकारण नेकपाका लागि यो समय सतर्कताको हो ।
नेकपाले भुल्नै नहुने विषय भनेको जनजीविकाको स्थिति के छ ? राष्ट्रियता किन कमजोर भएर गएको छ ? गणतन्त्रलाई कसरी संस्थागत गर्ने ? गणतन्त्रलाई कसरी जनजीवनको पद्धतिमा ढाल्ने ? पुरातन कम्युनिष्ट जनतन्त्रको लक्ष्यलाई लोकतान्त्रिक गणतन्त्रको आधुनिकताको साँचोमा कसरी ढाल्ने ? नेकपालाई जनताले किन मतदान गरे, नेकपाले कुन लक्ष्य प्राप्तिका लागि जनतासँग मत मागेका हुन् र जनताले के देखेर यसरी विश्वासले नेकपालाई उठाए ? नेकपा सत्तामा पुग्यो, सर्वशक्तिमान पनि छ, यो शक्तिको सदुपयोग गरेर यो शक्तिलाई अर्जुनको गाण्डिवसरह प्रयोग गरेर जनताप्रतिको जिम्मेवारी र देशप्रतिको राजनीतिक धर्म निर्वाह गर्ने भन्ने प्रश्न आज नेकपाका सामु यक्ष प्रश्न बनेर खडा छ । यही सवालको जवाफमा नेकपाको इतिहासका भङ्गालाहरु पार गर्दै उज्यालो वर्तमान निर्माण गर्ने अवसर प्राप्त भएको छ । चेतना रहोस् ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper