banner
banner

राजावादीहरुको मौसमी ज्वरो

स्वयम्भुनाथ कार्की -
वेलावेलामा राजावादीहरुलाई ज्वरो आउने गर्दछ । यस्तो ज्वरो मौसमी नै हुने गर्दछ । यसका निमित्त पाखा लगाईएका राजाको केही गतिविधि देखिनु पर्दछ वा अन्य कुनै छनकले राजसंस्थाको संभावना देखिनु पर्दछ । उनको स्वदेश भ्रमण होस वा विदेश संभावनाको आशामा राजावादीहरुको तापक्रम बढने गर्दछ । अझ कुनै विदेशी वा स्वदेशी गणतन्त्रे नेताले नेपालमा राजसंस्थाको उल्लेख मात्र गरिदिनु पर्दछ एकाएक मूलफुटे झै ह्वालह्वाल्ती राजभक्ति निस्कन थाल्छ । अनि त्यसले अरु अवस्थामा प्रयत्नपूर्वक कायम राखेको राष्ट्रवादी एकतामा नै प्रहार गर्दछ । त्यो पनि एकताको नाममा, अहिले नभए कहिले, देशले रगत मागेको छ, क्रान्ति चाहिएको छ आदि भन्दै ।
राजाको नेतृत्वमा काम गर्ने बानी भएका पुरानाहरु बिजुली काटिएका तार झै आआफ्नो स्थानमा छन् । कुनै न कुनै वेला बिजुली पुन आउने आशामा । यस्तोमा युवा जोशको दुहाई दिदै उग्रकुरा गर्दै आउनेहरु मार्फत नै त्यो धार आयो की भनेर झुम्मिन्छन् । अरु सबैलाई गाली गर्दै आफैमात्र योग्य हौ भनेर उग्र कुरा गर्नेहरुसंग गुदी भने केही हुन्न । न कुनै कार्य योजना न कुनै लगन न संगठन क्षमता नै । उनीहरुले संगठन गर्ने भनेको जो पहिले नै राजसंस्थाप्रति समर्पित छन तीनैलाई उग्र कुरा सुनाउने मात्र हो । उनीहरुलाई आफ्नो नेतृत्वमा एकपटक १० मिनेट भए पनि सडकमा उतारेर समाचारमा आउने मात्र हो ।
राप्रपा प्रजातिहरुको दल एकता गर्दा सिद्धान्तको कुरो पछि टुुंग्याउने भनेका थिए । बिना सिद्धान्त समूह हुन्न भिडमात्र हुन्छ जो अनियन्त्रित हुन्छ एकाकार गरेर राख्न संभव हुन्न भनियो तर मानेनन । फलत: एकिकरण र टुक्रिकरणको दुष्चक्रमा अल्झेर धुलो चाट्दैछ । अव फेरी उठला नउठला अन्यौल नै छ । यो शास्वत सत्य हो तर यो सत्य देख्न नसक्ने राजावादीहरु पहिले संगठित पछि हुन जतापनि लाम लाग्छन भने त्यो दुर्भाग्य हो । तिनै केही हजार अनुहारहरु मध्ये कोहीलाई गाली गर्दै कोहीलाई पुच्कार्दै नेपथ्यबाट कोही आउँछ अनि आगो ओकल्ने कुरा गर्दछ । यस्ता कुराले केही भईहाल्ला कि भनेर बन्दै गरेको सहकार्यको वातावरण लत्याएर पछि लाग्नु नै भ्यागुताको धार्नी नपुग्नु हो ।
यस्ता मौसमी उपक्रमहरु केही हप्तामा नै शिथिल हुने गर्दछन् । उग्र कुरा गर्नेहरु राजासंग दर्शनभेट नपाएको झ्वाकमा सचिवहरु प्रति आक्रमण गर्दछन् । पहिले राजाको नजरमा चढेका तर वर्तमानमा त्यो विगत नपाएकाहरु यस्ता उग्रको कुरामा आउने  गर्दछन् । जसरी भए पनि काम गरेको देखियोस् भन्ने उनीहरुको सोच नराम्रो पटक्कै होईन । तर काम भनेको के हो त ? घोक्रो फुटुन्जेल गणतन्त्रे नेतालाई गाली गर्नु ? सडकमा, चोकमा गल्लीमा उग्र भाषण गर्नु ? कि अर्को राष्ट्रवादीको उछित्तो काढ्नु ? यो प्रश्नको उत्तर नेपथ्यबाट आएर आफुलाई सुनाएको उग्र कुराले प्रभावित हुने व्यक्तित्वले सोच्नुपर्छ कि पर्दैन ?
विना सिद्धान्तको समूह, बिना कार्यनीतिको अभियान वा क्रान्ति अनि केवल अर्कालाई गाली चर्को गाली गर्दै आउनेको पछि लाग्नु भन्दा पहिले त्यसको क्षमता त्यसको विगत जान्नु पर्दैन ? के यस्ता उग्रहरुले समर्थनमा रहेकाहरु मध्येबाट फुटाएर ल्याउन बाहेक अरु कसैलाई जोड्ने ल्याकत राख्छन् ? अर्कालाई गाली गलौज गर्ने नै काम हो भने रत्नपार्कको मुकुन्दे सर्वश्रेष्ठ हैन र ? कुनै वेलामा मुलुकमा महत्वपूर्ण काममा रहेकाहरुलाई पनि यस्तो मौसमी ज्वरोले आक्रन्त पार्छ भने राजाले कसको भरोसामा कदम चाल्ने ?
राष्ट्रवादीहरु उग्र हुनुहुन्न, असभ्य हुनुहुन्न, हिंसक हुनुहुन्न । यो राजा महेन्द्रले प्रतिपादित गरेको कुरा हो । राष्ट्रवादीहरु निडर हुनुपर्छ, निर्भिक हुनुपर्छ, व्यक्तिपूजक हैन गुण र दोषको आधारमा मुल्यांकन गर्ने हुनुपर्दछ । अनि राष्ट्रवादीले जनता रिझएर शक्ति श्रोत बटुल्नु पर्दछ । यो पनि उनैले प्रयोगमा ल्याएका कुराहरु हुन् । आफ्नो कुरा मानेन भने मार्न समेत पछि नपर्नेहरुको सिको गरेको नेपाली राजतन्त्रले स्विकार 
गर्ला ? जो केही जनताको ज्यान जाँदैमा श्रीपेच र गद्दि बुझाउन तैयार भयो ? 
त्यसैले नेपथ्यबाट मौसमी ज्वरो लिएर आउनेहरुबाट बिचलित नभई मिल्ने कुराहरुमा सहकार्य गर्नु नै आजको आवश्यकता हो । किनभने राष्ट्रवाद या राजावाद एक दलमा समेट्न सकिने विचार नै हैन । यो त विविधतामा एकता भेटेर काम गर्ने विचार हो, आफ्नो कुरा मानेन भनेर गाली गलौजमा उत्रने ? आफ्नो मात्र कुरा सुनाउने अरुको कुरा सुन्न समय नहुने कुनै पनि छलफलले राष्ट्रवादको मान्यता पालन गरेको हुन्न । अरु वादका अनुयायीहरुको न्यूनता योग्यता भाषण हो भने राष्ट्रवादको योग्यता जनसम्पर्क हो, भाषण जान्नु आवश्यक छैन । अव जनता भाषणले होइनm कामले हुन्छन् । जनता रिझाउन समान विचारकाहरु भेला गरेर गोष्ठी गर्न आवश्यक छैन, जनताको बीचमा जान आवश्यक छ । जो जनतामा नगई छोटोबाटो खोज्छ त्यो नाममात्रको राष्ट्रवादी हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper