banner
banner

संसदमा भाषण, उता भोकमरी

अधिवक्ता गंगा दाहाल -
२०१७ सालमा बहुदल फालेर राजा महेन्द्रले १० वर्षभित्र सय वर्षको स्तरमा देशलाई पुर्‍याइने भाषण गरेका थिए । गर्न त उनले अनेक राष्ट्रवादी कामहरु गरे, तर प्रजातान्त्रिक अभ्यासलाई कुल्चेका कारण उनका कामहरुभन्दा पनि उनको आलोचना बढी भयो । आजसम्म पनि आलोचना जारी छ ।
त्यसपछि राजा वीरेन्द्रले नेपाललाई एसियाली मापदण्डमा पुर्‍याउने घोषणाका साथ राष्ट्रियनीतिसमेत सार्वजनिक गरेका थिए । आजसम्म पनि राष्ट्रनीति बन्न सकेको छैन, जुन राजा वीरेन्द्रले बनाएका थिए । तर उनको राष्ट्रियनीति र एसियाली मापदण्डमा पुर्‍याउने सपना सपनामै सिमित भयो, स्वयम् उनी र वीरेन्द्र बंश दरवार हत्याकाण्डजस्तो जघन्य काण्डमा समाप्त हुनपुग्यो ।
२०४६ सालमा दलमाथिको प्रतिवन्ध हट्यो, बहुदलीय प्रजातान्त्रिक अभ्यास सुरु भयो । यही बेला हो नेपाली कांग्रेसले मेलम्चीको बहस छेड्यो र राजधानीलाई दिनको ३ पल्ट पानीले धोइदिने भनेर चुनाव जित्यो । चुनाव जितेपछि स्वयम् राजनीतिक खिचातानी र मारामुङ्ग्रीमा फसेर बहुदलीय काल कालरात्रिमा परिणतमात्र गरेन, राज्यसत्ता राजको हातमा समेत बुझाउने काम गर्‍यो ।
जनयुद्ध जनआन्दोलनमा मिसिएपछि राजतन्त्र झुक्न बाध्य भएको हो । जनआन्दोलनको सफलताको परिणति हो गणतन्त्र नेपाल । गणतन्त्रका प्रारम्भका दिनहरुमा प्रचण्ड बाबुरामहरुले नेपाललाई सिंगापुर बनाउने सपना देखाएकै हुन् । तर ती सपना पूरा गर्नेतिर आजसम्म पनि राजनीतिक आँट र अक्किल, लगनशीलता र योजनाबद्ध खाका सार्वजनिक हुनसकेन । नेपाल आज पनि सिँगानपुर नै छ ।
संविधान घोषणापछिको स्थानीय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रियसभाका निर्वाचनहरु सम्पन्न भए । यी सबै निर्वाचनहरुमा एमालेलाई जनताले पत्याए । एमाले र माओवादीको गठबन्धनले ऐतिहासिक विजय हासिल गर्‍यो । यही विजयोत्सव हो आज यी दुबै पार्टी मिलेर नेकपा बनेको छ । नेपालमा सूर्य उदाएको छ ।
अव सूर्य अस्ताउनु हुन्न । सूर्य झण्डा स्वयम् केपी ओली र प्रचण्डले उचालेका छन् । यी दुई कम्युनिष्ट नेताले लोकतन्त्रप्रति प्रतिवद्धतामात्र जनाएका छैनन्, अव नेपालमा आर्थिक क्रान्ति हुनुपर्छ भन्ने कुरा पनि गरेका छन् ।
सम्बृद्धि, सुशासन र समानताका लागि यी दुई नेताले करेका कबुलमा आशंका उव्जने काम गर्नुहुन्न । हो, बालकृष्ण ढुंगेललाई माफी दिने निर्णयले विधिको शासनमा केही धक्का लागेकै हो । अदालतमा विचाराधीन रहेका मुद्दामा समेत सरकारले जुन हस्तक्षेप गरेको छ, त्यस्ता गल्ती कमजोरी आइन्दा हुनुहुन्न ।
किनभने पानीजहाज, हावाबाट विजुली, चुल्होसम्म ग्यास पाइप, हातहातमै बृद्धभत्ता पुर्‍याउने, विद्युत उत्पादनमा क्रान्तिकारी छलाङ मार्नेदेखि रेल र मोनोरेलसम्मका विकासका सपनाहरु देखाइएका छन् ।
हिजो जसजसले सपना देखाए, ती पूरा भएनन् । जनताले पहिलोपल्ट यो सरकारलाई विश्वास गरेको छ । दुई तिहाई बहुमत दिएको छ । ५ वर्ष कसैले हल्लाउन नसक्ने यो सरकारले जस्तोसुकै कडा निर्णय पनि गर्नसक्छ । यति सहजतामा चलेको सरकारले देशका लागि, जनताका लागि केही गर्न सकेन भने नेपालको सपना कहिले पनि साकार हुनसक्दैन । नेपालको उन्नति हुँदैन ।
नेतृत्वले नेपालमा अव कोही भोको बस्नुपर्दैन भनेर भाषण गरिरहदा सुर्खेतका जंगलवासी राउटे र चितवनका नारायणी किनारका चेपाङ भोकभोकै परेको खबर सार्वजनिक भयो । दोलखाका जिरेल हुन् कि बाजुराका आमनागरिक कतै भोकमरी, कतै खाद्यान्नको हाहाकार त दाङमा झाडापखालाको महामारी चलेको सुनिन्छ, यी सबै समस्याको संवोधनमा सरकारले सक्रियता देखाएको देखिन्न । यस्तो हुनुहुन्न, किनकि नेकपाको जिवन्तता भनेको आमनागरिकले सरकार छ भन्ने अनुभूति गर्न पाउनुमा मात्र हुनेछ । बजेट आयो, समस्या उही छन् । ती समस्यालाई समाधान गर्न बजेट सक्षम भएन भने यो बजेटको पनि काम छैन ।
बजेटबारे आआफ्ना धारणा सार्वजनिक भएका छन् । कसैले स्वागत गरे, कसैले बिरोध गरे । आमनागरिकको दैनिकलाई यो बजेटले छोयो कि छोएन, आमनागरिकको अपेक्षालाई यो बजेटले सरकारको नीतिकार्यक्रमसहित पूरा गर्न सक्छ कि सक्दैन । मूल कुरो आमनागरिक हुन्, लोकले राम्रो नभनेसम्म, राम्रो नमानेसम्म, लोकलाई बजेट र नीति तथा कार्यक्रमले नतानेसम्म यो नेकपा सफल भयो अथवा नेपाल सरकार सफल हुन्छ भनेर भन्न सकिन्न । विचार पुगोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper