banner
banner

नेपालमा रोहिंग्या शरणार्थी

पदम हमाल -
भारतले पहिले भुटानी शरणार्थी समस्या सिर्जना गरिदियो र तिनलाई नेपालतिर भगाएर नेपालमाथि ठूलै संकट ल्याइदिएको हो । धन्न अमेरिका लगायतका मुलुकले ९० हजार शरणार्थीलाई लगिदिए र अव ८ हजारजति नेपालमा रहेका छन् । तिनलाई फिर्ता पठाउन भुटानलाई मनाउने कूटनीतिक क्षमतासम्म पनि नेपालमा रहेन ।
आफ्ना जनतालाई बिहान बेलुका सजिलै हात मुख जोड्ने अवस्था छैन, अझ संसारभरिका अपराधी, सुकुम्बासी, राष्ट्रद्रोही र शरणार्थीहरूलाई जम्मा गर्छ नेपाल सरकारले । कुनै भिजन छैन, न सिद्धान्त, न त दूरदर्शिता नै ।
बर्मा (म्यानमार)को प्रजातान्त्रिक तर सैनिक बाहुल्यले लखेटेका अल्पसंख्यक रोहिंग्याहरु ७ लाखभन्दा बढी बंगलादेशमा शरणार्थी बनेका छन् । तिनीहरुको बेहाल छ, राष्ट्रसंघको सुझावसमेत लागू भएको छैन । तिनीहरु गाँस बासको खोजीगर्दै नेपालमा पनि आइपुगेका छन् । भुटानी शरणार्थी समस्या ३० वर्षमा सुल्टिएन, अव बर्माका रोहिंग्यालाई भारतले नेपालतिर लघारेको छ । अर्को समस्या थपिदिएको छ ।
नेपालले जहिले पनि जुनसुकै समुदायका हुन्, मानवीय सहयोग गर्दै आएको छ । तर भारतले नै नेपालमाथि यस्ता समस्या किन थोपर्छ, भारत नेपालमा खाली संकटमाथि संकट थपेर किन दु:ख दिइरहनछ भन्ने प्रश्न गम्भीर छ ।
नेपाल विकासशील हुनका लागि प्रयासरत छ । भर्खर स्थिर सरकार बनेको छ र स्थिर सरकारले लोकतान्त्रिक मार्गबाट शान्ति, सम्बृद्धि र सुशासनतिर जाने तरखर गरिरहेको छ । यो अवस्थामा थप समस्या सिर्जना गरिदिएर भारतले नेपाललाई अलमल्याउन खोजेको अनुमान गरिदैछ । रोहिंग्या समुदायका युवाहरु गाँस, बास र कपासको खोजीमा मेचीदेखि महाकालीसम्म पुग्न थालेका छन् । राजधानीमा बाक्लै देखिन थाल्नु पनि समस्या नै हो । यसबारेमा नेपालले पनि राष्ट्र संघ र म्यानमार सरकारसँग रोहिंग्या समुदायका बारेमा समयमै वार्ता गरेर कूटनीतिक माध्यमबाट यो समस्या नसुल्टाउने हो भने यो अर्को भुटानी शरणार्थी समस्या बन्नसक्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper