banner
banner

महिलामाथि महिलाको अत्याचार

गंगा दाहाल -
दाङमा महिलाले महिलालाई निर्वस्त्र पारेर निर्घात कुटेको दृश्यले महिला अधिकारकर्मी, देशैभरिका महिला राजनीतिकर्मी, महिला हक र हितमा कार्यरत महिलाहरुले चुपचाप हेरिरहे । यसैवीच गएको वर्षदिनमा ११ सय बलात्कारका घटना भएछन्, यो तथ्याङ्कमा पनि राज्यको गम्भीरता र महिलाअधिकारकर्मीहरुको चासो देख्न पाइएन । डलर आयो भने निकै सक्रियताका साथ छाउगोठ भत्काउन हिड्नेहरु छाउगोठमै सर्पले डसेर महिला ज्यान गुमाउनु परेको घटना भएपछि तिनले डलर खाए कि चेतना छरे, यसको कसी लाउने कसले ?
राप्ती गाउँपालिका भालुवाङकि रेखा गुप्ता र अनिता गुप्ताले दिलमाया पुनलाई घडेर बेचकी बेच भने । उनले बेच्न नमानेपछि बसपार्कमै दुबै महिला मिलेर दिलमायालाई लछारपछार पारे, निर्वस्त्र हुनेगरी लतारे, कुटपीठ र दुव्र्यवहार गरे । यो तस्वीर प्रहरीले सार्वजनिक गरेको हो । यतिबेला सिंहदरवार गाउँ गाउँ, नगर नगर पुगेको छ । सिंहदरवार पुग्दा पनि महिलामाथि यो हदसम्मको उत्पीडन, अत्याचार ? खिच्नेले महिलाले महिलामाथि गरेको अत्याचारको भिडियो नै खिचेछन् र सामाजिक सञ्जालमा राखिदिए । त्यसपछि बल्ल गाउँ नगर पुगेको सिंहदरवार चलमलायो, ब्यूँझियो र दोषीमाथि कारवाही अगाडि बढायो ।
यो घटनाले समाज महिलामाथि कति निर्दयी छ भन्नेमात्र देखाएन, महिलाको दुस्मन महिला नै हुन् भन्ने पनि प्रमाणित गरेको छ । पितृसत्तात्मक शासन प्रणाली भनेर निकै गुनासो गर्ने संचेतन महिलाहरु गाउँसम्म, नगरसम्म महिला हक र हित, महिलाले महिलाको हितमा उभिनुपर्छ भन्ने ज्ञानसमेत नभएको पाइयो ।
महिलामाथि महिलाको यो अमानवीयता । महिलाले महिलालाई मकै नङ्ग्याएझैं नङ्ग्याएर आफ्नो स्वार्थको साँचोमा जबरजस्ती ढाल्नखोज्ने अपराध भएको छ । यो त देखिने देखिएको अपराध हो । यस्ता अनगिन्ति घटनाहरु गाउँ नगरमा दिनदिनै भइरहेका छन् । हुन त राजधानीकै गोदावरी नगरपालिकाकी उपमेयरमाथि नै महिला हिंसा भयो । प्रहरीसम्म पनि मुद्दा पुग्यो । अव त महिलाहरु जनप्रतिनिधिका रुपमा देशव्यापी खडा भएका छन्, तिनले त महिला चेतना छन्, महिलालाई कानुनी ज्ञान दिउन्, महिलालाई सक्षम बनाउन् । होइन भने पुरुषले महिलालाई नाङ्गेझार पार्नै पर्दैन, महिला नै काफी हुनेछन् ।
यो घटना प्रहरीकै सामु घटेको घटना हो । प्रहरीले सम्झाएर पठायो, ठूलो घटना घट्न सक्छ भन्ने अनुमान नै गरेन । एउटी महिलाको लुगा च्यातचुत पारेर फालिदिने दुई महिला देखेर पनि प्रहरी तत्काल हर्कतमा नआउनु प्रहरीको पनि कमजोरी छ । पीडितले लिखित उजुरी दिएपछि बल्ल प्रहरी सक्रिय भएछ । यस्तो तमासे प्रहरीको प्रभावकारितामाथि पनि प्रश्न चिन्ह खडा हुनपुगेको छ ।
स्थानीय सरकार छ, प्रदेश सरकार पनि छ । राष्ट्रियसभा र संघीय संसद तथा केन्द्रीय सरकार पनि छ । सुशासन र समृद्धि यो सरकारको पहिलो प्राथमिकता रहेको देखिन्छ । तर महिलालाई जोरजबरजस्ती गर्ने, महिला नै महिलाको दुश्मन देखिने यो घटना सामाजिक न्याय व्यवस्था नराम्ररी खलबलिएको प्रमाण हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper